• आइतबार, ११ मङ्सिर, २०७९
  • १०:४९:२५

अशक्तहरुको टेक्ने र समात्ने आधार बन्दै सबल केन्द्र

पार्वती अधिकारी 
काठमाडौँ, २३ बैशाख । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका विकास तामाङको जन्मजातै एउटा खुट्टाको पैताला थिएन । कृतिम खुट्टा हालेर अन्य मानिसजस्तै हिंड्ने, डुल्ने रहर नभएको होइन विकासलाई । उहाँले आर्थिक अवस्था कमजोर भएका कारण रहरहरु मारेर एउटा खुट्टाको साहारामा दैनिकी बिताइरहनु भएको थियो । १२ वर्षको भएपछि विकास कृत्रिम खुट्टा हाल्नका लागि विभिन्न ठाउँमा धाउँनु भयो । तर महंगो पैसा तिर्नुपर्ने भएकाले उहाँले खुट्टा फेर्न सक्नुभएन । आफन्नो खुट्टाको समस्याका कारण निरश भएर बसेका विकासको खुशी आजभन्दा झन्डै ४ वर्षअघि फर्कियो । चौधरी फाउण्डेसनको सहयोगमा गैंडाकोटामा संचालन भएको कृतिम हातखुट्टा केन्द्रमा निःशुल्क कृतिम खुट्टा हालेपछि विकासको खुसी बढेर गयो । 

अहिले उहाँको जिन्दगी नै फेरिएको छ । उहाँ मध्येविन्दु जिल्ला अस्पतालमा चौधरी फाउण्डेसन र नबिल बैंकको सहयोगमा संचालित निःशुल्क कृतिम हात खुट्टा सहयोग गर्ने सबल केन्द्रमा कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ हातखुट्टा गुमाएर आफुले जस्तै पिडा भोगेका मानिसहरुका लागि कृतिम हातखुट्टा बनाउने काम समेत गर्नुहुन्छ । अहिले उहाँ सबलाङ्ग व्यक्तिहरु जस्तै हिंड्न, काम गर्न र फुटबल खेल्नसमेत सक्ने हुनुभएको छ ।विकासलाई पहिला सानो सामान उचाल्नुपर्यो भने पनि अप्ठ्यारो हुन्थ्यो । तर अहिले धेरै सजिलो भएको भन्दै उहाँ भन्नुहुन्छ, 'म अहिले २५ किलोसम्मका भारीहरु सजिलै उचाल्न सक्छु ।' 

यस्तै ६ वर्षअघि नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाका अजयकुमारको खुट्टामा समस्या आयो । धेरै ठाउँमा उपचारका लागि धाउनुभयो तर निको हुन सकेन । खुट्टा सुन्निएर भित्रभित्रै पाक्न थालेपछि अन्ततःउहाँको खुट्टा काट्नुपर्ने भयो । सग्लो खुट्टा गुमाउनुको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ । त्यसपछि उहाँले कृतिम खुट्टा हाल्ने सोच बनाउनुभयो । जसका लागि नेपालमा त्यति राम्रो सेवा सुविधा थिएन । अजयले भारतको नयाँ दिल्लीमा गएर कृतिम खुट्टा हाल्नुभयो । 

कृतिम खुट्टा हालेपछि केहि वर्षमा मर्मत गर्ने तथा फेर्ने गर्नुपर्छ । कृतिम खुट्टा फेर्ने तथा मर्मत गर्नका लागि अहिले टाढा जानु पर्दैन । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमै रहेको सबल केन्द्रमा उहाँले अनुकुल सेवा पाइरहनुभएको छ । ’घर नजिकै यस्तो सेवा पाउँदा म निकै खुशी छु’, उहाँले भन्नुभयो ।

पहिलेको कृतिम खुट्टा हुँदा उहाँलाई हिंड्न डुल्न लौरो टेक्नु पर्थ्यो । तर अहिले उहाँ बिनालौरो हिंड्न सक्ने हुनुभएको छ । उहाँले भन्नुभयो,’ नेपालमा यस्तो सुबिधा पाउनु भनेको त मेरा लागि सुखद आश्चर्य हो ।'

विकास र अजयले मात्र होइन, मध्येबिन्दु अस्पतालबाट हालसम्म विभिन्न कारणले हातखुट्टा गुमाउनुपरेका  ५० जनाभन्दा बढीले निःशुल्क सेवा पाइसकेका छन् । ५० जनामध्ये अधिकांश बिपन्न परिवारका व्यक्तिहरु  छन् । सबल केन्द्रले सेवा सुचारु गरेको जम्मा डेढ महिना भयो ।  डेढ महिनामा यत्तिका मानिसले नि:शुल्क सेवा पाउनु साँच्चिकै उदाहरणीय कार्य भएको अस्पतालका प्रमुख बिरबहादुर थापा बताउनुहुन्छ । 

मध्येबिन्दु अस्पतालले पहिले सामुदायिक अस्पतालका रुपमा सेवा प्रदान गर्दै आएको थियो । सामुदायिक अस्पताल हुँदाखेरी नै दुईजना कर्मचारीलाई भारतमा तालिम दिएर ’जुलुङ अंग प्रत्यारोपण केन्द्र’का रुपमा सेवाको सुरुवात गरिएको थियो । त्यतिबेला नै उनीहरुले १२ वटा कृत्रिम खुट्टा र एउटा हात बनाएर सेवा दिएका थिए । आर्थिक तथा विभिन्न समस्याका कारण ’जुलुङ अंग प्रत्यारोपण केन्द्र’ले निरन्तरता पाउन सकेन । पछि सामुदायिक अस्पताल जिल्ला अस्पतालका रुपमा संचालन हुन थाल्यो ।  त्यतिबेला चौधरी फाउन्डेसनको सहायतामा गैंडाकोटमा कृतिम हातखुट्टा बनाउने संस्था संचालनमा थियो । सोहि संस्थालाई मध्येबिन्दु अस्पतालमा सारियो र पहिले जुलुङ अंगप्रत्यारोपण केन्द्र संचालन गरिएकै भवनबाट सेवा सुचारु गरियो । संस्थालाई स्थानान्तरण गर्दा काम गर्ने केहि व्यक्ति र त्यहाँ भएका सामाग्रीहरु पनि मध्येबिन्दु अस्पतालमा  सारिएको थियो ।  

’सिजी सबल केन्द्र’ का नामले संचालित प्रत्यारोपण केन्द्र सिजी फाउन्डेसनले सुरुवात गरेको हो ।  हाल नबिल बैंक र चौधरी फाउन्डेसनको सहयोगमा भारतबाट कृतिम हातखुट्टाका कच्चापदार्थ तथा तालिम दिने व्यक्तिहरु ल्याएर सेवा सुचारु भैरहेको छ । नबिल बैंकले वार्षिक रुपमा सहयोग गर्ने रु.२० लाखबाट सबल केन्द्रको संचालन खर्च चलेको अस्तपालका प्रमुख थापा बताउँनुहुन्छ । प्रत्यारोपण केन्द्रमा अहिले भारतका दुई जना, अस्पतालका पुर्व निर्देशक दिपकसिंह केसी, गैंडाकोटमा काम गर्दै आउनुभएका प्राविधिक विकास तामाङले कृतिम हातखुट्टा बनाउने काम गर्दै आउनुभएको छ ।  

सवल केन्द्रमा कृतिम हातखुट्टा हाल्ने मात्र होइन, कृतिम हातखुट्टाले कसरी काम गर्ने, कसरी हिंड्ने भनेर प्रशिक्षण पनि दिइन्छ । 'बैशाखी टेक्दै आएका व्यक्तिहरु आफैं हिंडेर घर फर्कीएको देख्दा मनमा छुट्टै किसिमको सन्तुष्टिको भाव आउँछ ।  हिंड्न नसक्नेहरु हिंड्न सक्ने भएर जान्छन् ।  हात नहुनेहरु आफैंले पानी खान सक्ने भएर जान्छन्’, हातखुट्टा गुमाएका व्यक्तिहरु हिंड्न सक्ने बनाउन सक्दाको खुशी शब्दमै व्यक्त गर्न नसकिने थापाको भनाइ छ ।  

सबल केन्द्रमा देशका जुनसुकै ठाउँका मानिसहरुलाई पनि निःशुल्क सेवा उपलब्ध गराइन्छ । यहाँ नयाँ खुट्टा प्रत्यारोपणसंगै पुरानो हातखुट्टाको मर्मतसमेत हुने गरेको उहाँको भनाइ छ । यो सेवाको गुणस्तर र सहजताप्रति सेवाग्राहीहरु निकै खुसी छन् । 

सबल केन्द्रको सेवालाई अझै बिस्तार गरेर अझै धेरै व्यक्तिहरुलाई सेवा दिने योजना रहेको थापा बताउनुहुन्छ । हाल निःशुल्क रुपमा संचालन भैरहेको संस्थामा सेवाग्राहीहरुबाट थोरै थोरै सेवाशुल्क उठाएर काम गर्न सकियो भने अस्पताललाई सोचेजस्तो गतिमा अगाडी बढाउन सकिनेसमेत थापा बताउनुहुन्छ । सबल केन्द्रको नाममा एउटा कोष स्थापना गरेर दाताहरुबाट सहयोग संकलन गरी अझ धेरै बिपन्न वर्गका व्यक्तिहरुलाई सेवा दिइरहन सके अझै प्रभावकारी हुनेसमेत उहाँको भनाइ छ ।    

सबल केन्द्रमा हालसम्म पुर्वमा धनुषा देखि तनहुँ, बुटवल, गोरखा, चितवनलगायत धेरै जिल्लाहरुबाट आएका सेवाग्राहीहरुले सेवा लिइसकेका छन् । 'नेपालीहरुका लागि निकै महँगो र विदेश गएर लिनुपर्ने सेवा नेपालमै संचालनमा आएको छ, त्यो पनि नि:शुल्क ।  जसका लागि नबिल बैंकको निकै ठुलो हात छ । नबिल बैंक प्रति हामी सधैं कृतज्ञ छौं’, मेसु थापाले भन्नुभयो ।