तातोपानी नाका अब दशैंपछि मात्र खुल्ने

नेटिजन नेपाल
काठमाडौँ, ५ कात्तिक। तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालनको मिति किटान गर्न भने बिहीबार चिनियाँ पक्षसंग छलफल हुने भन्सार कार्यालयले जनाएको छ । सम्भवतः दसैँलगत्तै नाकाबाट व्यापार नियमित हुने भन्सार प्रमुख लालबहादुर खत्री बताउनुहुन्छ।

तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका ठप्प भएको थियो ।

अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । चीनले नै तयार गरेको नेपालतर्फको भन्सार यार्डसम्म सामान ल्याइदिने सहमति भएको भन्सार प्रमुख खत्रीले बताउनुभयो।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइरहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *