दक्ष जनशक्तिका लागि प्राविधिक शिक्षा र व्यवसायिक तालिमको आवश्यकता

राजबहादुर गिरी

काठमाडौँ, १२ साउन। नेपाल सरकारको तथ्याङ्कअनुसार प्रत्येक वर्ष ५ लाख बढि श्रम शक्ति नेपाली श्रम बजारमा प्रवेश गर्ने गर्छ । जसमध्ये ४ लाख युवाहरु वैदेशिक रोजगारीका लागि विदेशी मुलुकहरुमा भौतारिने गर्छन् र बाँकी १ लाख जनशक्ति नेपालमै रोजगारीको अवसरको खोजीमा भौंतारिने गर्छन् ।

 

विदेशमा काम गर्न जाने युवाहरु मभ्ये २ प्रतिशतको हाराहारिमा मात्र दक्ष छन् । करिव २३ प्रतिशत अर्धदक्ष छन् भने ७५ प्रतिशत अदक्ष छन् । यो अवस्थाले नेपालको प्राविधिक शिक्षा र व्यवसायिक तालिमको कमजोर उपस्थितिलाई उजागर गरेको छ ।


औपचारिक स्कूले र विश्वविद्यालय तहको शिक्षा हासिल गरेका युवामध्ये थोरैमामात्र प्राविधिक ज्ञान हुन्छ जसले गर्दा उनीहरु आफुले गरेका कामलाई सीपपूर्वक सम्पन्न गर्न सक्दैनन् । हाम्रो स्कुले शिक्षालाई बिलकुलै घोकन्ते विद्या भन्दा पनि हुन्छ । जुन स्कुलमा प्रमाणपत्रका लागि मात्र प्रयोगमा आउँछ, जिवन उपयोगी हुन सकेको छैन । त्यसैले प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता झन् बढेको छ ।

प्राविविधक शिक्षा तथा व्यवसायिक तालिम   

नेपाल सरकारको प्राविधिक तथा व्यवसायिक तालिमको एकिकृत प्रतिवेदन २०७६ अनुसार विभिन्न मन्त्रालय अन्तर्गत् वार्षिक ८४ हजार ६०० व्यक्तिहरुलाई व्यवसायिक तालिम दिईन्छ । जसमध्ये भवनको बिजुली सम्बन्धी १०.८५ प्रतिशत ,सहायक ब्युटिसियन ६.५८ प्रतिशतले र टेलारिंग सम्बन्धि १० प्रतिशतले तालिम लिने गरेका छन् ।यिनिहरु सबैभन्दा बढि तालिम दिइने क्षेत्र हुन् । सबैभन्दा धेरै तालिम लिइएको यी शिर्षकहरुले श्रम बजारको प्रतिनिधित्व गर्न सकेका छन् त ? हामीले गम्भिर समिक्षा गर्नुपर्ने बेला भएको छ ।

आज रोजगारी र स्वरोजगारी तथा आयआर्जनका धेरै नयाँ क्षेत्रहरु देखा परेका छन् । तर हाम्रो तालिम अझै पनि सिलाई कटाइ जस्ता क्षेत्रमा मात्र सिमित छ । बिजुली सम्बन्धीको तालिम भने भुकम्पपछि भवन ईलेक्टीसियनको माग ह्वात्तै बढेकोले यो स्वभाविक हुन सक्छ । यत्तिले मात्र श्रम बजार धान्न सकिंदैन, जसको लागि सरकारले ठाउँ अनुसारको शिप र रोजगारीका लागि नीति नियम बनाउन जरुरि देखिन्छ ।

खासगरि प्राविधिक शिक्षालाई दुई किसिमले हेर्न सकिन्छ । प्राविधिक शिक्षा र व्यवसायिक  तालिम  । प्राविधिक शिक्षा औपचारिक पढाई भएका व्याक्तिहरुलाई प्रदान गर्न सकिन्छ । जस्तै एसइई दिएर बसेका विद्यार्थीहरुलाई दीने १८ महिले कोर्स वा डिप्लोमा कोर्स । साथै अन्य शैक्षिक योग्यता हाँसिल गरेकालाई पनि टेक्निकल एजुकेसनले शिप र क्षमताको बिकाश गर्दै दक्षता हाँसिल गर्न मद्घत गर्दछ । 

यस्तै व्यवसायिक  तालिम औपचारिक शिक्षा थोरै भएका वा नभएका लाई पनि दिन सकिन्छ । आफ्नो क्षमता अनुसारका व्यक्तिहरुलाई दक्ष बनाउनु नै प्राविधिक शिक्षाको मूल मान्यता हो।

