हामी विवेकी कहिले बन्ने ?
- Netizen Nepal
- सोमबार, १६ माघ, २०७९- १७:५६:००/ Monday 01-30-23
उत्तम विचार
भनिन्छ, 'विपद बाजा बजाएर आउँदैन ।' २०७८ को असार १ गते त्यस्तै नै भयो । मेलम्ची खोला आफ्नै धुनमा सुसाइरहेको थियो । सधैंको बर्खामा जस्तै त्यो रात पनि पानी दर्कीरहेकै थियो । मेलम्चीबासीको दिनचर्या उस्तै थियो । मेलम्ची बजार मिठो सपनामा डुबिरहेको बेला एउटा नमिठो घटना घट्यो । सपनाकै बेलामा घटेको घटना सपना भइदिए हुन्थ्यो नि । तर त्यो बिपना थियो । दिनरात जोडिएर परेको पानी र मेलम्ची खोलाले थेग्न नसकेको भेलले सबैलाई संगसंगै लिएर गयो । मर्ने, घाइते हुने देखी घरवारविहिन हुनेको सङ्ख्या देख्दा निकै हृदय विदारक अवस्था थियो त्यो ।
यी सबै घटनाहरूलाई नजिकबाट नियालिरको एउटा बुढो कमिलोले बाँच्न सफल मान्छेहरू मध्येका एकजना सञ्चमानसँग कुरा गर्दै भन्यो, 'तिमी मान्छेहरू नै उस्तो हो । हेर आफैं नदी हडपेर घर बनाउने अनि दोष दैवलाई लगाएर हुन्छ ? यी हामीले जस्तै नदी किनार भन्दा अलि पर बाढी नपुग्ने ठाउँमा घर बनाउनु पर्छ नि ।'
उक्त मान्छेलाई एक मनले यो कमिलोले ठिकै भन्यो जस्तो लाग्यो । अर्को मनले भने सानो भएर पनि ठुला कुरा गर्दो रहेछ भन्ने पनि लाग्यो । केहि बेर त आफ्नो गल्तिप्रति मानिसलाई ग्लानि पनि भयो । समय बित्दै गयो । घाउ पुरिंदै र पुरानो हुँदै गयो । बर्खा गयो र हिउँद लाग्यो । मान्छेले हिजोको बाढीको प्रकोप भुलेर फेरी घर टहरा ठड्याउँन थाले । कमिलो यी सबै घटनाको मुखदर्शक भइ बस्यो । कहिलेकाहीं त उसलाई लाग्थ्यो, 'यी मानिसहरुको चेत कहिले खुल्ने होला ?'
यसपाली पनि बर्खाले छोपेसँगै खोला किनारमा घर हुनेहरूको मनमा बाढीको त्रासले ढ्यांग्रो ठोक्न थाल्यो । यतिसम्म कि सञ्चमान डराएर पानी परेको रात 'लौ बाढी आयो सबैजना उठ हाम्रो घरबार सबै बगाउँछ', भन्दै बर्बराएको कुरा उस्कै घरका अन्य सदस्यले बुढो कमिलोलाई सुनाउँदै गर्दा उसको मनमा यस्तो आयो कि 'वनको बाघले खाओस् नखाओस् मनको बाघको डर !'
मानिसले प्रकृतिलाई कहिल्यै जित्न सक्दैन । त्यसैले प्रकृतिसंग जोरि खोज्नु भन्दा आफु सुरक्षित हुनु उपयुक्त हुन्छ । तर पछिलो समय मानिस यति ज्याद्रो भइसके कि उनीहरुलाई चोट लाग्दा मात्र दुख्छ, चोट लाग्नसक्छ भन्ने कुराले उनीहरुलाई छुंदैन । सर्वस्व स्वाहा हुनेगरि चोट लाग्दा न मानिसमा चेत रहन्छ न जीवन । त्यसैले, हामीले विवेकशील प्राणीको रुपमा आफ्नो अस्तित्व जोगाइराख्नका लागि आफ्नो बुद्धि र विवेकको प्रयोग गर्नु जरुरी छ ।
अर्ति तितो होला तर त्यो जीवनमा संजीवनी बुटीजत्तिकै उपयोगी हुन्छ । त्यसैले बुद्धि र विवेक ठुलासँग मात्र होइन सानासँग पनि लिने बानीको विकास गर्नु जरूरी हुन्छ । वास्तवमा मान्छे आफ्ना व्यवहारले पशुभन्दा तल गिर्दै गरेको अवस्थाको सिर्जना हुनु समाजको दु:खद पक्ष हो ।