• आइतबार, ७ पौष, २०८१
  • १२:०७:०३

अण्डाको भाउ बढ्यो

काठमाडौं। शनिबारदेखि अण्डाको मूल्य फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो दुई हप्तादेखि अण्डाको मूल्य निरन्तर वृद्धि भइरहेको छ। ठूलो आकारको अण्डाको फार्म मूल्य (३० वटा प्रति क्रेट) चार सय ७० रुपैयाँ र मध्यम आकारको चार सय ५५ रुपैयाँ तोकिएको छ।


अध्यक्ष पोखरेलले जाडोको मौसममा उत्पादनमा कमी आएको, अण्डा दिने कुखुराको क्षमता घटेको, र विद्यालय तथा कलेज पुनः सञ्चालनमा आएपछि माग बढेकाले मूल्य बढेको उल्लेख गरे। उनका अनुसार केही समयअघि अण्डाको मूल्य पाँच सय पाँच रुपैयाँसम्म पुगेपछि क्रमशः घटेको थियो।

मूल्य बढेसँगै किसानमा उत्साह थपिएको छ। पोल्ट्री व्यवसायी मञ्चका पूर्व अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादनमा कमी र मागमा वृद्धि भएपछि अण्डाको भाउ पुनः पुरानै अवस्थामा पुगेको बताए। हाल दैनिक झन्डै २२ लाखवटा अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए।