देउसीभैलोको त्यो भुत

पार्वती अधिकारी

काठमाडौँ, २८ कात्तिक। यसपाली पनि फुल फुलीसक्यो। मागमगाएको सुवासले तिहारलाई नै डाकीरहेको छ जस्तो आभास हुने थालेको छ । जब फुल मुस्कुराउछ तब तिहार पनि मुस्कुराउछ । झिलिमिली बत्तिले फुलको सुवासलाई थप सौन्दर्य प्रदान गरेको महसुस हुन्छ । सरद ऋतुको मौसमले अझ चाडपर्वलाई विशेष बनाइदिएको भान हुन्छ । मन त लाग्छ, यहि समयलाई च्याप्प समातेर राखूँ र यससंगै रमाएर जिन्दगी बिताईदिउँ।

समय सधैं कहाँ उस्तै हुन्छ र, जसरि मानिसको जीवन उस्तै रहदैन । जसरि दिन उस्तै रहदैन। बिहानीको उज्यालो लाली पोतेर आउने दिन पनि बेलुका कालो रातमा बिलाउनुपर्ने हुन्छ। च्या च्या गर्दै जन्मिएको बच्चाको पनि दिनसंगै जवान चढ्दै जान्छ र दिनसंगै जवानी ढल्दै जान्छ । न दिन एकै छिन रोकिएर बस्न सक्छ न हामि एकै छिन रोकिएर जीवन जिउन छाड्छौं ।

यसपाली पनि तिहार आइसकेछ। समय बित्न कति बेर पनि नलाग्ने । बाल्यकालका तिहारमा फुलेका फुलहरु ओइलाउन भ्याएकै छैनन् जस्तो लाग्छ। छिमेकीको घरमा ‘झिलिमिली झिल्ला तातो रोटि मिल्ला’ भनेर देउसीभैली खेलेको अस्ति भर्खर जस्तो लाग्छ । तिहार आएपछि त्यो बाल्यकालको चाहिं अति नै याद आउँछ। जतिबेला चाडपर्वले खुसीका बहारहरुमात्रै लिएर आउंथे।

पल्लो गाउँको एउटा घरमा देउसी खेल्दै जति चिच्याए पनि कोहि चाईं चुईं गरेनन। त्यहि झोकमा ‘हामी त्यसै आ होइनौं बली राजाले पठाको’ भनेर गम्किदै पटक पटक घोक्रो सुक्ने गरि कराएको कहाँ बिर्सन सकिन्छ र।

अझ ‘दिने भए सिदा देउ नदिने भए बिदा देउ’ भन्दै अनुमतीसमेत मागेका थियौं। एक छिन घोक्रो सुकाएर बिदा भएरै जाउँ न त भनेर धेरै बेर प्रतीक्षा पनि गर्यौं। बिदा गर्न कोहि आउँदैन त बा। त्यसपछि ‘रातो माटो चिप्लो बाटो, लड्दै र पड्दै आएका हामी, यहाँ मात्र होइन, कहा कहासम्म जानु छ’ भनेर देउसी मार्फत आफ्ना भएभरका बह पोखीसक्दा पनि त्यो घरका मान्छे उठेनन।

करिब आधि घन्टाको अचुक प्रयासमा पनि घरका मान्छे नउठेपछि हाम्रो सुकेको घोक्रोको भरपाई नगरी नजाने निर्णय भयो । हामी भैलोमार्फत नै विभिन्न रचनात्मक गाली गर्न थाल्यौं। जसमा ‘भर्याङ्ग मुनि कुच्चो छ, यो घरको बुढाबुढी नै छुच्चो छ’ लगायत लयकारी भावहरु प्रस्तुत गरिएको थियो ।

आधि घण्टा देउसी भैलोमार्फत तारिफ गर्दा नउठेको त्यस घरका मानिस हल्का दुईचार वटा लयात्मक गाली गरेपछि ठ्याक्क बत्ति बालेर ढोका खोले। रिसले चुर भएका घर धनीले सातो जाने गरि लखेटे। हामी कुलेलम ठोक्यों। जे होस् गाली गरेपछि हाम्रो आत्माले शान्ति पायो । सबै ए ठाउँमा जम्मा भएर मजाले हास्यौं र फेरि अर्को घरमा देउसी भैलो खेल्न गयौं।

औंसीको रात, जता हेर्दा पनि कालो देखिन्थ्यो। गाउँका घरहरु पातला थिए। एउटा घर वल्लो डाँडामा त अर्को घर पल्लो डाँडामा। केहि केहि ठाउँमा मात्र दुई तिन वटा घर संगै हुन्थे । १० जनाको समुहमा गएका हामीहरुसंग एउटामात्र टर्च लाइट थियो। सानो गोरेटो बाटो थियो, त्यो पनि दशैंमा पाहुना आउछन भनेर गाउँलेले खनेर अलि हिड्न मिल्ने खालको बनाएका थिए।

मलाई अगाडी बस्न पनि डर लाग्थ्यो, पछाडी बस्न पनि डर लाग्थ्यो। फेरि बीचमा बस्न पनि डर लाग्थ्यो। हजुरबाले दन्त्य कथा सुनाउदा बाघले बिचमा बस्नेलाई चाहिं लैजान्छु भनेको थियो रे। त्यसैले बिचमा बस्दा बाघ फ्याट्ट आइहाल्यो र पुलुक्क हेर्यो भने त मलाई नै देख्छ भन्ने भित्रि डर पनि थियो। अहिले जस्तो कच्ची सडक मात्र बनेको भए पनि हामी दसै जना एउटै लाइनमा लहरै हिडथ्यौं होला। जसले गर्दा कोहि अघि र कोहि पछि हुने सम्भावना नै हुने थिएन।

बिचमा बस्नेले बत्ति देखाउने काम गर्थ्यो। जसले अगाडी हिड्नेको पनि ख्याल गर्नु पर्थ्यो, पछाडी हिड्नेको पनि । त्यो समुहको नेतृत्व गर्नेले दक्षिणा जम्मा गर्थ्यो। कति घरमा साच्चीकै सेलरोटि र धान चामल समेत दिने गर्थे। ति सामानहरु हामी पालै पालो बोक्ने गर्थ्यौं ।

राति १० बजेको थियो। हामी देउसी भैलोको अन्त्य अन्त्यतिर आइपुगीसकेका थियौं। अन्त्यमा एउटा घर बाँकी थियो। त्यस घरमा दान दक्षिणा राम्रै मिल्थ्यो, त्यसैले छुटाउनै मिल्दैनथ्यो। त्यो घरमा पुग्नका लागि एउटा खोल्सो पार गर्नुपर्थ्यो। जुन खोल्सा अलि डर लाग्दो थियो। हजुरबाले आफु सानो हुँदा त्यस खोल्सामा भूतले बत्ति बाल्ने गरेको कुरा सुनाउनु हुन्थ्यो।

अब जाने कि नजाने त ? नगए अलिकति नगद घाटा लाग्छ। फेरि अरु बेला घाँटीको नसा छिन्ने गरि चिच्याए पनि कसले पैसा दिन्छ र ? देउसी भैलो खेल्दा त हो नि नलजाई डिमाण्ड गरि गरि माग्न मिल्ने। एकछिन सल्लाह गरेपछि भगवती ढक्क छाती फुलाएर अगाडी आइ र भनि ‘ यो भुत प्रेत केहि पनि हुँदैन, तिमीहरु ढुक्क भएर मेरो पछि पछि आओ केटि हो।’ अरुले डराउदै भए पनि उसको हो मा हो मिलाए ।

