• शुक्रबार, ७ बैशाख, २०८१
  • ०७:३९:२३

म्याग्दीमा एम्बुलेन्स अभाव

  • Netizen Nepal
  • सोमबार, २३ माघ, २०७९- ०७:२४:००/ Monday 02-06-23

नेटिजन संवाददाता 
काठमाडौँ, २३ माघ । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ ।  सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डाक्टर शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताउनुभयो । 

“हाडजोर्नी सम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन,” उहाँले भन्नुभयो “हामीसँग भएको पाँच वर्ष पुरानो एक मात्र एम्बुलेन्स पनि बिग्रिएर दुःख दिन थालेको छ ।” 

पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र रु. एक लाख पचास हजार भन्दा बढी खर्च भएको डा लामिछानेले बताउनुभयो । बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौ, चितवन लगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई त्यहाँ पुग्ने सवारी साधन पाउन कठिन हुन थालेको छ । 

    आकस्मिक, अक्सिजन लगाउनुपर्ने र हाडजोर्नी बाहेकको समस्या भएका बिरामीहरु ट्याक्सी चढेर अस्पताल जाने गर्छन् । अस्पतालको एम्बुलेन्स बेनी बाहिर गएको र बिरामी धेरै भएको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको एम्बुलेन्स बोलाउने गरिएको छ । 

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको बताउनुभयो । लायन्स क्लव, भारतीय दुतावास लगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरिएको सुवेदीले बताउनुभयो । 

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ्ग तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुई वटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन् । दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स पनि मालिका गाउँपालिकाको कार्यालय अगाडी थन्काएर राखिएको छ । 

धवलागिरी, अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको एक÷एक एम्बुलेन्स ग्रामीण क्षेत्रका बिरामीलाई सदरमुकाम बेनी ल्याउन व्यस्त हुन्छन् । धवलागिरी गाउँपालिकाले गत वर्ष एम्बुलेन्स सञ्चालन गरेको थियो । रेडक्रस र अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विसं २०७५ मा भारतीय दुतावासले प्रदान गरेको हो । मोना यूकेले विसं २०७१ मा उपलब्ध गराएको तीन  एम्बुलेन्स मर्मत र सञ्चालनका लागि रु. १० लाख ८० हजार २८० को एम्बुलेन्स सेवा अक्षय कोष स्थापना गरेको थियो । गी्रन बैंकको बेनी शाखामा रहेको अक्षयकोषको ब्याजबाट एम्बुलेन्सको बिमा शूल्क तिर्ने गरिएको  रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।