आजको आवश्यकता भनेको प्राविधिक शिक्षामार्फत प्राविधिक ज्ञानलाई अघि बढाउनु रहेको छ । यसको जिम्मेवार निकाय भनेको प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् हो । तर स्थापनाकालमा आजभन्दा ४० वर्ष अघिको कानून अन्तर्गत नै सिटिइभिटी संचालन भैरहेको छ । यस कारणले ४० वर्ष अघि र अहिलेको परिस्थिति मेल खान सक्दैन ।

सुरुवाती चरणमा आवश्यकता परेको ठाउँमा  तालिम दिने र दक्ष बनाउने गररिन्थ्यो । पछि आएर त्यसैलाई सिटिइभिटीको नाम दिईयो र तालिम संचालन गर्न थालियो। त्यसैले यसको कानूनमा सुधार गरेर मात्र आहिलेको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ ।
कुनै पनि क्षेत्र राजनैतिक दवाब र राजनैतिक छत्रछायाँभन्दा अलग रहेर अघि बढ्न सक्यो भने कार्यसम्पादन पनि चुस्त दुरुस्त बनाउन सकिन्छ ।

सिटीइभिटी पनि केहि वर्ष अघिसम्म राजनैतिक हिसाबले अलि अलग थियो तर पछिल्लो समयमा राजनीतिको प्रभाव परेको देखिन्छ । जसको कारणले कार्यकारी प्रमुखको क्षमतामा पनि प्रश्न चिन्ह उठ्ने गरेको छ । साथै, प्रमुखमा कसरी अगडी बढ्ने र कस्ता कस्ता कार्यक्रम ल्याउदा उचित हुन्छ, हाम्रो बजारको माग के हो, लागायतका धेरै कुराहरु बारेमा स्पष्ट अवधारणाको कमि देखिन्छ । राजनीतिक छत्रछायाँको कारणले क्षमता भएका भन्दा पनि पावर र पहुँच भएका व्यक्तिले अवसर पाउनु सिटिइभिटीको अवस्था खस्किनुको प्रमुख कारण मान्न सकिन्छ ।

सम्भावना क्षेत्रहरु

नेपालमा रोजगारी सिर्जना गर्न र प्राविधिक ज्ञानका लागि हाम्रो समुदायअनुसारको सिप र रोजगारीलाई नै बढावा दिन सकिन्छ । नेपालमा प्रशस्त बन जंगलहरु छन् । वनजंगलबाट फर्निचर बनाउने, जडिबुटी संकलन देखि धेरै सम्भावनाहरुलाई रोजगारी र आयाआर्जनमा प्रयोग गर्न सकिन्छ । यसबाट देशका झन्डै १ लाख भन्दा बढी युवाहरुलाई रोजगार बनाउन सकिन्छ ।

यस्तै, यार्सागुम्बा एक बहुमुल्य जडिबुटी हो । यार्सागुम्बाबाट आयआर्जन गर्नका लागि मानिस महिनौं महिना खर्चेर संकलन गर्ने गर्दछन् । यसलाई व्यवसायीकरण गरेर संकलन, उत्पादन र बजारीकरणको बारेमा प्राविधिक शिक्षा र तालिम दिन सकियो भने प्राविधिक ज्ञान संगसंगै रोजागारी सिर्जना पनि हुन सक्छ ।

यस्ता धेरै सम्भावनाहरु छन्, जसलाई हामीले पहिचान गर्न सकेका छैनौं । त्यता तर्फ हाम्रो व्यवसायिक तालिमले छुन सकेको छैन । एकातिर सम्बोधन गर्नु पर्ने क्षेत्रहरु छुट्दै जाने, अर्को तर्फ लाखौँ युवाहारु वर्षेनी विदेश भौंतारिनु पर्ने । यो अवस्थालाई जोड्नका लागि हाम्रो प्राविधिक शिक्षाले काम गर्न सकेको छैन ।

सरकारले माग अनुसारको रोजगारी दिन सकेको छैन, दिन सकेपनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम जस्ता भत्ता बाँढ्ने किसिमका रोजगारीले युवाहरुको शिप र रोजगारीलाई न्याय गर्दैन । पुर्खाको बहादुरी, सगरमाथा र गौतमबुद्धको गाथा गाएर बस्नु भन्दा नयाँ क्षेत्र र कामको पहिचान गर्न जरुरी देखिन्छ ।

सरकारको ‘सुखी नेपाली सम्बृद्द नेपाल’को अवधारण अनुसार प्रधानमन्त्रीले हरेक ७५३ वटै स्थानिय तहमा प्राविधिक शिक्षालय अनिवार्य गर्नुपर्ने निर्णय गर्नुभयो । तर स्थानिय तहमा कस्तो रोजगारी दिने र मानिसलाई कसरि रोजगार बनाउने भनेर स्पष्ट नीति बन्न सकेको छैन । सरसर्ती हेर्दा, यस विषयमा सरकार नै अलमलमा देखिन्छ ।

प्राविधिक शिक्षा सरकारको प्राथामिकातामा त पर्यो तर बजेट बिनियोजन र नीति निर्माण लगायतका काममा सरकार चुकेको छ । अब सरकारले प्राविधिक शिक्षा र रोजगारीका विषयमा स्पष्ट नीति बनाउनुपर्छ । स्थानिय तहले रोजगारी र आवश्यकताको पहिचान गर्न सक्नुपर्छ । देशमा रहेकामात्र होइन विदेशबाट फर्किएकालाई समेत पुन विदेश फर्किनु नपर्ने किसिमले रोजगारी दिने अवधारणाको बिकाश गर्न जरुरि देखिन्छ ।

देशमै केहि गर्छु भन्ने युवाहरुका लागि सरकारले सहुलियतमा ऋण दिने र प्रोत्साहन गर्नुपर्छ । स्थानिय तहसंग पनि कति व्यक्ति रोजगार छन् र कति बेरोजगार छन, उनीहरुलाई रोजगार कसरी बनाउने भनेर योजना बनाएर अघि बढ्नुपर्छ ।

उच्चशिक्षामा कसरी जोड्ने ?

नेपालको पाठ्यक्रम व्यक्तिलाई रोजगार बनाउनेभन्दा पनि सर्टिफिकेटमा पास देखाउनका लागि मात्र काम लाग्ने देखिन्छ । जीवन निर्वाहका लागि नेपालको शिक्षा उचित हुन सकेको छैन । त्यसैले पाठ्यक्रममा भएका किताबी शिक्षासंगसंगै प्राविधिक शिक्षालाई समेत जोड दिनुपर्छ । हरेक औपचारिक शिक्षामा व्यवसायिकता चाहिन्छ । व्यवसायिकता बढाउँनका लागि व्यवसायिक तालिमको आवश्यकता पर्छ । हाम्रा विश्वविद्यालयका कोर्ष र अध्यापन दुबैमा यो पाटो छुटेको जस्तो लाग्छ । अहिले पनि उच्च शिक्षा हासिल गरेका करिव २६ प्रतिशत विद्यार्थी बेरोजगार छन् । यसको प्रमुख कारण हो, किताबीमा व्यवसायिक सीप जोड्न नसक्नु हो।

नेपालको शिक्षाले अक्षर चिन्न सक्ने त बनायो तर दक्ष बनाउन सकेन । त्यसैले अबका दिनमा एउटा मास्टर्स डिग्री गरेको व्यक्तिसंग सर्टिफिकेट संगसंगै केहि सीप पनि होस् जसले गर्दा उसले आफ्नो क्षमता अनुसारको काम गर्न सकोस । प्राविधित तथा व्यवसायिक शिक्षा र तालिमको उद्देश्य पनि प्राविधिक ज्ञान र व्यवसायिक सीपमार्फत हरेक व्यक्तिलाई आत्मनिर्भर बनाउनु हो ।

कतिपय उदाहरणहरु त यस्तो छन् कि, एउटा मास्टर्स डिग्री हाँसिल गरेको व्यक्तिलाई सामान्य टाइपिङ्ग गर्ने, समाजमा कसरी घुलमिल हुने जस्ता सामान्य समेत ज्ञान समेत नभएको देखिन्छ । त्यस्तो व्यक्ति बजारमा कसरी बिक्छ ? तर त्यस्त व्यक्तिलाई व्यवसायिक शिक्षा र तालिमसंग जोडेमा उसले तुरुन्त काम पाउँछ ।

काठमाडौँ तालिम केन्द्रसंग यस्ता धेरै उदाहरणहरु छन् जहाँ स्नातकोत्तर उत्तिर्ण गरेको विद्यार्थीलाई 2 महिनाको व्यवसायिक तालिम मार्फत सीप विकास गरेर जागिर पाउँने बनाएका छौं । त्यसैले नेपालको शिक्षा प्रणालीमा समेत सरकारले ध्यान दिन जरुरि छ । साथै मास्टर्स डिग्रीमा सिद्धान्त  संगसंगै फिल्डमा गएर प्राक्टिकल गर्नुपने कुरामा अनिवार्य गरियो भने पनि केहि हदसम्म शिक्षा प्रभावकारी हुन सक्छ ।

