• शनिबार, ८ बैशाख, २०८१
  • ०९:५१:५५

सप्तरीबाट प्रतिनिधिसभामा कांग्रेस, जनमत र जसपा 

  • Netizen Nepal
  • शनिबार, १० मङ्सिर, २०७९- १०:२९:००/ Saturday 11-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १० मङ्सिर । चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एक÷एक सिट जितेका छन  । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २३ हजार चार सय ९१ मत प्राप्त गरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका चौधरीले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । तत्कालीन राजपाका मृगेन्द्रसिंह यादवलाई पराजित गर्दै २४ हजार एक सय १३ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको थियो । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।  

क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसकै उमेदवार दिनेशकुमार यादव २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सप्तरी–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत विजयी हुनुभएको छ । जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गर्नुभयो । 

जसपा अध्यक्ष यादवको भन्दा राउतले १८ हजार ६३ मत बढी ल्याएर विजयी हुुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार नवलकिशोर साह सप्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । जसपाका साहले २३ हजार पाँच सय ६४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गर्नुभयो । सप्तरीमा आठवटा प्रदेशसभा सदस्य सिट रहेकोमा यसको पनि मतगणना सकिएको छ । अन्तिम मतपरिणामअनुसार प्रदेशसभा १ को (१) मा एमालेका राजकुमार लेखी र (२) मा जनमतका सकिल मियाँ, प्रदेशसभा २ को (१) मा जनमतका सतिशकुमार सिंह र (२) मा जनमतकै महेशप्रसाद यादव निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।
   
यस्तै प्रदेशसभा ३ को (१)मा कांग्रेसका मोहम्मद समिम र (२) मा जनमतका शम्भुकुमार साह तथा प्रदेशसभा ४ को (१) मा एकीकृत समाजवादीका गोविन्द न्यौपाने र २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धप्रसाद सिंह निर्वाचित हुनुभएको हो ।
    
सप्तरी निर्वाचन क्षेत्र नं १ मा एक लाख १३ हजर नौ सय ९५ मतदाता रहेकोमा ७४ हजार ५५३ मत खसेको थियो । सप्तरी क्षेत्र नं २ मा भने ९५ हजार तीन सय ९४ मध्ये ६४ हजार दुई ७७ मत खसेको छ र सप्तरी क्षेत्र नं ३ मा एक लाख चार हजार आठ सय ९२ मतदाता रहे पनि ७१ हजार तीन सय ३१ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै सप्तरी क्षेत्र नं ४ मा भने एक लाख चार हजार आठ सय ९३ मतदाता रहेको भए पनि यस क्षेत्रमा ६९ हजार ३९ मत खसेको थियो ।