• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:५५:०३

यो देश कसले चलाउँन सक्ला ?

  • Netizen Nepal
  • बिहीबार, १२ माघ, २०७९- १६:१३:००/ Thursday 01-26-23

रीता थपलिया 
काठमाडौं,१२ माघ । गएको मंसिर ४ मा भएका निर्वाचनले जनप्रतिनिधि छनौटमा उलटपुलट ल्याएको छ । सधैभरी सबै नेतालाई धारे हात लगाएर सराप्ने र धावा बोल्ने रवि लामिछाने देखि सरकारी कार्यालयमा गएर छापा मारेर सरकारी कर्मचारीको सातो खाने ज्ञानेन्द्र शाहीहरु समेत निर्वातिच भए । उनिहरु जनप्रतिनिधि छानिएर आएपछि सामाजिक संजालमा एउटा यस्तो बाढी आयो कि अब यो देशले खोजेको मान्छे पायो, अब देश यिनिहरुले चलाउँछन् ।  त्यति मात्र होइन, रवि लामिछाने त एकाएक उपप्रधान तथा गृहमन्त्री भए । ज्ञानेन्द्र शाहीको पार्टीले पनि उपप्रधानमन्त्री सहित राम्रै भागबण्डा पायो । त्यसपछि सामाजिक संजालमा अर्को  छाल आयो “अब चाहिं साँच्चै देश चल्छ ।” 
उता भरखर मात्र सरकारमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका  व्यक्तिहरुबाट भयंकर ठूलो परिणाम  आउँने आशा गरिरहेका बेला उक्त पार्टीकै नेता रवि लामिछाने माथि गम्भिर आरोप मात्र होइन सत्तोसराप आइलागेको छ । पहिलो कुरा त उनको नागरिकता र राहदानी प्रकरण छताछुल्ल भएको छ । यसले उनको नैतिकताको धरातल स्वात्तै घटेको छ । यो घटनाले रवि ओइलाएका छन् । अर्को कुरा उनैले नियुक्त गरेका श्रम मन्त्री म्यानपावर व्यवसायी भएको र उनी आबद्ध रहेको कम्पनीविरुद्ध नै उजुरीहरु रहेको घटना बाहिरियो । यो घटनाले रविको प्रतिरक्षा शक्ति घटेर गयो ।  देश हामी चलाउँछौ भनेर आएका रवि र देश रविले चलाउछँन् भन्नेहरुले  रवि मन्त्री भएको एक महिनामा नै निन्याउरो अनुहार लगाउँन थालिसके ।  
उता आफूलाइ इमान्दार प्रस्तुत गर्न आमाको रगतको कमस खाने गरेका राजेन्द्र लिंगदेन सत्ताको चास्नी पाउँनेवित्तिकै सिद्धान्तलाई पाखा लगाएर सरकारमा हाम फालिहाले । त्यति मात्र होइन भ्रष्टाचारको मुद्धा खेपिरहेका निर्माण व्यवसायी पृष्ठभूमिका विक्रम पाण्डेलाई पनि मन्त्री बनाएरै छाडे । पार्टीभित्रै तिब्र आलोचना हुदा पनि पाण्डेलाई च्यापेर उनि सिंहदरबार छिरे । यो अवस्था आएपछि हिजो देश हामी चलाउँछौ भनेर गर्जिएका ज्ञानेन्द्र शाही देखि रविन्द्र मिश्रहरु पनि सायद हार खाइसके कि अब देश राप्रपाले पनि चलाउँन सक्दैन भनेर । 

प्रेम आचार्यले उल्लेख गरेका तथ्यले यो देखाउँछ कि राज्यले यस्तो अप्ठ्योरोमा परेका व्यक्तिलाई कुनै पनि सहयोग गर्न सक्दैन, मात्र देश चलाउँछु भन्छ । यदि देश चलेको हुदो हो त आचार्यले यी समस्याको समाधानका लागि सहयोग गर्न सरकार समक्ष जाने थिए होला ।

देश चलाउँन सक्ने आशा गरिएका र जनतासंग विश्वास जितेका व्यक्ति सत्तामा आइसकेपछिको पछिल्ला परिदृश्यहरुले देश यिनिहरुले पनि चलाउँन सक्दैनन् कि क्या हो भन्ने त्रास धेरैको मनमा छाइसक्यो । 
माघ १० गते मंगलवारका  दिन संसद भवन अघि आत्म दाहको प्रयास गरेका एक युवा व्यवसायी प्रेम आचार्यको अस्पतालमा मृत्यु भयो । उनले सामाजिक संजालमा पोष्ट गरेको पत्रमा मृत्युको बाटो रोज्नुको कारणहरु खुल्ने प्रसस्त तथ्यहरु उल्लेख गरेका छन् । जस्तो कि व्यवसाय गर्न महंगो ब्याजमा ऋण लिनु परेको र सो ऋण तिर्न नसकिएको, सरकारलाई तिर्नुपर्ने करलगायतको बोझ धान्नै नसकिएको, पर्यटन व्यवसाय गर्दा आफूले पाउँनु पर्ने रकम कलेजहरुले नदिएर गद्धारी गरेको, अन्य व्यवसाय गर्दा पनि बजारबाट आफ्नो पैसा उठाउँन नसकिएको आदी ।

प्रेम आचार्यले उल्लेख गरेका तथ्यले यो देखाउँछ कि राज्यले यस्तो अप्ठ्योरोमा परेका व्यक्तिलाई कुनै पनि सहयोग गर्न सक्दैन, मात्र देश चलाउँछु भन्छ । यदि देश चलेको हुदो हो त आचार्यले यी समस्याको समाधानका लागि सहयोग गर्न सरकार समक्ष जाने थिए होला । सायद उनलाई सरकारप्रति विश्वास थिएन होला सरकारले जनताका लागि काम गर्छ भन्ने बारेमा । अब कुरो उठ्छ गृह मन्त्री रवि लामिछानेले हिजो चर्को स्वरमा भन्ने गरेको कुरा हो कुनै पनि युवालाई कामका लागि विदेश जानु पर्दैन, यहि देशमा अवसर प्राप्त हुन्छ । अब देशको उपप्रधान तथा गृहमन्त्रीले आचार्य मृत्यको घटनालाई के भनेर जवाफ देलान् ? कि उनि चुपचाप बसिरहलान् ? 

अर्को कुरा एम्बुलेन्समा राखेर अस्पताल लगिदै गरेका प्रहरीलाई  एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरो लागेका व्यक्ति सांसदको रुपमा खुलेआम सदनमा उपस्थित भएका छन् र रवि लामिछाने राजेन्द्र लिंगदेनको सरकारलाई विश्वसको मत दिइरहेका छन् । तर यस्ता व्यक्तिलाई ”सरकार चलाएका छौ“ भन्ने रविहरु पक्रन सक्दैनन् र लाचार बनेर विज्ञप्ती निकाल्छन् । फेरी प्रश्न रविले पनि चलाउँन नसक्ने देश कसले चलाएको छ ? 

अहिले सरकार यस्तो कमाण्डरको नेतृत्वमा छ कि जसले १० वर्षे जनयुद्ध हाँकेका थिए । जनयुद्धताका यो देश अरुले चलाउँन सकेनन् माओवादीले नै चलाउँन सक्छ भन्दै बन्दुक पड्काउँने प्रचण्ड अहिले सत्ताको बागडोर सम्हाल्दै गर्दा देश चलाएको अनुभूति कति मानिसले गरेका  होलान् ? सायद उनकै आदेश मानेर बन्दुक पड्काएका कति लडाकुलाई पनि देश चलाएको अनुभुति भएको छैन होला । 
वि.स. २०६४ सालतिर यस्तै छाल र तरंग तत्कालिन नेकपा माओवदी  शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधान सभाको निर्वाचनमा पनि आएको थियो । त्यतिखेर नेकपा माओवादीले निर्वाचनमार्फत नसोचेको सिट हासिल गरि सबै भन्दा ठूलो दल बनेको थियो । त्यो  माहोल देखेर धेरै नागरिकहरुले उत्साह ब्यक्त गर्दै भनेका थिए “अब देश चल्छ ।” तर नेकपा माओवादीबाट देश चल्न सकेन भनेर हार खानेहरुको संख्या उत्कर्षमा पुग्यो । परिणामस्वरुप माओवादी पार्टी  किनारा लाग्दै गयो र हरेक निर्वाचनमा अरुको फेरो समाप्दै खोला तर्दै गर्नु परेको छ । 

हिजो राणाले देश चलाउँन सकेनन् भनेर कांग्रेसले क्रान्ति गर्यो अनि राणा शासन फाल्यो । तर करिव १० वर्षको परिक्षणपछि राजा महेन्द्रलाई कांग्रेसले देश चलाउँन सकेको अनुभूति भएन र उनले जननिर्वाचित सरकारलाई प्रजातन्त्र समेत नरहने गरी अपदस्त गरे । त्यसपछि देश राजाले चलाउँछन् भनेर निरंकुश पंचायती व्यवस्था शुरु गरे । यो व्यवस्था करिव ३० वर्ष त टिक्यो । तर फेरी कांग्रेस र कम्युनिष्टलाई पंचायतले पनि देश चलाउँन सकेन भन्ने लाग्यो र पंचायतविरुद्ध आन्दोलन गरी प्रजातन्त्र ल्याए । उनिहरुले केहि वर्ष देश चलाए । त्यसको करिव पाँच वर्षमै माओवादीलाई कांग्रेस एमालेले देश चलाउँन नसकेको अनुभूति भयो र जनयुद्ध शुरु भयो । यस जनयुद्धको विचमा सत्तावाला पक्षहरु राजा, राजनीतिक दलकावीचमा पनि देश चलाउँने अनेक परिक्षणहरु भए । तर ती परिक्षणहरु पनि सफल भएनन् । 

हत्याको आरोप लागेका व्यक्तिहरु पक्राउ नपर्नु, बलात्कार पछि हत्य गरिएका  बालिकालाई न्याय देउ भनेर सडकमा उत्रिदा पक्राउ गर्ने, प्रेम आचार्य जस्ता युवा उद्यमीले मेहनत गर्दागर्दै पनि जीवनदेखि हार खाएर आत्म हत्याको बाटो रोज्नु पर्ने घटनाले के संकेत र सन्देश दिन्छ ? के देश चलेको छ ? के देश चल्छ भन्ने विश्वास आम मानिसहरुमा छ ?

यसवीचमा आमोवदी देश चलाउँने आँट, भरोसा, वाचाको पोको बाकेर आयो । माओवादी शान्ति प्रक्रियामा आएर सत्ता चलाएको पनि डेढ दशक नाघ्यो । अहिले त उसकै नेतृत्वमा सरकार चलेको छ । तर के जनतालाई देश चलेको अनुभुती भएको छ त ? वा माओवादीले देश चलाउँछ भन्ने विश्वास जागेको  छ त ? अहिलेको सरकारमा अहिलेको व्यवस्थाविरोधी राप्रपा, सिद्धान्त र व्यवस्थाको निधो नभएको रवि लामिछानेको पार्टी देखि अहिलेको व्यवस्थासहितको संविधान बनाउँन भूमिका खेलेको प्रमुख दलमध्येको एमाले देखि सनातिना दलहरु समेत संलग्न छन् । सबैभन्दा ठूलो पार्टी कांग्रेसले समेत अहिलेको सरकारलाई विश्वासको मत दिएको हुदा करिव सबै दल तथा साँसदको विश्वास रहेको अहिलेको सरकारले देश चलाउँछ भन्ने जनविश्वास चाहिं कति छ त ? यसको जवाफ पाउँने ठाउँ पनि कतै भेटिदैन । त्यसो भए देश कसले चलाउँन सक्छ त ? 

हत्याको आरोप लागेका व्यक्तिहरु पक्राउ नपर्नु, बलात्कार पछि हत्य गरिएका  बालिकालाई न्याय देउ भनेर सडकमा उत्रिदा पक्राउ गर्ने, प्रेम आचार्य जस्ता युवा उद्यमीले मेहनत गर्दागर्दै पनि जीवनदेखि हार खाएर आत्म हत्याको बाटो रोज्नु पर्ने घटनाले के संकेत र सन्देश दिन्छ ? के देश चलेको छ ? के देश चल्छ भन्ने विश्वास आम मानिसहरुमा छ ? के देश चलाउँन सक्छु भन्ने आत्मविश्वास रवि लामिछानेहरुलाई छ ? यसको जवाफ चाहिएको छ । देश चल्ने भनेको के हो ? देश चलाउँने कसरी हो ? देश चलाउँन के चाहिन्छ ? देश चलेको अनुभूति नागरिक तहमा कहिले देखि हुन्छ ? यी प्रश्नहरु कहिले सोध्ने ? कसलाई सोध्ने, कसले सोध्ने, कतिपटक सोध्ने, कसरी सोध्ने ? अनि यसको जवाफ कसले दिने ? अनि नागरिकलाई चित्त बुझेन भने के गर्ने ? देश चलेको छैन सरकार मात्र चलेको भन्ने निष्कर्ष निकाल्ने ? मैले यि प्रश्नको चित्तबुझ्दो जवाफ भेट्न सकेको छैन ।  फेरी पनि प्रश्न उहि त्यसो भए “यो देश कसले चलाउँन सक्ला ?”