• शुक्रबार, २ फाल्गुण, २०८१
  • ०३:२३:४५

भाडा नतिरेपछि घरधनीले झ्याल र ढोका उखेलेर लगे

पेरिस। फ्रान्समा जाडो मौसममा घरभाडा नतिर्ने भाडावाललाई घरबाट निकाल्न कानुनले रोक लगाएको छ। यो नियम केवल फ्रान्समा मात्र नभई धेरैजसो युरोपेली देशमा पनि लागू हुन्छ। तर, उत्तरी फ्रान्सको पास–डी–कलाइसमा एक घरधनीले भाडावालले लामो समयदेखि भाडा नतिरेपछि अनौठो तरिकाले समस्या समाधान गर्ने प्रयास गरेका छन्।

घरधनीले भाडावालको घरबाट झ्याल र ढोका उखेलेर लगेको घटना अहिले चर्चा र विवादको विषय बनेको छ। घरधनीका अनुसार पाँच महिनासम्म घरभाडा नतिरेपछि र भाडा तिर्ने सम्बन्धी सहमति तोडिएपछि यस्तो कदम चालिएको हो।

डिसेम्बर २० मा कामदारहरूको समूह घरमा आएर झ्याल र ढोका निकाल्न थाल्यो। सुरुमा उनीहरूले झ्याल र ढोका मर्मतको लागि फेर्न लागेको बताए। तर सबै झ्याल र ढोका उखेलिसकेपछि ती सामान कारमा हालेर लगेको भाडावालले बताएका छन्।

घरमा बस्ने महिलाले घरधनीलाई सम्पर्क गर्न खोजिन्, तर सम्पर्क सम्भव भएन। अन्ततः उनले झ्याल र ढोकाको स्थानमा कार्डबोर्ड राखेर घरको सुरक्षा गर्नुपर्ने बाध्यता खेप्नुपर्‍यो। तर, बलियो झ्याल ढोका नभएका कारण महिलाले घरमा चोर पस्ने डरले चौबिसै घण्टा घरमै बस्न थालेकी छन्।

फ्रान्सको घरधनीहरूको सङ्गठनले जाडो मौसममा यस्तो कदम चाल्नु कानुनविपरीत भएको बताएको छ। घरधनीले पनि झ्याल र ढोका निकाल्न लगाएको स्विकारेका छन्। यद्यपि, फ्रान्सेली कानुनअनुसार यस्तो समयमा घरभाडा नतिर्ने भाडावाललाई पनि जबर्जस्ती घर खाली गर्न लगाउन मिल्दैन।

यो घटनाले घरधनी र भाडावालबीचको सम्बन्ध र कानुनी झमेलाबारे गम्भीर प्रश्न उठाएको छ। कानुनको पालन गराउन र यस्ता विवादलाई समाधान गर्न फ्रान्स सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने आवाज पनि उठ्न थालेको छ।