हुम्लामा एउटै विद्यालयका ५६ जनालाई कोरोना संक्रमण

नेटिजन नेपाल
काठमाडौँ, ५ मङ्सिर। विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा दर्जनौँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। नाम्खाको सीमा चीनको तिब्बतसँग जोडिएको छ।

एउटा स्थानीय शिशुकक्षामा पढ्न जाने गरेका १९ जनासहित अधिकांश सङ्क्रमितहरू विद्यार्थी भएको उक्त गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो।

उहाँका अनुसार विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोभिड-१९ पुष्टि भएको हो।

“कोरोनाभाइरस देखिएका सबै बालबालिका हिमालयन चिल्ड्रेन सोसाइटीले सञ्चालन गर्दै आएको आवासीय छात्रावासमा बस्दै आएका छन्,” लामाले भन्नुभयो।

महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु बाजुरा, हुम्ला, डोल्पा, मुगु तथा काठमाडौँका रहेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।

कतिपय विद्यार्थीहरू हवाईमार्गबाट आएको र कतिपय बाजुरा हुँदै पैदल आएको हुँदा जहाजबाट आएकाको परीक्षण भएको तर हिँडेर आएकाको परीक्षण नगरेको बताइएको छ।

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले हिँडेर आएका विद्यार्थीमार्फत् सङ्क्रमण भएको हुन सक्ने आशङ्का गरिएको बताउभयो ।

विद्यालयका सबै ५२५ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएपछि पशुपन्छी प्रयोगशाला सुर्खेतमा पुन: परिक्षणमा सङ्क्रमित देखिएका सबैलाई छात्रावासको आइसोलेशनमा राखिएको सिंहले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् आएको एन्टीजेन प्रविधिमार्फत् जाँच गरिएको पोजेटिभ आएकामध्ये २८ जनाको पीसीआर पनि पोजेटिभ नै आएको हुनाले अन्य सबै सङ्क्रमित नै भएको भन्न सकिने उहाँको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *