• शनिबार, ८ बैशाख, २०८१
  • ०१:४२:३४

काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण 

  • Netizen Nepal
  • आइतबार, २९ श्रावण, २०७९- १४:०९:००/ Sunday 08-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, २९ साउन। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताउनुभयो ।

उहाँले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गर्नुभयो । एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौँका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताउनुभयो ।

बैठकको शून्य र विशेष समयमा सांसदहरुले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर, हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।