पार्वती अधिकारी
काठमाडौँ, २० माघ। हाम्रो समाजमा महिलाहरुलाई अझै पनि कमजोर पात्रका रुपमा खडा गरिदिने परिपाठी कायमै छ। ‘नारी पुरुष बराबर’ भन्ने भाका वर्षौंदेखि सुन्दै आए पनि व्यवहारमा भने उही पितृसत्तात्मक सोच हावी नै छ । तर समाजमा यस्ता उदाहरणीय महिलाहरु पनि छन्, जसले ‘महिला पनि हरेक क्षेत्रमा अब्बल छन भन्ने कुरा प्रमाणित गरिदिएका छन्।
त्यहि सहासी महिलाहरुको भिडमा एक उदाहरणीय महिला हुन् नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का। जसले नेपालमा वर्षौंदेखि पुरुषले मात्र खेल्दै आएको रेस्लिङ्ग खेल महिलाले पनि खेल्न सक्छन भनेर प्रमाणित गरेर देखाइदिनुभयो ।
हुन त उहाँ सानैदेखि उत्सुक र चंचल स्वभावकी हुनुहुन्थ्यो । केहि गरेर समाजमा आफ्नो नाम स्थापित गर्नुपर्छ भन्ने इच्छा सानै उमेरदेखि थियो । त्यसैले उहाँले बाआमालाई पनि भविष्यका योजनाका बारेमा सुनाउनुहुन्थ्यो। एउटा विकट गाउँकी केटीले ठुला ठुला सपना देखेको भन्दै बाबुआमाले उहाँको कुरामा खासै रुचि राख्दैनथे।
‘बा, म पनि पछि यसरी नै रेडियोमा बोल्ने मान्छे बनेर देखाउछु’, खेतमा काम गर्दै गर्दा उहाँले बालाई भन्नुभयो।
‘तँ जस्तो गाउँमा जन्मिएकी केटीले यस्तो सपना देख्नु आकाशको तारा टिप्नु जस्तै हो नानी’, बाले पत्यार नलागेको शैलीमा जवाफ दिनुभयो।
‘बालाई पत्यार लागोस पनि कसरी, त्यतिबेला गाउँका सबै छोरीचेलीको १५ वर्ष नपुगी विवाह हुन्थ्यो। छोरी भनेको त अर्काको घरमा जाने जात भन्दै अलि हेलाँको दृष्टिले हेरिन्थ्यो’, उहाँले भन्नुभयो, त्यसैले म सात वर्षको हुँदासम्म पनि मलाई स्कुल भर्ना नै गरिएन।
पढ्नका लागि उहाँले आफ्नै घरपरिवारसंग संघर्ष गर्नुपर्यो । पढ्ने ईच्छा अति नै भएपछि बल्लतल्ल आमालाई मनाएर स्कुल भर्ना हुनुभयो। उहाँको जिन्दगीको फाइट यहींबाट सुरु भयो। जिन्दगीसंगको फाइट त हरकोहिले गरि नै रहेको हुन्छ तर उहाँ वास्तविक जीवनमा पनि फाइटर नै हुनुहुन्छ । नेपालजस्तो पितृसत्तात्मक मुलुकमा उहाँले रेस्लिङ्ग क्षेत्रमा महिलाको प्रतिनिधित्व गर्दै आफ्नो एउटा छुट्टै पहिचान बनाउनुभयो ।
कक्षामा सबैभन्दा ठुली उहाँ नै देखिनुहुन्थ्यो। ‘पढाइमा कहिल्यै दोस्रो हुनु परेन । अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्वल थिएँ’,उहाँले सुनाउनुभयो । सानैदेखि अन्याय अत्याचार सहने बानि नभएकी उहाँ कसैले हेप्ने वा होच्याएर बोले भने पनि प्रतिवाद गरिहाल्नुहुन्थ्यो । “मैले एकै चोटी ११ जना साथीहरुलाई फाईट खेलेर हराईदिएकी छु’, त्यसपछि त गाउँभरी सबैले राजेश हमाल भन्दै जिस्काउन थाले’ उहाँले भन्नुभयो,’त्यहि बेलाबाटै रेस्लिङको भुत सवार भैसकेको रहेछ,पहिल्याउन मात्र समय लाग्यो’ उहाँले थप्नुभयो ।
