नेटिजन नेपाल
काठमाडौँ, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा चन्द समूहसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले भने, ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ । हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ ।’
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।