निर्मला हत्या प्रकरण: एसपी विष्टसहित ८ जनालाई सफाइ

नेटिजन नेपाल
कञ्चनपुर, १५ साउन । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा लापरबाही गरेको तथा प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् ।

निर्मला प्रकरणमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको कञ्चनपुर जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको इजलाशले प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा दिल्लीराज विष्टसहित निलम्बित डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाल रहेका छन् ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो । मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ ।

यस्तै, घटनामा संलग्न भएको आशंकामा प्रहरी हिरासतमा रहेका बेला दिलीप सिंह विष्टमाथि यातना दिएको भन्ने अभियोग पनि पुष्टि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *