• बिहीबार, १३ बैशाख, २०८१
  • ०१:४६:१५

गाउँ गाउँमा सिमेन्टको घर, हराउँदै खरको छानो

  • Netizen Nepal
  • शनिबार, २१ माघ, २०७९- ११:२९:००/ Saturday 02-04-23

नेटिजन संवाददता 
काठमाडौँ, २१ माघ । ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका चिटिक्कका घर । फराकिलो आँगन । करेसाबारीमा थरीथरीका तरकारी । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोट । गाउँको यो परम्परागत दृश्य हिजोआज हराउँदै गएको छ ।

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने  खरले छाएका घर लोप भएका छन् ।

डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे ।

रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको स्थानीय बूढापाकाको भनाइ छ । 

बेनी नगरपालिका–२ बगरफाँट, मालिका गाउँपालिका–७ विम, रघुगङ्गा गाउँपालिका–६ पाखापानीलगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङ्गका जस्तापाताले छाएका घर रङ्गीचङ्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छ । 

गाउँमा सडक आएपछि गाउँलेले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरुपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताउनुभयो । उपाध्यायले भन्नुभयो, “डेढदशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो थिएन, अहिले ती सबै घर लोप भइसके ।”

बेनी नगरपालिका–४ सिङ्गामा पनि करिब एक दशक अगाडिसम्म ढुङ्गे घर टन्नै थिए । अहिले ढुङ्गाका घरले भएका ठाउँहरूमा ठूलाठूला कङ्क्रिटका घर ठडिएका छन् । सडक सिङ्गामा नपुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय केशव पौडेलले बताउनुभयो ।

उहाँले गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहज रूपमा घर निर्माण गर्ने सामान ल्याउन सक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेको बताउनुभयो । पौडेलले यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको जानकारी दिनुभयो ।

विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिस सजग र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् । परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताइएको छ ।