• मंगलबार, ११ बैशाख, २०८१
  • ०२:४१:१३

चलचित्रको चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत

  • Netizen Nepal
  • सोमबार, १० असोज, २०७९- १८:२३:००/ Monday 09-26-22

भेषराज कार्की (प्रदीप)
काठमाडौँ, १० असोज । कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कालाकारले गरिरहेको मेहनतको चर्चा हुन् थालेको छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन् । डिजिटल प्लेटफर्म’ हरुको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्यनगर्ने शैली अधिकांश नयाँ पिंढीका कलाकारमा देखिन थालेको छ । प्रायःफिल्ममा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँपुस्ताका कलाकार भने मेहनती देखिने गरेका छन् ।

रङ्मञ्च हुँदै फिल्ममा उदाउनुभएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतले आफ्नो चरित्र निर्माणमा गरेको मेहनतको चर्चा हुन्थ्यो गर्छ । पछिल्लो समय उनीहरु बढी व्यावसायिक बनिरहेको आरोप पनि लाग्ने गरेको छ । तर नयाँपुस्ताका कलाकारमा भने चरित्र निर्माणमा गम्भीर भएर पेसाप्रति लगनशील भएको देखिन्छ । कलाकारितामा बढी पारिश्रमिक लिएर अभिनय गर्ने अभिनेतामा अनमोल केसीले ‘अभिनय गर्न नजानेको’ प्रश्नको सामना गरिरहनुहुन्छ । उहाँ अभिनित फिल्मले निर्मातालाई मुनाफा दिए पनि समीक्षकलाई सन्तुष्ट पार्न सकेको छैन ।

अभिनयमा कमजोर रहेको प्रतिक्रिया पाइरहने अनमोल ‘छड्के २’ मा हिंसक व्यक्तिको भूमिकामा हुनहुन्छ । उहाँले ‘लभरब्वाई’ को स्वरूप बदल्न ‘कृ’मा द्वन्द्व गरेता सफलता प्राप्त गर्न सक्नुभएन । चरित्र जीवन्त नदेखिएको प्रतिक्रिया पाएपछि अनमोलले कलात्मक फिल्म खेल्ने कोशिस गर्नुभयो । त्यहि सिलसिलामा फिल्म ‘धुपौरे’ गर्ने निर्णय लिनुभयो । आन्तरिक विवादले फिल्म बन्न नसकेपछि अनमोल अहिले निगम श्रेष्ठको निर्देशनमा तयार भइरहेको फिल्ममा ‘ग्याङ्गस्टार’को भूमिका निर्वाह गरिरहनु भएको छ । व्यावसायिकरुपमा सफलता पाएका अनमोलले कलाकारिता देखाउन नसकेको गुनासोलाई मेट्न मेहनत गर्नुभएको हो । “एउटा स्टारले क्यारेक्टरलाई एडप्ट गर्न देखाएको मेहनत प्रशंसनीय छ”, निर्देशक श्रेष्ठले बताउनुभयो । 

अनमोल झैँ खोजिने अभिनेता प्रदीप खड्काले अभिनय गरेको फिल्म ‘प्रकाश’ गत भदौमा प्रदर्शन भएको थियो । व्यसायिक सफलता नपाए तापनि उहाँले आफूलाई स्टारडमको छायाँबाट बाहिर ल्याउनु भयो । जुम्ली युवक बन्न रङ्गकर्मी अनुप बरालसँग प्रशिक्षण लिनुभयो । काठमाडौँमै खाली खुट्टा हिँड्ने, भाषा सिक्ने साथै छायाङ्कन अगाडि नै जुम्ला पुगेर स्थानीयसँग घुलमिलसमेत हुनुभयो । अभिनेता प्रदीप भन्नुहुन्छ, “नयाँ भूमिका खोज्दा प्रकाश पाएँ । चरित्रमा देखिन मैले सक्दो प्रयास गरेको हुँ । कलाकारका रुपमा महशुस गर्न पाएँ ।” उहाँलाई चरित्रमा ल्याउने श्रेय निर्देशक दिनेश राउतले पाउनुभएको छ । “प्रदीपले अभिनय गरिरहनुभएको फिल्म र रुचिमा फरक पाएँ । उहाँभित्र देखिएको कलाकारितालाई बाहिर ल्याउने प्रयाश गरेको हुँ”, निर्देशक राउतले भन्नुभयो । 

‘झिँगेदाउ’ मा गाउँले युवतीको भूमिकामा देखिनुभएकी अभिनेत्री आँचल शर्मा मेहनतले सार्थकता पाएको बताउनुहुन्छ । “मैले कृति पढेपछि गाउँले भूमिकामा अभिनय गर्न तयार भएकी हुँ । मेरा लागि नयाँ भएकाले सुरुआती समयमा कठिन भए पनि सक्दो मेहनत गरें”, उहाँले भन्नुभयो । ‘बाबरी’ फिल्ममा धीरज मगरले पुरानो छवि हटाउनुभयो । “म स्टार नभई कलाकार बन्न आएको हुँ । त्यसैले पुर्वेली बनेको हुँ”, धीरजले भन्नुभयो । गत भदौको पहिलोसाता प्रदर्शन भएको फिल्म ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्काले अटिजम पीडित युवाको भूमिका निर्वाह गर्नुभयो । उहाँले यसको लागि अटिजम पिडितलाई भेटेर, बुझेर अभिनय गर्नुभएको छ । 

नयाँ पुस्ताले चरित्र निर्माण गरिरहेको मेहनत सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्टारलाई हेर्न दर्शक हलसम्म आउनुहुन्छ । उहाँहरुले चरित्रमा गर्ने मेहनतले लामो समयसम्म जोगाउँछ ।” यसले फिल्मलाई पनि उत्तिकै फाइदा पुग्ने विश्वास उहाँको छ । रासस ।