२०६० सालतिरको कुरा हो । खड्का कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो, जतिबेला माओवादी जनआन्दोलन उत्कर्षमा थियो । माओवादीले उहाँका बासँग दुई लाख चन्दा मागे । बा’ले दिन नसक्ने भएपछि पसल बन्द गर्नुपर्ने धम्कि आउन थाल्यो । आम्दानीको एउटै मात्र स्रोत पनि टुटेपछि परिवारमा आर्थिक संकट आईपर्न थाल्यो । त्यहि बेला उहाले सुन्नुभएको रहेछ ‘माओवादीमा गयो भने टन्न पैसा पाईन्छ ।’
त्यसपछि खड्कामा पनि माओवादी लडाकु बन्ने भुत सवार हुन थाल्यो । गाउँका केहि साथीहरुसंगै खड्का माओवादी लडाकु बन्न घरबाट निस्किनुभयो । घर छोडेर कहिल्यै बाहिर नगएकी उहाँलाई एक महिनासम्म भुमिगत जीवन विताउँदा निकै कष्ट र नमज्जा लाग्यो । खड्का एकदिन सुटुक्क क्याम्पबाट भागेर घरतिर लाग्नुभयो । घर आउँदा सबैजना अताल्लिएका थिए । अझ माओवादी लडाकुको घर भनेपछि सुरक्षामा समेत प्रश्न उठ्न थाल्यो ।
त्यसपछि उहाँले कलाकार बन्ने सपना बुन्दै काठमाडौं जाने निर्णय गर्नुभयो । कलाकारिताप्रति उहाँको सानैदेखि लगाव थियो । नाच्न गाउन र अभिनय गर्न भनेपछि हुरुक्कै हुने । “चलचित्र देउता हेरेपछि म राजेश हमालको ठुलो फ्यान भएँ । पहिला साथीहरुले राजेश हमाल भन्दै जिस्काउँदा रिसाउने म त्यसपछि उहाँको नाम सुन्दा पनि गर्व महसुस गर्न थालें ।” अझ घत लाग्दो कुरा त के भने, उहाँले राजेश हमालको विवाह भएको छैन भन्ने सुनेपछि कति पटक उहाँलाई पाउँ भन्दै तीजमा ब्रत समेत बस्नुभएको रहेछ।
उसो भए त राजेश हमालको विवाह हुँदा सबैभन्दा दुखी तपाई हुनुभएको थियो होला भन्ने प्रश्न सकिन नपाउदै उहाँले भन्नुभयो, “होईन, ति मेरा कलिलो उमेरका सोचाईहरु मात्र थिए । उमेर बढ्दै जाँदा देखेका सपनाहरु कति सार्थक छन् र आफ्नो जिवनको लक्ष्य के छ, त्यतैतिर ध्यान जाने रहेछ । मलाई राजेश हमालले विवाह गर्दा त्यस्तो केहि नराम्रो महसुस भएन ।”
शहरमा खड्काको आफ्नो भन्ने कोहि थिएनन् । शहर आएसँगै उहाँलाई आर्थिक संकटले नराम्रोसँग गाँज्न थाल्यो । भगवती कहिले भोकभोकैसुत्नुहुन्थ्यो त कहिले एउटा रोटीको भरमा दिन कटाउन बाध्य हुनुहुन्थ्यो । “जस्तोसुकै दुख पर्दा पनि जिवनमा कहिल्यै हार खाइन, संघर्ष गरिरहे’, उहाँले भन्नुभयो। मानिस सफलतासम्म आईपुग्न त्यति सजिलो छैन । त्यसको पछाडी ठुलो त्याग तपस्या र बलिदान लुकेको हुन्छ । भगवतीका आँखामा पनि ति दुखहरु केहि आँसु मार्फत छछल्किए ।’
