• शनिबार, ८ बैशाख, २०८१
  • ०६:०५:२५

असल र खराब मानिसहरु  

  • Netizen Nepal
  • बुधबार, १२ असोज, २०७९- ११:४५:००/ Wednesday 09-28-22

मानिसलाई स्वार्थका लागि मात्र आफन्त चाहिन्छ, परिचित चाहिन्छ । मानिस मानिस भएको बेला सबै मानव आफन्त हुन्छन्, परिचित हुन्छन् । 

 

पार्वती अधिकारी 
भर्खरै एउटा गाडीले धुवाँ फालेर गयो ।  कति खतरनाक धुवाँ, का...लो ।  सिधै फोक्सोमा पुगेर फोक्सो नै कालो बनाउला जस्तो ।  गाडी पनि त्यस्तै थियो, पुरा...नो ।  २० वर्ष होइन, ५० वर्षको घामपानी खाइसकेको जस्तो ।  हिरिक हिरिक मात्र गरेर चलिरहेजस्तो । बसको गति हेर्दा त्यो गुडिरहेको थिएन, हिंडिरहेको थियो । सडकमा बस र फुटपाथमा मेरो हिंडाइको गति उस्तै उस्तै थियो । थोत्रो बसमा मान्छे भने कोचाकोच नै थिए ।  मानिसहरु चढ्दै थिए, झर्दै थिए । एकछिनमा बसले आफ्नो रफ्तार अलि बढायो ।  बस मभन्दा झन्डै ५०० मिटर अघिसम्म के रन्किएको थियो, ड्याङ्ग आवाज आयो ।  बसले आफ्नो नियन्त्रण गुमाएछ ।  ब्रेक फेल भएर सडक छेउको डोजरमा गएर ठोक्किएछ । म हतार हतार दुर्घटना भएको ठाउँमा पुगें ।  ड्राइभरले बसलाई नियन्त्रण गर्न नसकेर जानीजानी डोजरमा लगेर ठोक्काएका रहेछन् । ता कि यो भन्दा भयानक क्षति नहोस । यदि उसले त्यसो नगरेको भए फुटपाथमा हिंड्ने मानिसहरुलाई पनि क्षति पुग्ने थियो र अगाडी खोलामा पुग्ने थियो ।  

दुर्घटना भएपछि एकछिन शुन्यता छाउने रहेछ । दुर्घटना भएको ठाउँमा जाने होस पनि कसैको नहुने रहेछ ।  बसभित्रका मानिसहरु पनि चिच्याउन नसक्ने रहेछन ।  केहि बेरपछि जब मानिस त्यता जान थाले, बस भित्रको मानिसहरुले पनि आफ्नो सुरक्षाका लागि आह्वान गर्न थाले । बसको अगाडीको भागमा क्षति पुगेको थियो।  भाग्यवश अगाडी, ड्राइभरको सिट वरिपरि कोहि पनि बसेका थिएनन् ।  पछाडीका सिसाहरु फुटेका थिए ।  फुटेको सिसाले केहि यात्रुहरुको हात र खुट्टामा चोट लागेको थियो ।  केहि डरले असिनपसिन भएका थिए ।  घाइतेहरुलाई तुरुन्तै अस्पताल लगियो । भगवानको कृपाले त्यहाँ कुनै मानविय क्षति भने भएन । जे चिजको पनि आयु हुन्छ ।  त्यो बसको पनि आयु सकिसकेको थियो । ती ड्राइभरले जबर्जस्ती गर्दै थिए ।  तर सकिएन ।  बस रोकियो ।  अझ भनौं बस बस्यो । 

मानिसहरुको भिड बाक्लो थियो ।  सुरुमा देख्नेहरुले भर्खरै आउनेको कौतुहलता मेटाउने काम गर्दै थिए ।  
'के भएको ?'
'बस एक्सिडेन्ट।'
'कसरी भयो ?'
'थोत्रो भएर।'
'के भाको ?'
'खै म पनि भर्खर आको ।'
'कसैलाई केहि त भएन नि ?'
'खै'
'अँ, केहि मानिस घाइते भएका छन् । अस्पताल लैजाँदै छन् ।'
'ए।'
यस्तै कुरा हुँदै थियो ।  

जत्ति बत्तिए पनि कहाँ नै पुगिन्छ र ? ठिक्क बत्तियो भने घर, कार्यालय या जहाँ जान खोजेको त्यहीं पुगिन्छ ।  धेरै नै बत्तियो भने स्वर्ग ।  अनि हतार किन बाबा ?  

अपरिचितले अपरिचितसंग कुरा गर्दै थिए ।  अन्जानले अन्जानमै कुरा गर्दै थिए ।  कसैले जिज्ञासा राख्दै थिए, कसैले जिज्ञासा मेटाउँदै थिए । उनीहरु जीवनमा एकपटक मात्र बोल्ने यात्री हुन् ।  जिन्दगीमा एकपटक भेटेका र बोलेकाहरु पनि समय र परिस्थितिअनुसार कस्तो खुलस्त बोल्न सक्छन् । केहि हेर्न आएका थिए, केहि सहयोग गर्न आएका थिए, केहि बुझ्न मात्र आएका थिए ।  तर जे होस्, हामी नेपालीहरुमा मानवताको भाव अझै जिवितै छ । अपरिचित नै किन नहोस् परेको बेला सहयोग गर्न सबै जुटिहाल्छन् ।  प्रहरीले केहि घाइतेहरुलाई बाइकमा र ट्याक्सीमा लिफ्ट मागेर पठाउँदै थिए ।  उनीहरुले नाइँ नास्ती नगरी लागिदिए । अप्ठ्यारो नपरेको बेला त कसैलाई कोहि चाहिन्न जस्तै हुन्छ ।  तर कसैको सहयोगको खाँचो भएको बेला को परिचित अनि को अपरिचित ?सबै आफ्ना हुन्छन् । मानिसलाई स्वार्थका लागि मात्र आफन्त चाहिन्छ, परिचित चाहिन्छ । मानिस मानिस भएको बेला सबै मानव आफन्त हुन्छन्, परिचित हुन्छन् । 

अर्को दिन ठ्याक्क झम्के साँझ परेको थियो । बाटोमा मानिसहरुको आवतजावत बाक्लै थियो । सवारी साधनको चाप पनि उस्तै ।  मोटरसाइकल र स्कुटर त फुटपाथबाटै जाउँ जसरी हतार गर्दै थिए । जाम परेको बेला एकछिन आनन्दले बस्दा के बिग्रिन्छ ? हतार हतार गरेर अगाडी गए पनि पुग्ने भनेको थोरै अगाडी त हो ।  त्यहाँभन्दा अगाडी जान त मिल्दैन ।  त्यसो हो भने किन हतार ? पछाडी बसेर जाम खुलेपछि बत्तिएर गए पनि भइहाल्यो नि ।  फेरि, जत्ति बत्तिए पनि कहाँ नै पुगिन्छ र ? ठिक्क बत्तियो भने घर, कार्यालय या जहाँ जान खोजेको त्यहीं पुगिन्छ ।  धेरै नै बत्तियो भने स्वर्ग ।  अनि हतार किन बाबा ?  

म हाइवे काटेर कच्ची बाटोतिर अघि बढें । एउटा स्कुटर ठ्याक्कै  मेरै अगाडी आएर लड्यो ।  स्कुटरवालालाई स्कुटरले थिच्यो ।  मलाई अलमल्ल भयो, पहिला स्कुटर उठाउने कि, मान्छे ।  म स्कुटर उठाउन थालें ।  त्यत्तिकैमा वरिपरिका मानिसहरु पनि आए ।  र सहयोग गरे ।  स्कुटर उठाएर साइड लगाइदिए ।  त्यसपछि मान्छे उठाए ।  मान्छे त उठाए तर उ उठ्नै नसक्ने भएको रहेछ ।  रक्सी पिएर खुट्टा टेक्न नसक्ने अवस्थामा थियो । 

उ आफ्नो नियन्त्रणमा थिएन । रक्सि खाएर लडेको भनेर थाहा पाएपछि सबैजनाले त्यो मानिसलाई बीच बाटोमै छाडिदिए र आफ्नो काम गर्न थाले । कच्ची सडक भए पनि सवारीको आवतजावत भने बाक्लै हुन्थ्यो।  त्यो मानिस उठ्ने कोशिश गर्दै थियो तर सकिरहेको थिएन । उसलाई हेर्दा यस्तो लाग्थ्यो, उ भर्खर बामे सर्दै गरेको बच्चा हो, जो उठ्ने कोशिस गर्दै लड्दै गर्दै थियो ।  

