त्रिशूलीमा र्याफ्टिङ, छालसंगको रमाइलो (फोटोफिचर)

नेटिजन नेपाल
मलेखु, २३ कात्तिक। पानीमा खेल्न रुचाउनेहरुका लागि त्रिशुली नदीको र्याफ्टिंग अति नै प्रख्यात छ। नेपालमा जलयात्रा गराउने यस्ता कम्पनी झण्डै ४० छन् । कालीगण्डकी, कर्णाली, सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी, सेती, दूधकोशी, त्रिशूली र तमोरलगायतमा जलयात्रा हुन्छ । यद्यपि मुलुक कै केन्द्रविन्दु र राजधानीबाट नजीक तथा सुरक्षाका सबै उपाय अपनाउन सजिलो भएकाले सबैको रोजाइमा त्रिशूली हुने गरेको छ । जति बेगमा पानी दौडिन्छ, त्यति नै र्याफ्टिङको मजा हुन्छ । छालसँग भलाकुसारी गर्दै सँगसँगै उफ्रिएर प्राप्त हुने आनन्द कसैले भुल्न सक्दैनन् । पथप्रदर्शकले बेलाबेलामा प्याडल हाइफाइ गराएर खुसी थपिदिन्छन् ।

यात्राका क्रममा गीत सङ्गीतको धुनमा रमाउनेदेखि पानी छ्यापाछ्याप गरेर मजा लिन पर्यटक औधी मन पराउँछन् । कतिपय डुङ्गाबाट हाम्फालेर बग्दै गरेको पानीमा पौडीको मजा लिन तम्सिन्छन् । सहभागी सबैले प्याडल चलाउनुपर्ने भएकाले रमाइलोका बीच थकान बिलाएर जान्छ । बीचमा विश्राम लिँदा नदी किनारको तातो बालुवामा उलटपुलटको मजा बेग्लै हुन्छ । बालुवामा लुकामारी गर्दै एक अर्कालाई टाउको मात्रै देखाएर पुर्नु अर्काे रोमाञ्चक क्षण बनिदिन्छ ।

जलयात्रामा नदीको अवस्था, दूरी, समयअनुसार शुल्क फरकफरक हुन्छ । मलेखुबाट जवाङखोलाको झण्डै २५ किलोमिटरको एउटा रुट छ । त्रिशूलीमै पनि यस्ता रुट धेरै छ । रमाउँदै जाँदा करीब चार घण्टामा यात्रा टुङ्गिन्छ । पर्यटकको चाहनाअनुसार थप्न पनि सकिन्छ ।

काठमाडौँका जलयात्रा गराउने कम्पनीले विदेशी पर्यटकलाई प्याकेजमा विभिन्न नदीमा लैजान्थे । कोभिड–१९ का कारण गत वर्षको चैतमा भएको बन्दाबन्दीपछि विदेशी पर्यटक ठप्प छन् । बन्दाबन्दी हटेर जनजीवन सामान्य हुन थालेपछि नेपाली पर्यटक थपिन थालेका छन् । यही दशैँको आपसापबाट भने नदीमा जलयात्रा गर्नेको लर्काे लाग्न थालेको धादिङको मलेखुस्थित सिद्धलेख गाउँपालिका–४ मा रहेको रिभर पार्कबीच रिसोर्टका सञ्चालक राममणि सिलवाल बताउनुहुन्छ ।

त्यही रिसोर्टबाट जवाङखोला÷मौवा खोलासम्मको जलयात्रा रोमाञ्चकारी पनि छ । जलयात्राका लागि शनिबार त्रिशूलीमा सयौँ मानिस जम्मा भए । यहाँ चार डुङ्गामा ३५ जनाले एकै पटक र्याफ्टिङ गरे । झण्डै चार घण्टाको यात्रा भयो । यसको प्याकेज एक छाक सादा खानासहित प्रतिव्यक्ति रु एक हजार ५०० रहेको सञ्चालक सिलवालले जानकारी दिनुभयो । रासस।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *