• शनिबार, ८ बैशाख, २०८१
  • ०९:५३:०४

कठ्याँग्रिदो चिसोमा भूकम्पपिडीतको बिचल्ली 

  • Netizen Nepal
  • बुधबार, १८ माघ, २०७९- ११:५५:००/ Wednesday 02-01-23

नेटिजन संवाददाता 
काठमाडौँ, १८ माघ। गत मङ्गलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे पाँच दशमलव नौ रेक्टरस्केलको भूकम्प गयो । भूकम्पले गर्दा एक जनाको मृत्यु भयो भने चार जना घाइते भए । जिल्लामा छ सय बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो ।

गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको स्थलगत रिपोर्टिङमा देखियो । न खाने गाँस न त बस्ने बास नै छ । घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेतका सकेका छैनन् ।

यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ । सबै घर बस्नलायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । उक्त गाउँपालिकामा एक हजार छ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ । पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन् । उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र भने धुजाधुजा भएको गीता रोकायाले बताउनुभयो ।  गौमुल–२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका वासिन्दा घरविहीन बनेका छन् । जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन् ।

त्यहाँका सबै वासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन् । जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका छ परिवार, गुम्फाकाँडा वस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार अहिले पालमा बस्दै आएको गौमुल गाउँपालिका–२ का वडा सदस्य प्रेम रोकायाले बताउनुभयो ।

“तीन वर्ष पहिले बाढी आउँदा खेतीयोग्य जमिन बगायो, पछि यहाँ आएर बसेका थियौँ, अब भूकम्पले न बस्ने घर रह्यो, न खाने जमिन रह्यो विस्थापितजस्तै बनियो, यो पाल हालेको ठाउँ पनि अरुकै जमिन हो”, जुरेलीका भक्त रोकाया भन्नुभयो ।

भूकम्पले एक सदस्य गुमेकाले पीडामा रहनुभएका भक्तका छ परिवार पनि विस्थापितजस्तै छन् । जमुना रोकायाको भूकम्पमा परी मृत्यु भएको थियो । घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लाग्दा उहाँको मृत्यु भएको थियो । भूकम्पपीडित पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन् ।

हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ  । भूकम्पपिडीतले एक साता बितिसक्दा पनि राहत साम्रगी नपाएको गुनासो गरेका छन् । उनीहरूलाई बिहान–बेलुकी हातमुख जोर्न धौधौ परेको छ । भूकम्पपीडित बिच्चलीमा हुँदा पनि सरकारको ध्यान नपुगेको स्थानीय धनलाल रोकायाले बताउनुभयो ।

भूकम्पबाट पीडित गौमुल गाउँपालिका–२ का वाससिन्दालाई बालबालिका र वृद्धवृद्धालाई बचाउन सकस परेको छ । भूकम्पले घरभित्र पस्न  नसक्ने गरी चर्किएकाले  चिसोबाट बालबालिका र वृद्धवृद्धा बचाउन सकस परेको आँगरका भूकम्पपीडित सीता चदाराले बताउनुभयो। 

भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उहाँको गुनासो थियो । चिसोबाट  सुत्केरी भएकी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको स्थानीयवासी गीता रोकायाले बताउनुभयो ।