• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:५६:१८

स्यालजस्तै राजकुमार

स्यालको पेटमा गएपछि कुखुरा बास्ने, मानिसको पेटमा नबास्ने भन्ने पनि हुँदैन । स्यालले पनि खाएर मल बनाउने हो, मानिसले पनि कुखुरा खाएर सुनको डल्ला फलाउने त होइन ।  अनि जसले खाए पनि के फरक पर्यो र ?

 

 

बारीमा मकैको झोड बढेका बेला स्याल कुखुरा चोर्न गाउँमा आइरहन्थ्यो । कुखुराले स्यालको गन्ध थाहा पाउनेबित्तिकै क्वाँ क्वाँ क्वाँ गरेर डाँडा-खोला थर्किने गरि कराउँथ्यो ।  हामी बित्तातोडले दौदिएर जान्थ्यौं र स्यालको सातो फुस्किने गरि कराउँथ्यौं ।  स्याल भाग्थ्यो । कुखुराको डर अझै भागिसकेको हुँदैनथ्यो । उ केहिबेरसम्म पनि घरि घरि पछाडी फर्किएर हेर्दै सशंकित भइरहन्थ्यो ।

'कस्तो दुष्ट स्याल ।  बिचरा कुखुरालाई देख्नै नसक्नी, असत्ती',  मलाई मनमनै स्यालसंग रिस उठ्थ्यो ।  हुन त त्यो कुखुरा मानिसले खानकै लागि पालेका हुन् । आखिर खाने नै भएपछि जसले खाए पनि भइहाल्यो नि ।  स्यालको पनि मुख र पेट नै हो, मानिसको पनि त्यहि हो ।  स्यालको पेटमा गएपछि कुखुरा बास्ने, मानिसको पेटमा नाबास्ने भन्ने पनि हुँदैन । स्यालले पनि खाएर मल बनाउने हो, मानिसले पनि कुखुरा खाएर सुनको डल्ला फलाउने त होइन ।  अनि जसले खाए पनि के फरक पर्यो र ?

हरेक बर्खामा स्यालको चोरी, चकारी बढ्थ्यो । हिउँद लागेपछि त्यति धेरै आउँदैनथ्यो । बर्खामा किन आउँदो हो ? सायद, स्यालले आफुलाई राजा सोच्दो हो । पहिले पहिलेका राजाहरु पनि बेला बेला शिकार गर्न निस्किएको कथाहरु सुनिन्थ्यो । त्यो स्याल पनि स्यालहरुको राजा हुन सक्थ्यो । 

बर्खामासमा कहिलेकाहीं दिनरातै जोडिएर पानी पर्थ्यो । कहिले ठुलो, कहिले सिमसिमे, कहिले धुम्म आकाशको साथमा बादल, कहिले थोरै घाम, थोरै पानी । कहिले घाम र पानी ।  घामपानी परेको बेला स्यालको बिहे हुन्छ रे ।  मानिसले त सकेसम्म घाम लागेको बेला बिहे गर्छ ।  स्याल भने कस्तो अचम्मको । सायद स्याललाई पनि बैंशमा रोमान्टिक हुन मन लाग्दो हो, मानिसलाई जस्तै ।  स्यालले घरिघरि कुखुरा चोरेर आफ्नो बिहेभोज टार्दो हो ।  रोमान्टिक मौसम, रोमान्टिक बिहे, अनि रोमान्टिक बिहे भोज आहा ! ।  सबैको भाग्यमा स्यालजस्तो राजकुमार कहाँ लेखिएको हुन्छ त  ? 

घामपानी परेपछि इन्द्रेणी पर्थ्यो ।  गाउँका बुढापाका इन्द्रेणी देखाउँदै भन्थे, 'ऊ त्यहाँ हेर त इन्द्रेणी परेको, यो खडेरीको संकेत हो ।'  अनि कहिलेकाहीं भन्थे, 'ल हेर त त्यहाँ इन्द्रेणी परेको ।  अब झरी सुरु हुने भयो ।' बुढापाकाले पानी परिरहेकै बेला इन्द्रेणी पर्यो भने अझै पानी पर्ने र पानी पर्न छोडेपछि इन्द्रेणी पर्यो भने पानी नपर्ने या खडेरी पर्ने संकेत भएको विश्वास गर्थे ।  

हामी भने त्यो इन्द्रेणी परेको खोलामा हेर्दै भन्थ्यौं, ऊ त्यहाँ हेर त इन्द्रेणीले खोलाबाट आकाशमा पानी तान्दै छ । हेर्दा त्यस्तै पनि लाग्थ्यो ।  इन्द्रेणीको सातओटै धर्साहरु खोलासम्म पुगेका हुन्थे ।  एकदिन हामी इन्द्रेणीले पानी तानेको हेर्न खोलासम्मै पुग्यौं । खोलामा उस्तैगरि पानी बगिरहेको थियो । इन्द्रेणीले पानी तान्ने कुनै मेसिन जडान गरेको थिएन । त्यहाँ पाइपहरु पनि केहि देखिएन । झुट भनौं भने परबाट देखेकै हो, साँचो भनौं भने नजिक पुगेपछि केहि छैन । सायद इन्द्रेणीको रङ नजिकैबाट देख्न नसकिने रहेछ । 

 

सानोबेलामा रहस्यहरु जटिल हुन्थे, जीवन सरल हुन्थे ।  ठुलो हुँदै गएपछि ती रहस्यहरु सामान्य हुँदै जाने तर जीवन भने जटिल हुँदै जाने । त्यसैले त जटिल जीवनले सरल जीवनको कल्पना गर्नुपर्यो भने जो कोहि बाल्यकालतिर फर्कीहाल्छन्  । 

 

सानोबेलाको रहस्यका पोकाहरु निकै जटिल हुन्थे, अनि रमाइला पनि । रेडियो फुटाएर बोल्ने मान्छे खोजेको होस् या इन्द्रेणी खोजेको । समय त बाल्यकालकै रमाइलो हुने । निश्चल, निष्कपट अनि निर्दोष । सानोबेलामा रहस्यहरु जटिल हुन्थे, जीवन सरल हुन्थे ।  ठुलो हुँदै गएपछि ती रहस्यहरु सामान्य हुँदै जाने तर जीवन भने जटिल हुँदै जाने । त्यसैले त जटिल जीवनले सरल जीवनको कल्पना गर्नुपर्यो भने जो कोहि बाल्यकालतिर फर्कीहाल्छन्  । 

आजभोली खोला त्यति सफा छैनन् । पहाडहरुमा प्रदुषित वायुका थेक्लाहरु जहिलेसुकै देख्न सकिन्छ । पानी परेर छङछङ बगाएर ल्याएको बाढीका छालहरुमा कंक्रिट, पातपतिङ्गर र रुखबिरुवाका हाँगाबिङ्गाहरु भेटिदैनन्  ।  आजभोली पानी पर्दा हामी आफैंले गरेको फोहोर बाटो, घाटो र चोकचोकमा बगिरहन्छ ।  पानी नपर्दा त हामी नाक थुनेर हिंडछौं, पानी परेपछि के थुन्नु ? खुट्टा हुँदै ढल र फोहोर मिसिएको पानी बग्छ । अनि चप्पल पिटिकपिटिक बनाउँदा हरेक पाइलाले त्यो फोहोर टाउकोसम्म पुर्याउँछ । म आफुले गरेको फोहोर आफ्नै टाउकोमा बोकेर हिंडिरहेकी छु । 

 

जीवन आफैं रंगिन बन्यो भने त्यो रंगको महत्व छुट्टै हुन्छ, बनाउन खोजियो भने कहिले कुन रंग नमिल्ने कहिले कुन । सबै रंग एकै ठाउँमा लतपतियो भने रंगहरु त्यसै रंगहिन हुन्छन् ।  

 

पहिले इन्द्रेणी रंगिन हुन्थ्यो, बाल्यकालजस्तै ।  तर अहिले इन्द्रेणीमा मिसावट छ ।  प्रदुषित वायुमा मिसिएको इन्द्रेणीले कुनै रंग बन्न मन गर्दैन ।  इन्द्रेणीलाई सादा हुन मन लाग्छ । नियालेर हेर्दा जीवन पनि बाहिर रंगिन र भित्र भित्रै रंगहिन हुँदैछ । जीवन आफैं रंगिन बन्यो भने त्यो रंगको महत्व छुट्टै हुन्छ, बनाउन खोजियो भने कहिले कुन रंग नमिल्ने कहिले कुन । सबै रंग एकै ठाउँमा लतपतियो भने रंगहरु त्यसै रंगहिन हुन्छन् ।  

बाल्यकाल र युवावस्थाका भिन्नताहरु मनभरी डुलाउँदै शहरको गल्लिमा आफ्नो पाइला अगाडी बढाउँदै थिएँ । बाटो हिलो र चिप्लो थियो । कतै ठुलो खाडल, कतै सानो ।  खाडलहरुमा पानी भरिएका थिए ।  छेउ र भित्तामा माटो थुप्रो लगाइएको । कतै तार बिछ्याउन, कतै मेलम्चीको पाइप राख्न ।  खै केके पो हो ।  खाडल देखेपछि मन त्यसै सशंकित हुन्थ्यो।  ठ्याक्कै म त्यहाँ पुग्नेबेला चाहिं गाडी या बाइक नआओस ।  तर भइदिन्थ्यो त्यसको बिपरित ।  बाइकवालाहरु पानीको आहाल देखेपछि अझै बेगले हुईंक्याउँथे । गाडीवालाहरुले त झन् बाटोमा हिंड्नेलाई के गन्थे । म पानी जमेको खाल्डोनिर पुगें ।  एउटा अङ्कल टाइपको मान्छे कार लिएर त्यहींनिर आइपुगे । उनले बाटोको बिचमा रहेको खाडल देखेका थिए । अनि मलाई पनि नदेखेका होइनन् । उनले आफ्नो गाडीको स्पिड अझै बढाए ।  मेरो पुरै शरीर नुहाएको जस्तै भयो । हिलैहिलो भित्र छोपिएको मेरो अनुहार त्यति सजिलै चिन्न सक्ने समेत थिएन । मन त थियो, ढुंगा टिपेर गाडीको सिसा फुट्नेगरि बजाइदिउँ । तर बदलाको भावले हुनेवाला केहि थिएन । हातको ढुंगा भुँइमा फालेर एक बोतल पानी किनें र मुख धोएँ । जरुरी कामले हिंडेको म फेरि घर फर्किएँ र नुहाइ धुवाइ गरें । आजभोली मलाई पानी परेको बेला हिंड्न मन लाग्दैन ।  अराजक सवारीहरुले बिरूप बनाइदेलान् भन्ने डरले ।  

जरुरी परेको बेला हिंड्नैपर्छ । म फेरि त्यहि बाल्यकालको इन्द्रेणीको कहानी सम्झन्छु । हरेक पटक पानी परेको बेला बाहिर निस्कँदा रंगिन बनेर निस्कन्छु । अनि फर्कंदा इन्द्रेणीको सबै रङ्ग एकै ठाउँमा मिसिएर रंगहीन बनेको आकृतिजस्तै  बनेर फर्कन्छु ।