• शुक्रबार, ७ बैशाख, २०८१
  • ०६:५६:२६

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा हुने 

  • Netizen Nepal
  • आइतबार, २२ माघ, २०७९- १४:१३:००/ Sunday 02-05-23

नेटिजन संवाददाता 
काठमाडौँ, २२ माघ। नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता चितवनको माडीमा हुने भएको छ ।

चितवन जिल्ला एथलेटिक्स सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी फागुन ११ देखि १३ गतेसम्म माडी नगरपालिकाको वसन्तपुर खेल मैदानमा राष्ट्रिय प्रतियोगिता हुन लागेको जनाएको हो ।

प्रतियोगितामा सात वटै प्रदेशबाट एक सय ३५ महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन् । प्रत्येक प्रदेशबाट हरेक विधामा दुई जना खेलाडी सहभागी हुने सङ्घका जिल्ला अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो ।

खेलाडीले २६ विधामा २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रथम हुनेलाई रू पाँच हजार, द्वितीय हुनेलाई रू तीन हजार र तृतीय हुनेलाई रू दुई हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीणस्तरमा खेलाडी उत्पादन गर्ने तथा खेललाई पर्यटन र विकाससँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न रू २७ लाख दुई हजार सात सय २० लाग्ने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद रू सात हजारसहित सम्मान गरिनुका साथै एक÷एक जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।