अस्पतालका आकस्मिक कक्ष जोखिममा, बिरामीको चाप र ओहोर दोहोर मुख्य कारण

नेटिजन नेपाल
काठमाडौँ, ७ मङ्सिर। काठमाडौँको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ । दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप घटेन । कोरोना भाइरस (कोभिड–१९)को चाप बढ्दै गएपछि जेठो अस्पताललाई कोभिड अस्पतालको समेत जिम्मेवारी थपिएपछि त्यहाँ बिरामी आउने क्रम दोब्बर भएको हो । आकस्मिक कक्षमा त झनै बिरामीको चाप बढ्दो छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दो रहेकाले वीर अस्पतालको आकस्मिक कक्ष बिरामीको रोजाइ हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले कोभिडमा गुणस्तरीय सेवा सञ्चालन गर्न अन्य सेवासँगै आकस्मिक सेवालाई निरन्तर र चुस्त राख्न बारम्बार निर्देशन दिइरहेको छ ।

कोभिडका कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने हुन्छ भने कतिपयलाई आकस्मिक कक्षमै उपचार गर्नुपर्ने हुन्छ । सोहीअनुसार सकेजति सेवा प्रदान गरिएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी बताउनुहुन्छ । सार्वजनिक, व्यक्तिगत र साप्ताहिक बिदा समेत नलिएर आकस्मिक सेवा आमनागरिकलाई उपलब्ध गराइएको छ । कुल ४३ शय्या रहेको वीरको आकस्मिक कक्ष उहाँले भन्नुभएझैँ शुक्रबार अत्यधिक बिरामीले भरिएको थियो । अझै थप बिरामीको ओहोरदोहोर चलिरहेको थियो ।

वीर अस्पतालका चिफ कन्सल्ट्यान्ट तथा आकस्मिक सेवा विभागका प्रमुख डा. विष्णुबहादुर बस्नेतका अनुसार रातो, पहेंलो र हरियो ब्लक बनाएर आउने बिरामीको अवस्था हेरेर व्यवस्थापन गरिन्छ । मेडिकल कन्सल्ट्यान्ट, चिफ मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, ‘डिउटी’मा खटिने पारामेडिक्स र नर्सहरू दिनरात बिरामीको सेवामा खटिने गरेका छन् । सेवालाई व्यवस्थित बनाउन खटिनेहरूको नामावलीसहितको विवरण हरेक दिनजसो नै अद्यावधिक गरिन्छ ।

सेवा सहज र राम्रो बनाउन बिहान, दिउँसो र राति तीन सिफ्टमा कामको खटनपटनको व्यवस्था गरिएको छ । जसमा अनिवार्य रूपमा मेडिकल अफिसर र पारामेडिक्स र नर्स रहन्छन् । ‘डिउटी’मा रहेकालाई अप्ठ्यारो परेमा ‘अनकल’ नर्स र चिकित्सकको अत्यावश्यक सेवाको व्यवस्था मिलाइएको छ । “उहाँहरूले अप्ठ्यारो पर्दा फोन गर्नुहुन्छ, अनि आउन सक्ने भएमा फोन गर्नुहुन्छ, जसअनुसार अनकल र नियमित डिउटी साटफेर हुन्छ”, उहाँले थप्नुभयो । साथै आपत्कालीन समयमा समेत अनकल चिकित्सक सक्रिय रहन्छन् । कुन बिरामीको अवस्था के छ र कसरी उपचार गरिने भन्ने सल्लाह अनकल चिकित्सकले दिएपछि सोही अनुसार काम चल्छ ।

निरन्तरको डिउटीमा रहेकाको हकमा भने दैनिक कार्यतालिका अनुसार नै काम हुने गर्छ । आकस्मिक सेवाकै लागि १२ जना स्टाफ नर्स खटाइएको छ । बिरामीको प्रारम्भिक अवस्था जाँच्ने, नसा खोल्ने, औषधि र अक्सिजन चढाउने काममा चिकित्सकलाई सघाउने काम गर्नुहुन्छ । कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी आकस्मिक कक्षमा काम गर्ने सबैलाई घर पुर्याउने र ल्याउने व्यवस्था मिलाइएको छ ।

कार्यरत नर्सहरूका अनुसार पनि काम गर्दा अहिले समस्या छैन । रातमा काम करिब १२ घण्टा काम गरेपछि अर्को दिन उसका लागि बिदा हुन्छ । तेस्रो दिन रातिमा मात्र उसले काम गर्न आउँछ । माइनर ओटी र ट्रमा सेन्टरमा पनि अन्य केही बिरामी र हाड भाँचिएका बिरामीको व्यवस्थापन गरिने भएकाले सहज छ । आकस्मिक सेवा लिन आउनेका लागि छुट्टै एक्सरे सेवा, ल्याब सेवा निःशुल्क गरिन्छ ।

