• शनिबार, ८ बैशाख, २०८१
  • ०३:४१:२३

उत्थानशीलता बढाउन क्षेत्रगत मूल प्रवाहीकरणमा जोड

  • Netizen Nepal
  • शुक्रबार, १० चैत, २०७९- १८:३३:००/ Friday 03-24-23

नेटिजन संवाददाता 
काठमाडौँ, १० चैत। विपदका कारण विभिन्न क्षेत्रमा पर्ने (आर्थिक, सामाजिक तथा मानवीय) असरलाई विकासको मूल प्रवाहीकरणमार्फत सम्बोधन गर्न विज्ञहरूले सुझाव दिएका छन। विपद जोखिम राष्ट्रिय कार्य मंच र प्रकोप व्यवस्थापन राष्ट्रिय संजाल नेपालले शुक्रबार संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको विपद जोखिम न्यूनीकरणका लागि विषयगत क्षेत्र मूल प्रवाहीकरण प्रक्रिया विषयक कार्यशाला गोष्ठिका  सहभागीहरुले उक्त कुरा बताएका हुन्। 

कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विपदका बहुआयामिक सवाललाई सम्बोधन गरि उत्थानशिल समाज निर्माणका लागि प्राधिकरण सचेत र प्रयत्नरत रहेको जानकारी दिनुभयो। उहाँले यो गोष्ठीबाट आएका सवाल र सुझावहरु नेपाल सरकारको कानुनलाई थप प्रभावकारी हुने बताउनुभयो। 

प्रकोप पूर्वतयारी संजाल नेपाल तथा प्रकोप व्यवस्थापन राष्ट्रिय संजाल नेपालका अध्यक्ष सुर्यबहादुर थापाले प्रकोपका बहुआयामिक क्षेत्रलाई नीतिगत रुपमा सम्बोधन गर्नु ठुलो उपलब्धि भएको तर नीतिलाई व्यवहारमा उतार्न अझै पनि चुनौती रहेको बताउनुभयो। उहाँले विपदलाई विकाससँग जोडेपछि मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिने भएकाले यसका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो। 

कार्यक्रममा प्रकोप पूर्वतयारी संजाल नेपालका उपाध्यक्ष डा राजु थापाले विपद संग जोडिएका बिभिन्न क्षेत्रको मूल प्रवाहीकरण सम्बन्धि प्रस्तुति दिदै यसका लागि सरकार, मिडिया, निजि क्षेत्र, गैरसरकारी क्षेत्र लगायत सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।  कार्यक्रममा विपद सम्बन्धि  नीति र मूल प्रवाहीकरणसम्बन्धि विज्ञ  तथा सहभागीहरुले  आ-आफ्ना धारणा राख्नुभएको थियो।