• शुक्रबार, ७ बैशाख, २०८१
  • ०८:४७:३५

कर्जाले दिएको उर्जा: सुदर्शनको सफलता 

पार्वती अधिकारी

काठमाडौँ, १५ फागुन । आजभन्दा झन्डै २७ वर्षअघि नुवाकोट, स्याउरेभुमिका सुदर्शन बुढाथोकी एउटा सानो राइस मिल संचालन गरेर आफ्नो जीविका चलाउनुहुन्थ्यो । खोलाको पानीबाट मिल चलाउँदै गर्दा उहाँलाई त्यसबाट बिजुली निकाल्ने हुट्हुटी जागेर आयो । स्थानीयको सहयोग र २ लाख लागतमा सुरु गरिएको स्याउरेभुमि लघु जलविद्युत आयोजनाले गाउँमा टुकी बत्ति र लाल्टिन विस्थापित गरी पुरै  गाउँ नै झिलिमिली बनाइदियो । त्यहि जोश र लगनशीलताले बुढाथोकीले सानो लगानीमा सुरु गर्नुभएको लघुजलविद्युत अहिले राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको छ ।  

वि सं २०५६ देखि ७० सालसम्म झन्डै १४ वर्ष गाउँमा बिजुली बालेको लघु  जलविद्युत २०७० सालमा विद्युत प्राधिकरणको लाइन आएपछि संकटमा पर्यो किनकी स्थानीयले राष्ट्रिय प्रसारण लाइनको विजुली बाल्न थाले । स्थानीय विजुली न त राष्ट्रिय प्रसारण लाइनमा जोडियो न त स्थानीयलाई बेच्न सकियो । तर बुढाथोकीले हिम्मत नहारी आफ्नो विजुली बेच्नका लागि सरकारको नीति नै संशोधनका लागि धाउन थाल्नुभयो । लघु जलविद्युत्को विजुली पनि सरकारले किनिदिनुपर्छ भन्ने उहाँको माग थियो ।  जसलाई कानुनी रुपले नीति संसोधन गर्न झन्डै ४ वर्ष लाग्यो । उहाँ भन्नुहुन्छ ’सुरुमा त पिपीइमै समस्या थियो । पछि पिपीइ गर्ने अवस्था आएपछि टि कनेक्सन गरेर लघु जलविद्युत जडानको काम थालनी गरियो ।’

वि.स. २०७२ साल फागुन १६ गते लघु जलविद्युतको  पिपीइ भएपछि त्यसलाई आवश्यक उपकरणहरु जुटाउन २ वर्षको समय लागेको उहाँ बताउनुहुन्छ । लामो प्रयासपछि विस.२०७४  पुष २७ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिन सफल भएको स्याउरेभुमी लघु जलविद्युत नेपालकै पहिलो राष्ट्रिय प्रसारणमा जोडिन सफल लघु जलविद्युत आयोजना भएको उहाँको दाबी छ । नेपालकै इतिहासमा लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा  जडान इतिहास बनाउँन पाएकोमा सुदर्शन निकै खुसी भएको बताउनुहून्छ । अहिले उहाँ लघु जलविद्युत्को अभियान्ता नै बन्नु भएको छ । 

विजुलीको आर्थिक पक्ष

२०५६ सालमा ७ किलोवाटबाट शुरु भएको लघु जलविद्युत १० किलोवाट हुदै अहिले २८ किलोवाट विद्युत उत्पादन हुन्छ । उहाँ भन्नुहुन्छ ’ वर्षभरी नै २७ किलोवाट विजुली उत्पादन हुन्छ, आम्दानीको दृष्टिले त्यो राम्रो पक्ष हो तर  तर उत्पादित विद्युत बिक्रि गर्न भने प्रसारण लाइनमा हुने गढबढीले गर्दा केहि समस्या छ । उहाँको भनाइ अनुसार नेपाल विद्युत प्राधिकरणको मुख्य प्रसारण लाइनमा विजुली प्रसारणमा बारम्बार समस्या आउँछ, यसले गर्दा उत्पादित् विजुली पठाउँन सकिदैन । यसले गर्दा आम्दानी गुम्ने गरेको छ ।’

