विश्व बैंक र जापानबाट प्राप्त हुने १४ अर्ब ऋण सहायता सरकारद्वारा स्वीकार
- Netizen Nepal
- आइतबार, २९ श्रावण, २०७९- १४:२०:००/ Sunday 08-14-22
नेटिजन संवाददाता
काठमाडौँ, २९ साउन। सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड (अमेरिकी डलर १०० मिलियन) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले यही साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख (जापानी येन दुई हजार २५६ मिलियन) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७९÷८० का लागि राजपत्राङ्कित श्रेणीका ५१ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ । चालु आवका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजपत्राङ्कित श्रेणीका ५८ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका २० पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ । बैठकले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय पनि गरेको छ ।