काठमाडौँ आएर उहाँले चलचित्रमा अभिनय गर्ने उदेश्यले फिल्मि फाईट र अभिनयको क्लास लिन थाल्नुभयो । ‘प्रतिकार’ नामको भोजपुरी चलचित्रबाट चरित्र अभिनयको सुरुवात गर्नुभएकी उहाँलाई विस्तारै धेरै नेपाली चलचित्रहरुबाट समेत अफर आउन थाल्यो । खड्काले हालसम्म ५ दर्जन भन्दा बढी चलचित्र र दर्जनौं टेलीशृंखलाहरुमा अभिनय गरिसक्नुभएको छ। ‘मलाई हिरोईन हुने अवसर भने कहिल्यै मिलेन। प्राय चलचित्रमा खलनायिकाका रुपमा अभिनय गर्ने अफरहरु मात्र आउछन’ उहाँले हाँस्दै भन्नुभयो, ‘सायद मलाई अलि ज्याङ्गो र डरलाग्दो देखिन्छ कि। ‘ भित्रबाट भने खड्का निकै नै कोमल हृदयकी हुनुहुन्छ।
अभिनय प्रशिक्षणसंगै खड्काको मनमा भारत्वलन खेललाई समेत अगाडी बढाउने सोच आयो । पहिलोपटकमै उहाँले महिला तर्फ १३५ केजी उठाउँदै नेपालको लागि सिल्भर मेडल उचाल्न सफल हुनुभयो। भारत्वलनको कारणले हातको हड्डीमा समस्या आउन थाल्यो । त्यसपछि उहाँ हिमालयन टाईगरसंग रेस्लिङ खेलको ट्रेनिङ लिन थाल्नुभयो।
खड्काभन्दा अघि नेपालका कुनै पनि महिलाले रेस्लिङ सिक्ने मनशाय समेत राखेका थिएनन् । ईतिहासमै पहिलो पटक कुनै महिलाले रेस्लिङ सिक्छु भन्दै आएकाले हिमालयन टाईगर अति नै खुसी भए । तर त्यहाँ पनि उहाँका लागी त्यति सहज स्थिति भने थिएन । केटा केटाको विचमा एक्लि केटिले रेस्लिङ सिक्न अति नै कठिनाइको काम थियो । “केटाहरुले एकदमै डोमिनेट गर्न खोज्थे । मेरो अगाडी छाडा शब्दहरु बोल्दै जिस्काईरहन्थे । आईजो सिंगल सिंगल भिडौं भन्दै जोरी खोज्थे । कतिपटक ट्रेनिङको समयमा मेरा सेन्सेटिभ अंगमा समेत छोईदिंदा धेरै नै नमज्जा महसुस हुन्थ्यो” उहाँले सुनाउनुभयो ।
भगवतीलाई आफुमाथी दुर्व्यवहार भएको महसुस त हुन्थ्यो तर कहिल्यै पनि यसविरुद्द आवाज उठाउनुभएन। ‘उनीहरुको त्यो व्यवहारले मलाइ निराश बनाएन, बरु थप उर्जा मिल्यो। एक दिन सफल भएर यिनीहरुभन्दा चर्चित भएर देखाउनेछु भन्ने प्रण मनमा आयो, खड्काले भन्नुभयो,’ अहिले मलाई त्यस्तो व्यवहार गर्नेहरु आँखा जुधाएर हेर्न सक्दैनन्। मेरो सफलता त्यहि हो जस्तो लाग्छ।’
तर हरेक महिलाहरु भगवतीले जस्तो सहेर बस्नु बिलकुलै गलत हो। ‘सायद मैले त्यो बेला बुझीन होला, या मेरो मनमा म एक्लै हुँदा यिनीहरुले झन् बढी दुर्व्यवहार गर्ने पो हुन् कि भन्ने डर पनि थियो। अहिले जस्तो भएको भए सबैलाई कानुनी कारवाहीको दायरामा समेत ल्याउने थिएँ’, उहाँले भन्नुभयो। सायद त्यति बेलाको दुख नै यतिबेलाको सुख हुन सक्छ, उहाँको मुहारका सन्तुष्टिका भावहरु सजिलै पढ्न सकिन्थ्यो।
