• बिहीबार, १३ बैशाख, २०८१
  • ११:३०:३१

रक्सौल–काठमाडौं रेल ल्याउन ३ खर्ब २० अर्ब लाग्ने

  • Netizen Nepal
  • बिहीबार, १३ असोज, २०७९- ०७:५३:००/ Thursday 09-29-22

नेटिजन संवाददाता 

काठमाडौँ, १३ असोज। काठमाडौं–रक्सौल रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भएको छ । २०७६ मा गरिएको प्रारम्भिक अध्ययनअनुसार भने लागत अनुमान ३ खर्ब रुपैयाँ थियो । अहिले विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने खर्चसहितको लागत अनुमान निकालिएको हो ।

२०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो । रेल विभागका महानिर्देशक रोहित बिसुरालका अनुसार फिल्ड सर्भे सकिएको छ । ‘फिल्ड सर्भे र रिपोर्ट तयार पार्न १८ महिनाको समय दिइएको हो,’ उनले भने, ‘फिल्ड सर्भे सकियो, अब ६ महिनाभित्र रिपोर्ट तयार पार्छौं ।’

भारतको कोंकण रेलवे कर्पोरेसनका प्राविधिक टोलीले यसको अध्ययन गरेका हुन् । ‘रिपोर्ट लेख्न सुरु भएको छ, त्यसमा सहजीकरण विभागले गरेको छ,’ उनले भने, ‘सर्भेको काम भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भएको हो ।’

अन्तिम अध्ययनअनुसार रेलमार्गको दूरी १४० किलोमिटर हुनेछ । ‘यो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बराबरकै अध्ययन हो, यसैका आधारमा निर्माणमा जान सकिनेछ,’ बिसुरालले भने, ‘लागत र दूरीमा भने रिपोर्ट तयार पार्दासम्म तलमाथि हुन सक्छ ।’

२०७६ भदौमा रेलमार्ग पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । काठमाडौंमा २०७५ भदौमा बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले पूर्वसम्भाव्यता अध्ययन समझदारीमा हस्ताक्षर गरेका थिए । कान्तिपुर दैनिक