मान्छे हेर्दा सुटेट बुटेट देखिन्थ्यो । सुटेट बुटेट हुने मान्छे बाटोमा लडेको पनि त्यति नसुहाउने रहेछ । उसले बल्ल बल्ल आफ्नो खल्तीबाट फोन झिक्यो ।  कसैलाई डायल गर्न खोज्दै थियो । फोन कानमा लैजान खोज्यो तर हात कानतिर गएन । खानु खानु, तर त्यसरी चाहिं नखानु ।  जसले गर्दा आफ्नो होस हवास नै उडोस ।  आफ्नै शरीर आफ्नो नियन्त्रण भन्दा बाहिर जावस् ।  उसको फोन, हात र कान बिचको संघर्ष चलिनै रहेको थियो । उसको हालत यति खराब थियो कि, केहि गर्नै सकेन ।  फोन फेरि खल्तीमा राखेर उ बाटोको छेउमा जाने प्रयास गर्न थाल्यो ।  बल्ल बल्ल घस्रंदै उ बाटोको छेउमा गाडिएको पोलमा अडेस  लाग्न पुग्यो । 

मानिस आइरहे, गइरहे ।  उसलाई धेरैले देखे तर हेरेनन् ।  वास्ता गरेनन् । त्यति नै बेला एउटा कुकुर आयो ।  उसले पोलमा नियालेर हेर्यो ।  आफुले सौच गर्ने ठाउँ कोहि मानिसले ओगटेको देखेपछि कुकुर पनि त्यहाँबाट बाटो लाग्यो ।  

स्कुटरवालाले आफ्नो हालत जस्तो बनाएको थियो, त्यस्तो अवस्थामा कसैको सहयोग चाहिन्छ । तर उसलाई कसैले सहयोग गरेनन्, न उसले सहयोग माग्न नै सक्यो ।  'नेपालीहरु ठुलो मनका छन् । अरुको दुख देख्न सक्दैनन् ।  तर त्यो दुख उसले आफैंले जानीजानी बनाएको थियो । जसका कारण उ सहयोगविहिन भयो ।  उसलाई पनि थाहा थियो, धेरै रक्सि पिएपछि नियन्त्रण बाहिर गइन्छ ।  मानिसले पनि परिस्थिति हेरेर मन तन्काउने र खुम्चाउने गर्दा रहेछन् । सायद सहयोगी भाव पनि आवश्यक ठाउँमा मात्र देखाउनुपर्छ । अनि त्यो मानिस हेर्दा यस्तो लाग्यो, अरुबाट सहयोग चाहिने भयो भने पहिला त्यसको लायक बन्नुपर्ने रहेछ । 

अचम्मको कुरा त के भने उसले त्यो ठाउँसम्म स्कुटर कसरी ल्याइपुर्यायो ? सायद त्यसअघि उसले आफ्नो नियन्त्रण गुमाइसकेको थिएन कि । मानिसहरुले त उसले रक्सी पिएर आफ्नो नियन्त्रण गुमाएको मात्र देखे ।  उ कसरी त्यो हालतमा पुग्यो भन्ने कुरा कसैले सोधेनन्, बुझेनन् ।  हुन सक्छ, उ कुनै ठुलो समस्याबाट गुज्रीरहेको छ । उसका कुरा सुनिदिने कोहि छैनन । आफ्ना पिडाहरु धुमपान र मद्यपान गरेरै भुलाउने कोशिस गर्दै गरेको पनि हुन् सक्छ । उ त्यहि तरिका अपनाएर आफ्ना पिडाबाट बाहिर निस्कने प्रयास गर्दै गरेको पनि हुन सक्छ । उसको कोशिसमा नै दुनियाँले असहयोग गर्दा उसलाई अझै धेरै पिडा भएको पनि हुन सक्छ । हामी मानिस हौँ ।  जे देख्छौं, त्यहि सोच्छौं ।  जे देखिन्छ त्यहि सत्य हो जस्तो लाग्छ । अनुसन्धान गरेर जरा खोतल्ने फुर्सद त कसलाई छ र यहाँ ? मानिस यति बेफुर्सदिला भइसके कि, उनीहरुलाई आफ्नै बारेमा सोच्ने फुर्सद त हुँदैन । अब सायद, समय यस्तो आएको छ, हामीले हरेक कुरालाई दुईओटा कोणबाट सोच्नुपर्छ । त्यसबाट हामीले सकारात्मक र नकारात्मक दुवै पाटाहरु केलाउन सक्छौं ।  अझ भनौं, मानिस खराब या असल भन्ने नै हुँदैन । यो उसको परिस्थिति हो, नियति हो ।