रेिस्लङ सिक्दाको कठिन परिस्थितीहरु भन्दै जानुभयो, “मैले सिक्दासम्म गुरुकोमा त्यती धेरै सेफ्टीको व्यवस्था पनि थिएन । ट्रेनिङ गर्दा शरिर पुरै दुख्थ्यो, कति पटक ज्वरोले थलिएकी पनि छु। ‘
तीन महिना ट्रेनिङ गरेपछि उहाँले अमेरिकाको ‘द ग्रेट चिम्ने’लाई हराउँदै भारतमा भएको एक महिला रेस्लिङ प्रतियोगितामा प्रथम हुन सफल हुनुभयो । “त्यसपछी पो मेरो विशेष चर्चा हुन थाल्यो त । मेरो नाम र तस्विर हरेक पत्रपत्रिकामा छापिन थाले र हरेक रेडियोमा बज्न थाले, त्यो पनि नेपालको पहिलो महिला रेस्लर भन्दै’ उहाँले सुनाउनु भयो।
यसको अलावा उहाँ गायनमा पनि रुचि राख्नुहुन्थ्यो। खड्काले आफ्नै आवाजमा एउटा लोकदोहोरी एल्बम पनि निकाल्नुभयो। एल्बमले राम्रै चर्चा बटुल्यो भने उहाँ पनि सञ्चार माध्याममा छ्याप्छ्याप्ती छाउन थाल्नुभयो । ‘चलचित्र, रेस्लिङ र कलाकारीतामा जब सफल हुँदै गएँ तब बासंग खेतमा काम गर्दै गर्दाको समयको सम्झना आउँछ’, बाल्यकाल सम्झदै उहाँले भन्नुभयो।
कलाकारीता र रेस्लिङमा आफ्नो नाम स्थापित गर्ने होडमा दौडंदै गर्दाको समयमा खड्काकी आमालाई क्यान्सर रोगले थलाउन थाल्यो । उपचार गर्दा गर्दै धेरै खर्च लाग्यो तर बचाउन सकिएन । जिवनमा सबै भन्दा धेरै माया र साथ दिने व्यक्तिलाई गुमाउँदा कति पिडा हुन्छ, त्यो उनको अनुहारबाटै प्रष्टसंग देख्न सकिन्थ्यो । “जिवनमा एउटै अपसोच छ, कि अहिलेको मेरो सफलता मेरी आमालाई देखाउन सकिन”, भावुक मुद्रामा भन्नुभयो।
आफुले सिकेको बेलामा जस्तो सकस अरु इच्छुक महिलाहरुलाई नहोस् भन्ने उद्घेश्यले उहाँमा ‘महिला रेस्लिङ फाउन्डेसन’को स्थापना गर्ने सोच पलाउन थाल्यो । “संस्था खोल्ने त भनियो तर आर्थीक संकट भने मेरो जिवनमा यथावत नै थियो । त्यसैले मैले घाँटीमा लगाएको चेन र बुलेट बाईक समेत बेचेर संस्था दर्ता गराएकी हुँ,” उहाँले भन्नुभयो।
हाल उहाँ आफैंले स्थापना गरेको महिला रेस्लिङ फाउन्डेसनमा महिला रेस्लरहरुलाई निशुल्क तालिम दिने गर्नुहुन्छ । उहाँले रेलिङ्ग सिकाउनुभएको कति महिला चर्चाको शिखरमा समेत रहेका छन् । “आफैंले ट्रेनिङ दिएको विध्यार्थीले प्रगती गर्दा निकै नै सन्तुष्टी मिल्ने रहेछ ।” सन्तुष्टी मिश्रीत मुस्कान दिंदै भन्नुभयो।
अब उहाँको आगामी योजना नेपालका महिलालाई रेस्लिङ्ग मार्फत अन्तराष्ट्रिय स्तरमा चिनाउनु रहेको छ। आशा गरौँ उहाँको इच्छा छिट्टै पुरा हुनेछ ।