• आइतबार, ११ मङ्सिर, २०७९
  • ११:४८:००

मधेस प्रदेशका ८ जिल्लामा कुन दलको अवस्था कस्तो छ ? 

  • Netizen Nepal
  • बुधबार, ७ मङ्सिर, २०७९- १०:०५:००/ Wednesday 11-23-22

नेटिजन संवाददाता 
काठमाडौँ, ७ मङ्सिर । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी मंगलबार दिउँसो धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र नं ४ मा मतगणना सुरु भएसँगै प्रदेशका सबै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ ।  

मधेस प्रदेशका धनुषा, सप्तरी, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी र बारासहित सबै जिल्लामा चार–चारवटा प्रतिनिधिसभा र आठ–आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।  

निर्वाचन आयोगको पछिल्लो जानकारीअनुसार यहाँका ३२ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस शिर्ष स्थानमा रहेको छ । त्यसपछि नेकपा (एमाले) र स्वतन्त्रका उमेद्वार तेस्रो स्थानमा रहेका छन् ।  

नेपाली कांग्रेसले एक स्थानमा जित हाँसिल गरिसकेको छ भने ८ क्षेत्रमा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसबाट सिरहा–१ मा पदमनारायण चौधरी, रौतहट–४ मा देवप्रसाद तिमलसेना, महोत्तरी–४ मा महेन्द्रकुमार राय, सप्तरी–३ मा दिनेशकुमार यादव, सप्तरी–४ तेजुलाल चौधरी, पर्सा–२ अजयकुमार चौरसिया, पर्सा–३ सुरेन्द्रकुमार चौधरी र , धनुषा -२ मा रामकृष्ण यादव अगाडि हुनुहुन्छ । पर्सा–४ मा रमेश रिजाल ३१ हजार १ ४२ मतसहित बिजयी भइसक्नुभएको छ ।   

एमालेका ७ उम्मेदवारले पनि प्रदेशका विभिन्न आठ क्षेत्रमा अग्रता लिइरहेका छन् । यहाँ एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, धनुषा–२ मा उमाशङ्कर अरगरिया, धनुषा–४ रघुवीर महासेठ, सिरहा–३ मा लीलानाथ श्रेष्ठ, बारा–१ मा अच्युतप्रसाद मैनाली र ३ मा ज्वालाकुमारी शाह र महोत्तरी–१ मा लक्ष्मी काइतो कोइरी अगाडि हुनुहुन्छ ।
 
यसैगरी माओवादी केन्द्रका दुई उम्मेदवारले अग्रता लिइरहनुभएको छ । सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्रराय यादव, सर्लाही–३ मा नरेन्द्र साह कलवारले अग्रता लिइरहनुभएको हो ।  एकीकृत समाजवादीबाट पनि रौतहट–१ मा पार्टी अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नं ४ एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ अगाडि हुनुहुन्छ ।
 
मधेस आन्दोलनका मुख्य दलहरूमध्ये जनता समाजवादी पार्टी (जसपा)बाट सिरहा–४ वीरेन्द्रप्रसाद महतो, सप्तरी–१ मा नवलकिशोर साह सुडी, पर्सा–१ मा प्रदीप यादव, धनुषा–१ मा दीपक कार्की र बारा–३ मा रामबाबुकुमार यादवले अग्रता लिइरहनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ रामप्रकाश चौधरीले अग्रता लिइरहनुभएको छ । यसैगरी, सिरहा २ मा जनता समाजवादी नेपालका उमेद्वार राजकिशोर यादव र सप्तरी १ बाट नवलकिशोर शाह अगाडी हुनुहुन्छ ।  
 
मधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पाँच जना स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहनुभएको छ । महात्तरी–३ मा रामआधार कापर, रौतहट–२ मा किरणकुमार साह, रौतहट–३ मा प्रभु साह, सर्लाही–४ मा अमरेशकुमार सिंह र बारा–२ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव अग्रस्थानमा हुनुहुन्छ । 

सप्तरी २ मा जनमत पार्टीका उमेद्वार सिके राउतले जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवलाई झन्डै १४ हजार मतले पछि पार्दै अग्र स्थानमा हुनुहुन्छ ।