प्राधिकरणलाई लघु जलविद्युतले वर्षाको समयमा ४ रुपैंया ८० पैसा र हिउँदमा ८ रुपैंया ४० पैसामा बिजुली बेच्ने गरेको बुढाथोकीको भनाइ छ। वर्षा याममा  प्रतियुनिट ४ रुपैंया८० पैसाका दरले झन्डै १७ हजार युनिट बिक्रि हुन्छ भने  सुख्खा मौसममा प्रतियुनिट ८ रुपैंया ४० पैसाको दरले १४ हजार युनिट बिजुली बिक्रि हुने गरेको बुढाथोकीको भनाइ छ । यो दरमा विजुली बिक्रि गर्दा हिउँदमा करिब १ लाख २० हजार र वर्षा याममा  मासिक  रु ८० हजार भन्दा बढि कमाइ हुन्छ । यसबाट आफ्नो रोजी रोटी देखि घरायसी आर्थिक आवश्यकता टार्न सकिएको र ऋणको किस्ता  तिर्न पुगेको उहाँको भनाइ छ । 

निर्माण  कसरी भयो ?

उद्यम गर्दा आर्थिक मात्र होइन, प्राविधिक र अन्य विविध समस्या र उल्झनहरु आइरहन्छन् । बुढाथोकीलाई पनि लघु जलविद्युत निर्माण गर्दा पुँजी अभाव भएपछि निर्माण नै छाडिदिने सोच पनि नआएको होइन । त्यहि बेला उहाँले नबिल बैंकले माइक्रो हाइड्रोमा लगानी गर्ने भन्ने समाचार सञ्चार माध्याममा सुन्नुभयो ।

समाचारकै आधारमा लगानीको प्रस्ताव लिएर बैंक पुग्नुभएका बुढाथोकी खाली हात फर्किनु परेन । बैंकले सहयोग गर्ने मात्र होइन यो काम गर्न प्रोत्साहन समेत दिएकाले आफू यो कार्य गर्न उत्साहित भएको उहाँको भनाइ छ । त्यसपछि उहाँले नबिल बैंकबाट पहिलो चरणमा रु २५ लाख ऋण लिनुभयो । बैंकले दिएको रकमबाट जेनेरेटर, ट्रान्समिसन लाईन साथै मर्मत सम्भार गरेको उहाँको भनाइ छ । 

त्यस्तै, दोश्रो चरणमा नबिल बैंकबाटै रु. १३ लाख रुपैंया थप ऋण लिनुभयो । यहि ऋणबाट लघु जलविद्युत सफल भएको उहाँ बताउनुहुन्छ । 

बैंकबाट ऋण लिनुभन्दा अगाडी नै लघु जलविद्युतबाट १० किलोवाट बिद्युत उत्पादन हुन थालिसकेको थियो । विश्वास र लगनशिलताको भरमा नै बैंकले आफुलाई ऋण दिन तयार भएपछि यसको क्षमता बढाएको बुढाथोकी बताउनुहुन्छ । बैंकको सहयोग नपाएको भए योजना अलपत्र पर्ने बताउंदै उहाँ भन्नुहुन्छ, बैंक भनेको दुख सुखको साथीहो, बदमासी गर्नेका लागि मुखिया हो भने उद्यम गर्नेका लागि कर्जा र उर्जा दिने सहयोगी संस्थाहो ।’ नबिल बैंकको सहयोगले गर्दा नै आज आफू सफल उद्यमी मात्र होइन देश-विदेशमा चिनिने चर्चित व्यक्ति भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, मेरो यो फिलताका लागि नबिल बैंकलाई नै मुख्या श्रेय दिन्छु । 