अबको विश्वविद्यालयको पढाइ भनेको विद्यार्थीलाईे स्नातकोत्तर तहमा एक वर्ष मात्र संद्धान्तिक अध्यापन गराउँने । अर्को एक वर्ष हरेक विद्यार्थी समुदायमा गएर प्रयोगात्मक अध्ययन गर्ने । जुन गाउँमा गएर स्थलगत रुपमा प्रयोगात्मक अध्ययन गर्छ, उसलाई त्यहाँको वडा अध्यक्षले हस्ताक्षर गरेको आधारमा मूल्यांकन गर्ने । यसो गरेमा विश्वविद्यालय समुदायस्तरसम्म जोडिन्छ र विद्यार्थीले पनि समाजलाई चिन्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गर्छ । यस्तो शिक्षाले मात्र रोजगारी श्रृजना गर्न सक्छ । होइन भने पुरातन खालकै शिक्षा पद्धतिबाट शैक्षिक बेरोजगारी हटाउन मुश्किल पर्छ ।

कोरोनाको प्रभाव र पाठ
हरेक वर्ष नेपालका ५ लाख युवाहरु श्रम बजारमा प्रवेश गर्ने  गरेको र त्यसमध्ये ४ लाख वैदेशिक रोजगारीको खोजीमा विदेशी गइरहेको सन्दर्भ छ । पछिल्लो समय, विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड १९ का कारणले विदेश गएका नेपालीहरुको रोजगारी धरापमा परेको छ भने धेरै युवाहरु नेपाल फर्किसकेको अवस्था छ । देशमै भएका युवाहरु बेरोजगार भएको बेला विदेशबाट फर्किएका युवाहरुलाई रोजगारी कसरी दिलाउने भन्ने चुनौती परेको छ । तर यसबाट, नेपालमै केहि गर्नुपर्छ भन्ने शिक्षा मिलेको छ ।

युवाहारुलाई सिर्जनात्मक कसरी हुन सकिन्छ भन्ने कुरा पनि कोरोना महामारीको प्रभावले सिकाएको छ । यस्ता महामारी र समस्या जहिलेसुकै पनि आउन सक्ने कुरालाई मध्यनजर गर्दै सरकारले अबका दिनमा कृषि क्षेत्रलाई अघि बढाउंदै युवाहरुलाई रोजगार र आत्मनिर्भर बनाउन सकिन्छ । आर्थिक पाटोलाई अगाडी बढाउन कृषि उत्पादकत्वलाई रोजगारीसंग जोड्नुपर्छ । शिप र रोजगारी हुनेले निश्चय नै काम अनुसारको उत्पादकत्व पनि धेरै दिन सक्छन् । भुभाग र त्यसको सम्भावना हेरेर रोजगारीको पहिचान गर्न सके मात्र समृद्धिको  बाटोतिर लाग्न सकिन्छ ।

नेपालको कृषि क्षेत्रलाई नै हेरौं, मानिसहरु वर्षौं वर्षदेखि पुर्ख्यौली पेशा कृषिलाई नै सम्हाल्दै आइरहेका छन् । तर कृषि जीवन निर्वाह बाहेक आयआर्जन र उन्नत हुनका लागि गरिएको देखिंदैन । यसको प्रमुख कारण हो प्राविधिक ज्ञानको कमि ।


यसका साथै, पाल्पाको ढाका वा करुवा बनाउने लगायतका धेरै पुर्ख्यौली पेशाहरु छन् । तर अहिले भारतबाट ढाकाको टोपी आयात गरेर सस्तोमा बिक्रि गर्न थालिएको छ । यदि हाम्रा रैथाने ब्राण्डलाई यसरी नै मास्ने हो भने भोलीका दिनमा हाम्रो आफ्ने भन्ने के रहन्छ ?


अहिले कोभिड १९ ले गर्दा एउटा अवसर पनि दिएको छ कि लाखौ युवाहरुलाई देश भित्रै काम दिने र उनिहरुबाट राष्ट्रले लाभ लिने । यसका लागि अबको बाटो भनेको हाम्रो आफ्नो श्रोतमा आधारित सामुदायिक विकास हो। यसले हामीसंग भएका पुराना र रैथाने ज्ञान तथा सिपलाई एकै ठाउँमा जोडेर माटो र हावापानी सुहाउँदो विकासको मोडेल तयार गर्न सहयोग गर्छ । यस्तो विकास दीगो पनि हुन्छ र समुदायले अपनत्व पनि लिन्छ । 

काठमाडौं तालिम केन्द्रका कार्यकारी निर्देशक गिरीसंग गरिएको कुराकानीमा आधारित

प्राविधिक तथा व्यवसायिक शिक्षा पढेका ७५ प्रतिशत बढि अध्ययन गरेको क्षेत्रमै रोजगार

Leave a Reply

Your email address will not be published. Required fields are marked *