• शनिबार, ८ बैशाख, २०८१
  • ०५:४९:१४

चार पुस्तादेखि बाँदर धपाउँदै गुजारा चलाउने एउटा परिवारको कथा

  • Netizen Nepal
  • आइतबार, २२ माघ, २०७९- १८:०१:००/ Sunday 02-05-23

नेटिजन संवाददाता 
काठमाडौँ, २२ माघ। उमेरले ७० वर्ष टेकेका पश्चिम रुकुमका जीरभान कुमालको दैनिकी २० वर्षदेखि बाँदर धपाएरै बितिरहेको छ। मुसीकोट नगरपालिकाको सादनचौर र छिबाङज्युलामा किसानले लगाएका अन्नबाली, फलफूल र तरकारीलाई बाँदरबाट जोगाउन उनी दैनिक खेतबारीतिरै टहलिने र बाँदर धपाउने गर्छन्।

बाँदरले अन्नबाली, फलफूल र तरकारी खाएर हैरान बनाएपछि किसानहरू मिलेर उनलाई बाँदरको रेखदेख गर्न राखेका हुन्। बाँदर हेरे बापत ज्यालाको रूपमा मौसम अनुसार उनी धान, गहुँ, मकै लगायतका अनाज पाउँछन्।

गाउँलेले वर्षभरिमा दिने १५–१६ मुरी अन्नले घरखर्च चलाउन पुगेको जीरभानले बताए। उनले भने, "मेरो बस्ने घरबाहेक खेतबारी छैन। बाँदर हेरेको ज्यालाले नै अहिलेसम्म जीवन धानिरहेको छ।"

पश्चिम रुकुम जिल्लाकै उर्वर फाँट मानिने सादनचौर र छिबाङज्युला झन्डै ९० हेक्टरमा फैलिएको छ। यो फाँटमा करिब दुई सय घरपरिवारको खेतबारी भए पनि छेउतिर जग्गा पर्ने सय घर जतिले मात्रै जीरभानलाई ज्याला दिन्छन्।

"सबैले अनाज दिने भए खाइनसक्नु नै हुन्थ्यो होला। तर आधाले मात्रै दिँदा पनि वर्षभरि मज्जाले खान पुगेको छ," उनले भने। गाउँमा ‘बाँदर ग्वाला’ भनेर चिनिएका जीरभान बाँदर हेर्न थाल्नुअघि कमाइ गर्न कालापार (भारत) जान्थे। त्यतिबेला उतैको कमाइले आफूले परिवार पाल्ने गरेको उनी बताउँछन्।

जीरभानभन्दा अघि उनका काका कर्णबहादुर कुमालले बाँदर धपाउने काम गर्दै आएका थिए।

कर्णबहादुरका चारै पुस्ता (जिजुबाजे, बाजे, बुवा र उनी) ले बाँदर ग्वाला भएर काम गरेका थिए। ग्वाला अर्थात् गोठाला। कर्णालीमा भने गोठालाभन्दा ग्वाला शब्द बढी प्रचलनमा छ। तर २०५८ सालतिर कर्णबहादुरको निधन भएपछि गाउँलेले उनकै भतिजा जीरभानको काँधमा बाँदर हेर्ने र अन्नबाली जोगाउने जिम्मेवारी सुम्पेका थिए।

जीरभानले भने, "गाउँलेले बाँदर हेरालु हुन गरेको आग्रहलाई वर्ष दिनसम्म त मानेको थिइनँ। तर धेरै नै जोडबल गरेपछि बाँदर हेर्न थालेको हुँ।" दुई दशकयता उनको मुख्य पेसा नै अन्नबाली र फलफूलबाट बाँदर जोगाउने हो।

किसानले लगाएका अन्नबाली, फलफूल र तरकारीलाई बाँदरबाट जोगाउन दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आफू खटिने गरेको उनी बताउँछन्। अग्लो ढुङ्गामा बसेर बाँदरको गतिविधि निगरानी गर्छन्। सादनचौर र छिबाङज्युलाको बीचमा सानो छिबाङ खोला छ।

