नेटिजन नेपाल
काठमाडौँ, २८ पुस। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताउनुभएको छ । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो।
‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, प्रचण्ड भन्नुभयो । प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत बताउनुभयो । गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रभन्नुभयो, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’
उहाँले प्रधानमन्त्री ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताउनुभयो। ‘फेरि विद्रोह गरेको अनुभूति भएको छ। सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ। निरंकुशताविरूद्ध आन्दोलन चुनौती र अवसर पनि हो,’ उहाँले भन्नुभयो।
नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने केपी ओली गुटको पतन हुने उहाँको दावी थियो।
‘केही द्विविधा नराखीकन सडकमा जुझारू किसिमले जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचन आयो, सर्वोच्च अदालत र जनताको अदालतबाट एकै फैसला आउनेछ त्यो भनेको प्रतिनिधि सभा पुनर्स्थापना हो।’
उहाँले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाव र प्रभावमा राख्न खोजेको पनि बताउनुभयो। ‘प्रधानमन्त्रीले अदालतलाई दबावमा राख्ने? यो राज्यको दुरूपयोगबाहेक केही हो?’ उहाँले प्रश्न गर्नुभयो।