सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
- नेटिजन संवाददाता
- शुक्रबार, १४ मङ्सिर, २०८१- १४:५५:००/ Friday 11-29-24
काठमाडौं । स्याङ्जाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ ।
उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट छ लाख आम्दानी भएको बताउनुभयो । उहाँले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आउनुभएको छ।
विसं २०५२ बाट व्यवसाय थालेका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गर्नुभएको छ । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेका २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिनुभएको छ ।
'बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु', उहाँले भन्नुभयो।
यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उहाँले बताउनुभयो ।रासस।