बाँदर लखेट्न उनले दिनमा कैयौँ पटक उक्त खोला वारिपारि गर्नुपर्छ। लखेट्दालखेट्दै पनि बाँदर बारीमा पसिहाल्छन्। दुई दशकदेखि बाँदर ग्वाला भएर काम गर्दै आएका जीरभानलाई देख्ने बित्तिकै धेरैजसो त बाँदर आफैँ पनि तर्किने गरेको उनको अनुभव छ। "तर अरूलाई भने बाँदरले टेर्दा पनि टेर्दैनन्," उनले भने।

कहिलेकाहीँ बिरामी पर्दा र बाँदरको रेखदेख धेरै गर्नुपर्ने बेला भने ६८ वर्षे श्रीमती कुमारीले उनलाई सघाउँछिन् । सानीभेरी नदीको किनारमा रहेको सादनचौर र छिबाङज्युला मुनितिर बाँदरलाई बस्न तथा लुक्न सजिलो ओडार र रूखहरू छन्। त्यो भएर बाँदरले बाह्रै महिना त्यो ठाउँलाई नछोड्ने भएकोले गाउँलेहरू बाँदरबाट अन्न जोगाउन सङ्घर्षरत हुन्छन्।

सत्तरी–असीवटा बाँदरको जत्थालाई हेर्न त्यति सहज नहुने उनी बताउँछन्। बाली पाक्ने, फलफूल र तरकारी लगाएको समयमा बाँदरले धेरै दुःख दिने भएकोले जीरभान बाह्रैमास व्यस्त हुन्छन्। सानो हेलचेक्रयाइँ गर्ने बित्तिकै बाँदरका हूल पसेर बाली नष्ट गर्ने भएकोले सधैँ चनाखो भएर बस्नुपर्ने उनी बताउँछन्।

कहिलेकाहीँ त हेर्दाहेर्दै पनि बाँदरले बाली नोक्सान गर्न भ्याइसक्ने र त्यस्तो बेला उनी जग्गाधनीलाई त्यसबारे जानकारी गराउँछन्।
सादनचौरका केशव ओली बाँदरबाट अन्न जोगाउन जीरभानलाई खटाएपछि आफूहरूलाई धेरै सजिलो भएको बताउँछन्। "बाँदर हेरालुले गर्दा बालीनाली जोगिएको छ। बाँदर हेर्नुपर्ने समय खेतीको काममा दिन पाएका छौँ," उनले भने।

पूर्ववडाध्यक्ष भीमबहादुर विष्ट सादनचौर र छिबाङज्युलामा जीरभानका ४–५ पुस्ताले बाँदरले अन्नबालीमा असर नगरोस् भनेर गोठालो बसिदिँदा पूरै गाउँलाई नै धेरै सजिलो हुँदै आएको बताउँछन्।

कहिलेसम्म निरन्तरता?

अहिलेसम्म आफूले बाँदरको गोठालाको काम गर्दै आए पनि अब भने यो काम छोड्न मन लागेको जीरभान बताउँछन्। सत्तरी वर्ष पुगेका उनले भने, "बूढो भइयो, बाँदर लखेट्न पनि सकिँदैन। अब भत्ता पनि मिल्ने भयो। त्यसैले अर्को वर्षदेखि बाँदर हेर्ने काम छोड्नुपर्ला भन्ने लागेको छ।"

बाँदर हेर्ने काम धेरै नै गाह्रो भए पनि त्यस बापत अन्न दिने बेला कसैले ठग्न खोजे आफ्नो असाध्यै चित्त दुख्ने उनी सुनाउँछन्। जीरभानकी कान्छी बुहारी मनकुमारी बाँदरको गोठाला लाग्ने काम निकै कठिन हुने बताउँछिन्। "काम नगरी खान पुग्दैन। बुवाले बाँदरको गोठाला गर्न छोडेपछि हामीले गर्ने कि नगर्ने भनेर निधो गरिसकेका छैनौँ," उनले भनिन्। बिबिसी