ओहो ! खाना पनि देब्रे हातले खान्छौ ?
- गीता अधिकारी
- शुक्रबार, २२ पौष, २०७९- १३:३६:००/ Friday 01-06-23
सानोमा एकदिन आफन्तको घरमा पाहुना लाग्न गएकी थिएँ । त्यहाँ अरु मानिसहरु पनि टन्नै थिए । खाना खाँदै गर्दा एकजनाले प्वाक्क भनिहाले, 'ओहो ! नानी देब्रे हातले पो ?
'हजुर' भन्दै मैले मुन्टो हल्लाएँ ।
'अरु जे गरे पनि देब्रे हातले खाना खानैचाहिँ हुँदैन भो', अर्का मानिसको छुच्चो मुख चलिहाल्यो ।
'मेरो बच्चालाई त पिटेर भए पनि दाहिने हातले नै खाना खान सिकाएकी छु', अर्को व्यक्तिले आफ्नो महानता प्रदर्शन गर्दै भने ।
'आ ! बच्चा त हो नि । जुन हातए खाए नि के हुन्छ र ? पछि आफैं बुझेर दाइने हातले भात खाइहाल्छन् नि', अर्कोले मेरो पक्ष लिएर बोले ।
सुरुमा ओहो भन्नेले थप्दै भने, 'होइन भो, आची धुने हातले त के भात खानु ?'
यो खैलाबैला म वर्षौंपछि सम्म पनि सम्झिरहन्छु। तर जबजब खाना खाने बेला 'ओ हो देब्रे हात पो ?' भन्ने प्रश्न आउँछ । मलाई फेरि त्यहि कुरा याद आइहाल्छ ।
मानिससँग दुईटा हात हुन्छ। महाकालीको जस्तो दशओटा हुँदैन । दुईटा हातमध्ये जुन चलाउन मन लाग्यो त्यो चलाउन पाइयो नि । नचाहिने सवाल जवाफ र रमिता किन लगाउनु परेको होला ? फेरि यो हात अरु कसैको होइन मेरै हो । आफ्नो आफ्नो हात, आफ्नो आफ्नो चलन होइन र ?
सानैदेखि मलाई देब्रे हात चलाउन सजिलो लाग्छ । कतिले 'लेफ्टि' पनि भन्छन् । विश्वमा जम्मा १२ प्रतिशत मानिस लेफ्टी हुन्छन् रे । त्यहि १२ प्रतिशतभित्र पर्छु र हो कि सबैले 'ओहो, देब्रे हात पो ?' भनेका । हुलमुलमा मानिसले जे गर्छन् अरुले पनि त्यहि सिको गर्छन् । थोरै मानिसले त्यो कुरा स्वीकार गरेनन्, या गर्न सकेनन् भने उनिहरु एक्लिनुपर्छ। या त्यो भिडकै भिडभाडमा जबर्जस्ती मिसाइन्छ । हो, देब्रे हात चलाउनेहरुलाई पनि त्यसै गरियो । ८८ प्रतिशत भिडले उनीहरुलाई चेपुवामा पारिरह्यो । त्यसैले नै देब्रे हातले खाना खाने बच्चाले जबर्जस्ती दाहिने हातले खाना खाने बन्न बाध्य हुनुपर्यो ।
मलाई सबैभन्दा मन नपर्ने देब्रे हातसम्बन्धि सार्वजनिक शब्द के हो भने, 'आची धुने हातले के खाना खानु ?'
देब्रे हातले नै आची धुनुपर्छ भनेर कसले नियम बनायो ? आची धुन दाहिने हातले नि मिल्छ । नपत्याए, धोएर हेर्नु ।
अझ समस्या आचिकै हो भने खाना खाएपछि नै आची बन्छ । कि आची सफा गर्ने हात बिटुलो हुन्छ भने आची उत्पादन गर्ने पेटलाई के गर्नुहुन्छ ? कुरा काट्न सजिलो छ, गहिराईमा गएर सोचियो भने दाहिने वा देब्रे हात समस्या होइन, हाम्रो सोचमा समस्या छ ।
मेरो आमा बा दुवैजाको देब्रे हात धेरै चल्छ । आमाले त खाना पकाउने, पस्कनेदेखि खानेसम्म देब्रे हातले नै गर्नुहुन्छ । त्यसैले पनि होला, मलाई देब्रे हातले खाना खाएबापत कहिल्यै सजाय भएन । कम से कम, हात चलाउने स्वतन्त्रताबाट बन्चित हुनुपरेन ।
बेला बेला मेरा आफन्तहरुले भनिरहन्थे, 'छोरीलाई दाहिने हात चलाउन सिका है । अहिले त सानै छे, पछि बिहे गरेर गएपछि पनि देब्रे हातले नै खाना खान्छे ?'
'सानै छे, बिस्तारै सिकिहाल्छे नि', उहाँले मुस्कुराउँदै जवाफ दिनुहुन्थ्यो ।
'बिहे गरेसी नि देब्रे हातले नै खाना खान्छे, मैलेजस्तै । मेरो त चलिरहेको छ । उसको पनि चल्छ । केहि फरक पर्दैन', आफन्त गएपछि आमा एक्लै फत्फताउनुभयो ।
मलाई भित्रभित्रै हाँसो लाग्यो । अनि आमाको फतफतबाट यहि सिकें कि, 'खाना जुन हातले खाए पनि हुन्छ । बस्, पेट भरिनुपर्यो ।'
एकछिन खानसानाको कुरा छोडौं न है । अब राम्रो कुरा गरौँ । देब्रे हात चलेको देखेर मेरो तारिफ पनि धेरैले गरेका छन् । 'देब्रे हात चल्ने मान्छे त क्षमतावान हुन्छन् रे नि त ?', हो यसो भन्नु नि बरु ।
हात चलेकै भरमा 'ट्यालेन्सी'को 'ट्याग' भिराइदिनु कतिको उचित हो ? यो कुरा त पछि सोच्दै गरौंला । तर अरुको मुखबाट आफ्नो तारिफ सुन्दा त मन पनि चंगा हुने ।
मख्ख पर्न छोडेपछि सोच्छु, 'साँच्ची, ममा के क्षमता छ ?'
अनि आफ्नै मनलाई उत्तर दिन्छु, 'देब्रे हात चलाउने क्षमता छ नि ।'