भगवती अगाडी लागि, फेरि पछाडी बस्ने को त ? पछाडीबाट फुत्त तान्यो भने गएन यति राम्रो जिन्दगी ? त्यसपछि पछाडी बस्नेले टर्च बाल्ने मौका पायो । जसो तसो खोल्सासम्म पुग्यौं। त्यहाबाट त्यो घर लगभग ३०० मिटरको दुरीमा थियो। खोल्साको अलिकति माथि कसैले पिलपिल बत्ति बालेको जस्तो देखियो।
हामीले त्यस बत्तीलाई नियालेर हेर्यौं। कालो कालो मान्छेजस्तो आकृति देखियो । त्यो आकृति ठ्याक्क रोकियो र पिलपिल गर्ने बत्ति हामीतिर देखायो। हामी सबै थरथर काप्न थाल्यौं। सहासिलो भएर अगाडी बसेकी भगवती कतिबेला बीचमा आइपुगीसकिछे, पत्तै भएन।

त्यो बत्तिवाला कालो आकृति लमकलमक गर्दै हामी भएकैतिर आउन थाल्यो। हामी सबैको होसले ठाउँ छाडीसकेको थियो। ‘थुक्क ! बल्ल बल्ल आमाले जन्माएर यति ठुलो बनाउनु भयो, आज भुतको आहारा बन्नुपर्ने भयो, हाम्रो कर्म।’ भगवती फताफताई। हामी सबै आँखा चिम्लिएर, भगवानको नाम जप्दै एक अर्कालाई च्याप्प समाएर बसिरह्यौं। हामीले त्यो बत्ति आँखाले देखेकै कारणले त हो नि डर लागेको, आँखै बन्द गरेपछि त के डर ? तर डर हराएन।

मैले आधि आँखा खोलेर हेरे। त्यो आकृति हामी भएकै ठाउँमा आएर बत्ति पिलपिल पारिरहेको रहेछ।
‘केटि हो भाग’ भगवती चिच्याई ।
‘ए तिमीहरु किन डराएको ?’
त्यो कालो आकृति त बोल्दो पनि रहेछ।
‘म साइलो काका, माथि घरको।’
एक छिन त पत्यार नै लागेन, भुतले नै साइलो काका भनिरहेको पो हो कि।
सबै जना थरथर काप्दै काका भन्ने मान्छेको कुरा सुन्न थाल्यौं।
‘तिमीहरु हाम्रै घरमा भैली खेल्न जान लागेको होइन ?’ काकाले सोध्नुभयो।
हामी केहि बोल्ने सकेनौं, ‘हो’ को शैलीमा टाउको हल्लायौं।
‘यो खोल्सामा तिमीहरुलाई डर लाग्ला भनेर पर्खिएको। आउदै आएनौ। अनि डरायौ कि भनेर तिमीहरु भएकै ठाउँमा आएको।’
हाम्रो कम्पन शान्त भएको थिएन। शरिर चिस्सिएर बरफ बन्न मात्रै बाँकी थियो।
काका नै बोलिरहे, ‘ल हिंड संगसंगै जाउँ।’
काकालाई भेटेपछि भुतको डर त हरायो तर अघिको डरको ह्याङ्ग भने बाँकी नै थियो। हामीले अगाडी जसरी झिलिमिली झिल्ला भन्दै कराउन पनि सकेनौं ।

जे होस काका दयालु थिए। इस्टकोटको खल्तीबाट ५०० को नोट निकालेर दक्षिणा दिए।
हामीले अहिलेसम्म चिच्याएर जम्मा नभएको पैसा उहाँले दिनुभएको थियो। हामी खुसीले गद्गद् भयौं।
त्यसपछि काका आफैंले हामीलाई घरसम्म पुर्याइदिनुभयो।

साँच्चीकै त्यो तिहार विशेष थियो। डरमा पनि आनन्द थियो, खुसि थियो। अहिले पनि खुसि र आनन्द त छ तर बाल्यकालको उमंग हामी जसो गरे पनि फिर्ता ल्याउनै सक्दैनौं । बाल्यकालको तिहार हामी जसो गरे पनि फिर्ता ल्याउन सक्दैनौं । त्यसैले त बाल्यकाल विशेष हुन्छ । बाल्यकालमा आउने चाडपर्वको महत्व विशेष हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *