पाल्पाका पहिरो पिडितलाई गासबासको समस्या

सुशीला रेग्मी

पाल्पा, ७ साउन । रामपुर नगरपालिका १ स्थित स्याउलीबजार बस्ने लक्ष्मी मल्लको घरमा पहिरोले क्षति पुगेपछि उहाँलाई गाँस र बाँसको समस्या परेको छ । यही साउन ४ गते राती परेको अबिरल वर्षाले पहिरो सहित बगेर आएको भलले एक्कासी घरको पछाडिको भाग नै भत्काएपछि उहाँको परिवार बिस्थापित हुन पुगेको छ । घर पूर्ण रुपमा क्षति भएपछि गाँस र बाँसको समस्याले सताएको छ ।

“परिवारमा कमाउने कोही छैन, साहारा दिने श्रीमान् पनि बिरामी हुनुहुन्छ, सम्पत्तिको नाममा घामपानीमा ओत लाग्ने एउटा मात्र घर थियो, त्यो पनि बस्नै नमिल्ने गरी पहिराले क्षति बनाइदियो” उहाँले भन्नुभयो । मल्लको परिवारमा एक छोरी र श्रीमान् हुनुहुन्छ । अहिले उहाँको परिवार छिमेकीको शरणमा छन् । बिहान साँझको गुजारा छिमेकीको घर घरमा आलोपालो गरेर टार्नुभएको छ । मध्यरातमा एक्कासी सुतिरहेको अवस्थामा भलसहितको पहिरो बगेर घरभित्रै पसेपछि भागेर ज्यान बचाउन सफल भएको उहाँका श्रीमान् नेत्रबहादुर मल्लले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “घरको तल्लो तल्लामा सुतीरहेका थियौँ, ठुलो आवाजमा सुरुमा लेदो सहितको पानीले घरको भित्ता नै भत्काएर पसेपछि झसङ्ग भइयो, जुरुक्क उठेर भागेर बचियोँ, नत्र पहिरोमा पुरिने रहेछौँ ।” मजदुरी गरेर जीवन धान्ने नेत्रबहादुर तीन वर्ष अघि एक विद्यालयको भवन ढलान गर्ने क्रममा लडेर अशक्त हुनुहुन्छ । घरमा रहेका अनाज, लत्ताकपडा, दैनिक उपभोग्य भान्साका सामान, बाख्राको खोर सहित सबै पहिरोमा पुरिएको छ । घर बस्नै नमिल्ने गरी क्षति भएको छ । करिव पाँच/छ लाख बराबरको क्षति भएको पिडितको भनाई छ ।

सोही ठाउँकै अर्का पिडित गमबहादुर मल्लको परिवार पनि घरमा पहिरोले क्षति बनाएपछि अहिले आफन्तको शरणमा बस्नु भएको छ । दुईतले पक्की घरमा पहिरो बगेर आएको भलले तल्लो तलामा पसेपछि छ जनाको परिवार बिस्थापित हुनु परेको छ ।

घरमा सुतिरहेको बेला ठुलो भलसहित घरभित्रै पसेपछि छोराछोरी बुढी आमालाई सकुशल उद्धार गर्न सफल भएको गमबहादुरको श्रीमती नारायणी मल्ल बताउनुहुन्छ । धेरै जना आफन्तको घरमा बस्न पनि अप्ठ्यारो परेको हुदा पहिरो रोकथाम छिटो गर्न उहाँ अनुरोध गर्नुहुन्छ ।

सोही ठाउँका सूर्यबहादुर श्रेष्ठको सात जनाको परिवार पनि पहिरोको जोखिम बढेपछि बिस्थापित बनेको छ । पहिरोले लैजाने डरले परिवारलाई आफन्तको घरमा पठाएको श्रेष्ठ बताउनुहुन्छ । “परिवारका सबैलाई आफन्तको घर पठाएको छु, म रातभर नसुतेर घर पहिरोले पुर्छ कि भन्ने चिन्ताले बसिरहेको छु, दुख संग दुईतले पक्की घर बनाए, पहिरोले उठिबास बनाउने भयोँ” उहाँले भन्नुभयो ।

यहाँका दानबहादुर मल्लको पाँच जना र बालकुमारी मल्लको पाँच जनाको परिवार पनि पहिरोको उच्च जोखिममा छ । स्याउली बजार मित्याल सडकखण्डको सडक चौडा पार्ने काम ठेकेदारले बीचमै अलपत्र पारेर छाडेका कारण पहिरोको समस्या भोग्नु परेको दानबहादुर मल्लले बताउनुभएको छ ।

वर्षायाम सुरु हुनुभन्दा अगाडी नै ठेकेदारले काम बीचमै अलपत्र छाडेपछि पहिरोको जोखिम न्युनिकरणका लागि आवाज उठाएपनि यस विषयमा सुनुवाई नहुदा आफूहरु पहिरोको चपेटामा परेको मल्लको गुनासो छ ।

पहिरोबाट बिस्थापित परिवारलाई विपद व्यवस्थापन कोषबाट राहत सहयोग गर्ने वडा अध्यक्ष मित्रलाल कंडेल बताउनुहुन्छ । पहिरो प्रभावित क्षेत्रमा तत्काल डोजर प्रयोग गरी माटो हटाएर जोखिम हटाउने कार्य गर्ने अध्यक्ष कंडेलको भनाई छ । यसैगरी पहिरोले बिस्थापित लक्ष्मी मल्लको परिवारलाई बिहान साँझको गुजारा चलाउन समस्या परेपछि नेपाल कम्युनिष्ट पार्टी पाल्पाका जिल्ला कमिटि सदस्य विनोद श्रेष्ठले खाद्यान्न सहयोग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *