• शुक्रबार, ७ बैशाख, २०८१
  • १०:४४:४२

त्रिवि सरसफाइमा मनोविज्ञानका विद्यार्थी

  • Netizen Nepal
  • मंगलबार, २४ श्रावण, २०७९- १८:२०:००/ Tuesday 08-09-22

नेटिजन संवाददाता 
काठमाडौँ, २४ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मनोविज्ञान विभागका शिक्षक तथा विद्यार्थीहरुले मंगलबार त्रिवि परिसर सरसफाइ गरेका छन् । मनोविज्ञान अध्ययनरत विद्यार्थीहरुले स्थापना गरेको  ‘मेन्टल हेल्थ फन्ड’ले सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । 

विद्यार्थीहरुले विश्वविद्यालय प्राङ्गणमा भएका प्लास्टिक, कागज संकलन तथा झाडी फाँड्ने कामसमेत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मनोविज्ञान विभागकी प्रमुख प्राध्यापक डा नन्दिता शर्माले भन्नुभयो, 'मानशिक रुपमा स्वस्थ हुनका लागि हाम्रो वरपरको वातावरण पनि सफा हुन जरुरी हुन्छ । सरसफाइले हाम्रो मनमा समेत सकारात्मक प्रभाव पार्छ ।' उहाँले सरसफाइ कार्यक्रमको निरन्तरताको कामनासमेत गर्नुभयो ।  

मनोविज्ञान विभागकै उप-प्राध्यापक सन्देश ढकालले विद्यार्थीहरुले थालेको सरसफाइ कार्यक्रम निकै सकारात्मक भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई आगामी दिनमा मानशिक स्वास्थ्य सचेतनाका कार्यक्रमहरु पनि संचालन गरि समुदायलाई सुसुचित गराउने काममा लाग्न समेत सुझाव दिनुभयो ।  

‘मेन्टल हेल्थ फन्ड'का अध्यक्ष तथा मनोविज्ञानमा स्नातकोत्तर चौंथो वर्षमा अध्ययनरत प्रदिप गोलेले फन्ड आगामी दिनमा विभिन्न किसिमका सिर्जनशिल काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  आगामी दिनमा फुटसल प्रतियोगिता तथा मानसिक स्वास्थ्य सचेतनासम्बन्धी विभिन्न कार्यक्रम गर्ने तयारी रहेको समेत उहाँको भनाइ थियो ।  

सरसफाइ कार्यक्रममा सहभागी पर्यटन व्यवसायी तथा मनोविज्ञानका विधार्थी बलराम पाठकले सरसफाइ कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।