• शुक्रबार, ७ बैशाख, २०८१
  • ०५:३९:१५

भाषा हराएको देश !

  • Netizen Nepal
  • बुधबार, १२ असोज, २०७९- १३:४३:००/ Wednesday 09-28-22

उत्तम विचार भेटुवाल
यो भूगोलमा एउटा स्वतन्त्र अस्तित्व सहितको राष्ट्र हुनका लागि आवश्यक पर्ने अन्य आधारभुत तत्वमध्ये अग्रपङ्तीमा पर्ने तत्व हो, देशको भाषा, जुनविना समाज अपुरो हुन्छ, देश अपुरो हुन्छ। सामान्य अर्थमा बुझ्दा भाषा अभिव्यक्तीको माध्यम मात्र हो तर यसको गहन अर्थ खोजी गर्नतिर लागियो भने भाषाको महासागरमा मैं हुँँ भन्ने भाषाविदहरू पनि डुबेर सजिलै उत्रिन नसकेका द्रिष्टान्तहरू यदाकदा नसुनेको र नपढेको बिषय हैन । 

जसरी शरीरका प्रत्येक अङ्ग प्रत्याङ्गहरु उत्तिकै प्यारा लाग्छन्, नि:सन्देह पनि त्यो राष्ट्र र त्यस देशका बासिन्दाहरूका लागि आफ्नो राष्ट्र भाषा प्यारो लाग्नु अस्वाभाविक होइन । हामी हाम्रो देवनगरी लिपिमा लेखिने नेपाली भाषालाई सामान्य रुपमा लिन सकौँला, कारण यो पनि हो कि हिजो यसको जग पुर्खाले बसाले, यसलाई हुर्काउने र मलजल गर्ने काम त्यसपछिका आदिकवि भानुभक्त, मोतिराम लगायतका अनुयायीहरूले गरे । हाम्रो काम अरूले तयार पारेको लिपी पढ्ने हो, अरूले बोल्न सिकाएको शैलीमा बोल्ने हो, जसका लागि हाम्रो कुनै ऊर्जा नष्ट भएकै हुन्न त हामी भाषाप्रती गुनासो किन गर्छौ ? अनि भाषाको दोहन भै रहँदा चासो किन राख्छौँ ? स्वजिज्ञासा स्वभाविक हुन सक्छन् ।

हामीलाई नहोला अर्थात कम होला, तर आफ्नो भाषाप्रतीको मोह विदेशीलाई कति हुन्छ भन्ने कुरा जापान कोरिया,जर्मनी लगायतका देशहरूमा जान खोज्ने युवाको भिडलाई नियाली हेर्दा थाहा हुन्छ, जो दिनरात भाषा परीक्षाको लागि तल्लीन देखिन्छन्। 

यहाँँ कोट्याउन खोजिएको सन्दर्भ हाम्रो भाषा पूरै हराइसक्यो भन्ने पनि हैन, हामी भाषाविहीन भयौँ भन्ने त झन् हुँदै होइन, हो के भन्दा नेपाली जनजिब्रोले उच्चारण गर्ने भाषामा बिदेशी भाषाको प्रभाव किन बढ्दै छ भन्ने हो । वकितम मात्र नभएर सरकारी कामकाजमा प्रयुक्त हुने भाषाहरू किन दिनप्रतिदिन स्खलित हुँदै छन् ? किन हामी हाम्रो भाषाको स्तरियतालाई कायम राख्न सक्दैनौँ यि र यस्ता गम्भीर प्रश्नहरू नेपाली समाज अगाडि तेर्सिएका छन् । यी पद्यलाई हेरौँ,

आमा मामु बनिन् र ड्याड भनिँदा बाबा विदेशी भए
नेपालीपन बाँच्छ भन्नु कसरी बढ्दो छ यो संशय ।
काका अंकल भै बसे नजरमा काकी हराइन् कता
हाम्रो मोह बढ्यो घटेन कहिल्यै उस्तै छ यो दासता ।।

जवाफ खोज्न ढिलो भैसकेको छ । अन्यथा हामी अफ्रीकनहरूले, जब पादरीहरू हाम्रोमा आए त्यतिबेला हामीसँग हाम्रो जल, जमिन, धर्म, संस्कार सबै थियो, जब उनिहरू फर्किए त्यतिबेला हाम्रा हातमा बाइबल मात्र थियो भन्ने नमिठो उक्ती पढेर पछुताउनुको अर्थ रहने छैन ।
फेरि थप दुई पद्य हेरौँ,

जो सम्बन्ध थियो रिलेसन बनी घुम्दै छ आकाशमा
हाम्रो सोच नयाँ बनेर थट भो चल्दैन विश्वासमा ।
चेली सिस्टर भै पुगिन् सहरमा नौलो छ सम्बोधन
छोरी शब्द भुली भनूँ डटर यो गाह्रो भयो जीवन ।।

प्यारो शब्द भुली भन्यौँ सहजमा लभ्ली बन्यो जिन्दगी
सारा नक्कलमा विदेशतिरको भाषा बन्यो बन्धकी ।
आफैँ भन्न पुगेँ सुनाम सन भो छोरो हरायो कता
मौरीझैँ महमा भुल्यौँ किन अहो ! हाम्रो छ के बाध्यता ?

तपाईं पाठकसँग प्रश्न गर्छु, यसमा हाम्रो के त्यस्तो बाध्यता छ र हामी विदेशी भाषाका लागि बन्धक झैँ बनेका छौ ? किन इम्बोस्ड नम्बर प्लेटहरू नेपाली भाषारहित बन्न वाध्य छन् ?

हामी आफ्ना नानी बाबुहरूलाई बोर्डिङ स्कुलमा पढाउन लालायित हुन्छौँ, तर बच्चाहरूले ल्याएको ग्रेडिङ्ग हेरेर मख्ख पर्छौँ, दुख लाग्ने कुरा , विद्यालय हातामा नेपाली बोल्न नपाईने वाध्यकारी नियमका कारण उनिहरूको भाषाको स्तर घटेको मात्र छैन बरू नेपाली भाषामाथि अन्याय भएको छ अपमान भएको छ । बच्चाहरू सेभेन्टी नाइन जान्दछ्न् तर उनासी भन्न जान्दैनन् । यस्ता धेरै उदाहरण छन् जो यहाँ उल्लेख गर्दा लामो हुन जान्छ ।

अन्तिम दुई पद्य पढेर सन्तोषको सास फेर्न सकिएला कि,

आमा भन्न सिकौँ बुबा स्वजन हो छोडौँ विदेशीपन
भाषा मातृ रहोस् सदा चयनमा गर्ने गरौँ चिन्तन ।
नेपाली परिवेश भिन्न छ स्वयम् छुट्टै छ आकर्षण
छातीमा मनमा बसोस् हृदयमा भाषा बनोस् धड्कन ।।

हाम्रा वेद पुराणका कथनमा भुल्नेहरू छन् कति
हाम्रा पुष्प बगानका सुमनझैँ फुल्नेहरू छन् कति ।
भाषा भेष कला अमूर्त रहला दीगन्त होस् यो भनी                            
नेपाली मन गर्छ गौरव सदा संस्कारका छौँ धनी ।।

अन्त्यमा न केवल मेरो बरू तपाईं सम्पूर्ण आदरणीय पाठक एवम् चिन्तकहरूको अभिमतलाई लेखले उठान गर्न सकोस्, हाम्रो समाज अनि हाम्रो सिङ्गो राष्ट्रको ध्यान समग्र नेपाली भाषाको उन्नयनतर्फ तानियोस् । यही अभिप्रायका साथ लेख अन्त्य गर्दछु । जय भाषा । 

(लेखक कवि एवम् गीतकार हुनुहुन्छ।)