सफलता र सन्तुष्टी 

कुनैबेला व्यवसाय नै छाड्ने सम्मको सोचाइमा पुग्नुभएका बुढाथोकीले हरेस भने कहिल्यै खानुभएन । चाहेको भए आफ्नो दक्षताका आधारमा उहाँले काठमाडौमा  बसेर अन्य कुनै व्यवसाय गरेर पनि सफल जिवन बिताउन सक्नुहुन्थ्यो । तर उहाँ आफ्नो जिन्दगी भन्दा पनि गाउँको मुहार झिलिमिली पार्ने ध्याउन्नमा अहोरात्र खटिनुभयो । त्यसैको नतिजा हो, आजको सफलता पनि । बुढाथोकी भन्नुहुन्छ, ‘दुःखले मानिसलाई सफल बनाउँछ र त्यहि दुःखबाट विज्ञता हाँसिल गर्न सकिन्छ ।  त्यहि विज्ञतालाइ बिस्तार गर्दै बिक्रि गरेर आय आर्जनसमेत गर्न सकिन्छ । आज मैले यो काम बाट यहि पाठ सिकेको छु, जुन मेरा लागि निकै महत्वपूर्ण उपलब्धि हो । ’ 

एउटा सानो मिलबाट सुरु गरिएको उद्यमले अहिले बुढाथोकीलाई राष्ट्रिय रुपमा नै चिनाएको छ । उहाँ नेपालका एक सफल र उदाहरणिय लघु जलविद्युत उद्यमी बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘जलविद्युत उद्यमले मलाई अझै काम गर्ने जोश र जाँगर बढाइदिएको छ ।’


दुख गर्न डराएर शहर पस्ने र गाउँको विकाश भएन भन्दै ढोल फुक्ने प्रवृत्तिको अन्त्य नभएसम्म ग्रामिण विकाश नहुने  भन्दै  उहाँ इच्छा शक्ति भयो भने गाउँमै बसेर पनि सफल उद्यमी बन्न सकिने र यसैबाट आय आर्जन गर्न सकिने उहाँ बताउँनुहुन्छ । लघु जलविद्युत्को क्षेत्रमा आफूले पाएको सफलता र चर्चाले सधै खुसी र सन्टुष्ट बनाएको उहाँको भनाइ छ । 

अबको बाटो

आगामी दिनमा लघु जलविद्युत आयोजनालाई अझै विस्तार गर्ने बुढाथोकीको योजना छ । जलविद्युत उत्पादनका लागि सो ठाउँमा पर्याप्त पानी छ तर त्यसका लागि थप लगानी बढाएर प्राधिक विस्तार गर्नुपर्ने आवश्यकता छ । टर्बाइनसम्म आउँने पानीको हेड बढाउन सकेमा अहिलेको भन्दा दोब्बर बिजुली उत्पादन गरेर दोब्बर आम्दानी गर्न सकिने भएकाले भविष्यमा यतातर्फ काम गर्ने उहाँको सोचाइ छ । बुढाथोकीको भावि योजना जलविद्युत आयोजनाको बिस्तार संगसंगै तेल पेल्ने र पिठो पिस्ने मिल थप्ने  योजना छ ।

उद्यमका लागि बैंकमा जानु पर्छ, मेहनत र इमान्दार भएर काम गरेमा बैंकले कर्जा मात्र होइन काम गर्ने उर्जा पनि दिन्छ भन्ने उहाँको अनुव छ । हाम्रो गाउँठाउँमा बगेर खेर गइरहेको पानीको सदुपयोग गरेर बिजुली उत्पादन गर्न सकिन्छ भनेर अभियान चलाउने कार्यलाई पनि निरन्तरता दिने र आफ्नो शिप र अनुभव बाँडेर लघु जलविद्युत् उद्यमलाई थप  विस्तार गर्न योगदान गर्ने उहाँको सोच छ ।