नेटिजन नेपाल
काठमाडौँ, ११ फागुन। नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले सही फैसला गर्ने विश्वास रहेकाे बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मुलुक र संविधान विघटन र बिसर्जन गर्ने बाटोमा लागेको भन्दै दाहालले त्यसमा आफूहरू सफल हुने बताउनुभयो ।
तिलकराज भण्डारीले सम्पादन गरेको ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमाेचन गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण युद्ध जारी रहेको बताउनुभयो । आफूहरू शान्तिपूर्ण युद्धमा भएपनि अदालतप्रति विश्वास रहेको उहाँको भनाइ थियाे ।
‘अहिलेकाे शान्तिपूर्ण युद्ध जित्नुपर्छ । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेकाे युद्ध जित्नुपर्छ,’ दाहालले भन्नुभयो, ‘हामीले अदालतप्रति विश्वास छैन भनेको हाेइन । अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्नेछ भन्ने विश्वास छ ।’
प्रतिनिधिसभा विघटनको मुद्दामाथिको सुनुवाइ सकिएपछि दाहालको याे धारणा सार्वजनिक भएको हाे ।
दाहालले पार्टी विभाजन गर्न ओलीले षड्यन्त्र गरेको पनि बताउनुभयो । ‘ठूलो दु:खले पार्टी एकता गरिएको थियाे । त्यसलाई विभाजन गर्ने ठूलो षडयन्त्र भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘हामी आधिकारिक हाैं । पार्टी एकताको रक्षामा छाैं । ओलीले फुट, विघटन र विसर्जनमा लगेका छन् । पार्टीमा फुट, संविधान, देश र लाेकतन्त्र विघटन र विसर्जन गर्न खाेज्नुभयाे ।’