वीर अस्पताल दुई महिनाअघि कोभिड अस्पताल बनेको हो । कोभिड लागेको हो भनेर सुरुवातमा बिरामी चिनिँदैन । भयग्रस्त अवस्थामा कोभिड लागेको शङ्कास्पद बिरामी जाँच्न चिकित्सक डराउने अवस्था थियो, विस्तारै सहज भएको छ । आएका शङ्कास्पद बिरामीको पीसीआर निःशुल्क हुन्छ । पीसीआर गरेपछि आकस्मिक कक्षको एककुनामा रहेको छुट्टै पाँचवटा आइसोलेसनको शय्या राखिन्छ । पोजेटिभ आएको खण्डमा अस्पतालको अर्को खण्डमा व्यवस्था गरिएको शय्या सारेर उपचार गरिन्छ । “उपचार नपाएर फर्कनुपर्छ भन्ने सुनेको थिएँ तर त्यस्तो रहेनछ”, तराईबाट आकस्मिक कक्षमा उपचार गराउन आइपुगेका एक बिरामीको भनाइ छ ।

आफू बच्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसारका सुरक्षा विधि अपनाएर चिकित्सक र स्वास्थ्यकर्मीले काम गर्ने गरेको बस्नेतले जानकारी दिनुभयो । खोप र उपचारको खास विधि उपलब्ध नभएकाले चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षाका उपाय अपनाउनुको विकल्प छैन । पीपीई, ग्लब्स, सेनिटाइजर, एननाइन्टी मास्क, भाइजरको निरन्तर प्रयोगसँगै बेलाबेलामा साबुनपानीले हात धुने गरिएको छ । “कोभिड लागेका बिरामी आएमा दुरदुर गर्दैनौँ, पीसीई लगाएरै उपचार गर्छौं र ज्यान बचाउँछौँ’’, उहाँले थप्नुभयो । चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड सङ्क्रमण भइहालेमा १३ दिनसम्म अलग्गै आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको छ । त्यसपछि थप एक हप्ता घरमा आराम गरेपछि बल्ल काममा आउन पाइन्छ । कोभिड अस्पताल बनेपछि परीक्षण कक्ष बनाउने विषयमा अस्पतालले स्थान अभाव खेप्नुपरेको छ । विगत केही समयअघि चार जना चिकित्सकले काम छाडेकाले चिकित्सकको अभाव समेत देखिएको छ ।


परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आकस्मिक कक्षमा पनि महिला बिरामीको अत्यधिक चाप छ । गर्भवतीदेखि बच्चा जन्माउने समय पुगेका महिलाको भीड हरेक दिन हुने गरेको छ । शनिबार पनि आकस्मिक कक्षमा आउनेको भीड उस्तै थियो । आएका बिरामीलाई सेवा दिन सुरक्षा अपनाउँदै स्वास्थ्यकर्मी निरन्तर खटिरहेका भेटिए ।

अत्यधिक चाप रहने शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आकस्मिक कक्ष उस्तै व्यस्त छ । नयाँ बिरामीलाई बेड पाउनै गाह्रो छ । सातवटा भेन्टिलेटरमा सधैँजसो बिरामी रहने गरेका छन् । निःशुल्क सुविधा पाइने भएकाले पनि अत्यन्त भीडभाड रहने गरेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताउनुभयो । चौबिसै घण्टा खुला रहने आकस्मिक सेवा सक्रिय छ । शङ्कास्पदले लक्षण बताउँदै फोन गरेपछि परीक्षण गरिन्छ । त्यसपछि जटिल रहेमा आईसीयूमा भर्ना गरिन्छ नत्र आइसोलेसनमा पठाइन्छ । त्यो पनि नभएमा आकस्मिक कक्षमै भए पनि राखिन्छ ।

“निको हुनेले चाँडै शय्या छाडिदिए हुने, अनि हुने खानेले थोरै भए पनि शुल्क बुझाए नहुनेलाई सहज हुने थियो”, उहाँले भन्नुभयो । सबै भेन्टिरलेटर एकैचोटि सञ्चालनमा रहँदा स्वास्थ्यकर्मीको अभाव हुने गरेको उहाँ बताउनुहुन्छ ।

राजधानीमै रहेको काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षमा व्यवस्थित सेवा दिइरहेको अस्पतालका सञ्चार संयोजक दीपक बस्नेतले जानकारी दिनुभयो । “चौबिसै घण्टा चिकित्सक र नर्सहरू अलर्ट रहेर काम गरिहेका छौँ, अझ क्यान्सर देखिने बिरामीलाई राम्रो सेवा दिनका लागि क्विक एक्सन टिम खटाइएको छ”, उहाँले भन्नुभयो । जसका कारण अन्यत्र उपचारका प्रक्रियाका लागि सघाउने गरेको छ । पीसीआर परीक्षणका लागि छुट्टै काउन्टर रहेकाले आकस्मिक कक्षमा चाप कम छ । गोरखापत्र अनलाइनबाट।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *