• मंगलबार, ४ बैशाख, २०८१
  • १०:३४:४७

आइ मिस यु आमा ! 

  • Netizen Nepal
  • बिहीबार, १३ असोज, २०७९- १३:३०:००/ Thursday 09-29-22

खुशी खोज्न भौंतारिएको धेरै वर्ष भइसक्यो तर खोज्न हिंडेकै दिनदेखी मेरो अनुहारको मुस्कान गायब भएको कुराको साक्षी यहि एउटा ऐना मात्र छ । 

 

मनिषा खड्का 
आज धेरै पछि केहि लेख्न मन लाग्यो ।  लेख्न भन्दा पनि केहि कुरा पोख्न मन लाग्यो । ती बालापन, बालापनका किस्सा, खुशी, अनि भविष्यमा खुशी हुने आशामा गरिएका खुशीका बलिदानीहरु । सबैसबै आँखामा झल्झल्ती आइरहेका छन् । आज घटस्थापनाको दिन । नेपालमा हजुरआमाले जमारा राख्नुभयो होला । जमरा राख्दै गर्दा म अम्खरामा पानी लिएर बस्थें र जमरा राखिसकेपछि पनी छम्किन्थें । हजुरआमाले घरिघरि भन्नुहुन्थ्यो, तैंले जान्दिनस्, खोइ म हाल्छु । म मान्दिनथें । अम्खराको सबै पानी जमरामा छम्किएपछि मेरो मन खुशी हुन्थ्यो । म हरेक दिन गएर त्यो जमरामा पानी हाल्थें र कहिले उम्रिन्छ भनेर हेरिरहन्थें । जमरा उम्रिएपछि मलाई औधि रमाइलो लाग्थ्यो । 

दशैं आएपछि मन त्यसै फुरफुर भएर आउँथ्यो । आमाले लिपपोत गरेर घरको रोकन नै फेरिदिनुहुन्थ्यो । त्यसपछि घरलाई पनि दशैं लाग्थ्यो । गाउँको चौतारीमा रहेको ठुलो बरको रुखमा सबै मिलेर बाबियोको पिङ बनाउँथे । मलाई चौतारीको ठुलो पिङ खेल्न डर लाग्थ्यो । त्यसैले आमालाई घरमै पिङ हालिदिन भन्थें । कहिलेकाहिं बारीतिर रुखमा पिङ हाल्न लगाउँथें । त्यो पनि भएन भने घरकै दलिनमा पिङ हाल्न लगाउँथें । पिंडीमा हालेको पिङ धेरै मच्चाउन मिल्दैनथ्यो तर आमाको अगाडी मच्चिमच्चि खेल्न भने मिल्थ्यो । आमाले पनि घरको दलिन नै भाँचिने गरि मच्चाए पनि केहि भन्नुहुन्नथ्यो । किनकी आमालाई थाहा थियो, मेरो तौलले घरको दलिन भाँचिंदैन ।
 
घरको दलिनमै किन नहोस्, आफ्नै घरमा पिङ हालेपछि मेरो सान नै बेग्लै हुन्थ्यो । साथीहरु हाम्रो घरमा पिङ हेर्न आउँथे । पिङ हालेको पहिलो दिन त एक्लै भए पनि मच्चाइरहन रमाइलो हुन्थ्यो । दोस्रो दिनबाट भने हातमा ठेला उठ्न थाल्थ्यो । त्यसैले घरमा साथिहरु आए भने पालैपालो खेल्न रमाइलो हुन्थ्यो । कहिले म साथिहरुको घर जान्थें, कहिले साथिहरु मेरोमा आउँथे । जसको घरमा गए पनि दही, चिउरा, मासु र अनेक अनेक खान कर गर्थे । म घरबाटै पेटको स्टोरेज फुल गरेर निस्कन्थें । तर साथिहरुको घरमा पनि खानको लागि कर गरिरहँदा आफ्नै भाउ बढेर आकाशिए जस्तो महशुस हुन्थ्यो । मनमनै सोच्थें, ‘गाउँभरिका सबैले कति माया गर्न सकेका ?’ 

बिजया दशमीको दिन सबैले टिका लगाएर दक्षिणा दिन्थे । हजुरबा, काका, काकी, ठुलाबा, ठुलीआमा, दाइ, दिदी सबैले टिका लगाएर दक्षिणा दिंदा मेरो खल्ति सबै भरिन्थ्यो । बाआमाले पनि अरुबेला दिनेभन्दा अलि धेरै दक्षिणा दिन्थे । मलाई दशैंमा दक्षिणा कमाइने कुरा पनि औधि मन पर्थ्यो । घरका सबैले टिका लगाइसक्दा मेरो निधार पुरै टिकाले ढकमक्क हुन्थ्यो । म आफुलाई गुराँस फुलेर ढकमक्क भएको जंगलजस्तै पाउँथें, सुन्दर । त्यसपछि मामाघर जाँदाको रमाइलो त्यस्तै छ । मामाघरमा पनि दक्षिणा टन्न पाइन्थ्यो । फेरि मामाको घर पनि एउटा दुइटा भए पो, चार पाँच ओटा । भनिन्छ नि, 'भुरालाई दशैं आएको जस्तो'  । मलाई पनि त्यस्तै हुन्थ्यो । नयाँ लुगा, पिङ, मिठोमिठो खानेकुरा, टिका, जमरा र दक्षिणा । त्यो पल सम्झिंदा त मलाई फेरि बच्चा बन्न मन लाग्छ । फर्किफर्कि त्यहिं पुग्न मन लाग्छ । स्मृतिमा त म अझै त्यहि बच्चि हुँ । जो दलिनमा पिङ खेल्दै छे । तर जब झसङ्ग झस्किएर ऐना हेर्छु। तब देख्छु । ममा धेरै परिवर्तन आइसकेको छ । अनुहारमा त्यो रौनक कहाँ दबेको छ कहाँ ? खुशी खोज्न भौंतारिएको धेरै वर्ष भइसक्यो तर खोज्न हिंडेकै दिनदेखी मेरो अनुहारको मुस्कान गायब भएको कुराको साक्षी यहि एउटा ऐना मात्र छ । 

आज चार वर्ष भइसकेछ, दशैं नदेखेको । संगै हुँदा त दशैंको रौनक कति हुन्छ भनेर याद नै हुन्नथ्यो । तर टाढा भएपछि महसुस हुने रहेछ, साना घटनाहरुले हामीलाई कति खुशी दिएको हुँदोरहेछ । त्यो सामान्यजस्तो लाग्ने दशैंको याद कति आउँदो रहेछ भन्ने कुरा ।   
सानैदेखि मसंग जोडिएर आमाबुबाले सपना देख्न थाले । सपना नदेखुन् पनि किन ? आमाबुबाको भविष्य मै थिएँ । उहाँहरुले सजाउने सपना मै थिएँ । छोरीले राम्रो स्कुलमा पढोस् । सफल भएर हाम्रो शिर पनि उच्च पारोस्, हर आमाबुबाले आफ्ना छोराछोरीको आँखामा त्यहि देख्छन् । मेरो पनि फरक केहि थिएन । त्यसैले नै उहाँहरुले मलाई राम्रो स्कुलमा पढाउनका लागि बजारको राम्रो स्कुलमा भर्ना गरिदिनुभयो । म आमाबुबासंग टाढा हुन चाहन्नथें । मलाई उहाँहरुसंग टाढा भएर त्यति ठुलो मान्छे पनि बन्नु थिएन । तर उहाँहरुलाई त्यहि लाग्यो होला कि छोरीलाई शहर राखेपछि जान्ने हुन्छे । ठुलो मान्छे बन्नका लागि शहर बजारमै बसेर पढ्नुपर्छ । हुन पनि उतिबेला सुविधाका हिसाबले गाउँमा भन्दा शहरमा अलि राम्रो थियो । 

होस्टेलको भात खाँदै गर्दा आामाको हातको झल्को आउँथ्यो । प्रत्येक बिहानीहरुमा म आमाको मिठो बोलि मिस गर्थें । जुन चाहेर पनि पाउन सक्दिनथें । प्रत्येक दिन म कौशिको छतबाट आफ्नो घर देखिन्छ कि भनेर नियाली नियाली हेर्थें । मेरो घरको जस्तो आकृति कुनै घरमा देख्दैनथें । अनि निराश हुँदै तल झर्थें । 

‘यतिबेला आमा के गर्दै हुनुहुन्छ होला ? काश, म पनि उहाँसंगै भएको भए...म कल्पनामै हराउन पुग्थें । एकछिनपछि झल्यास्स हुन्थें । आमासंग नभएको थाहा भएपछि फेरि मलाई चिन्ताले सताउँथ्यो । त्यहिं बसेर जोडजोडले रुन मन लाग्थ्यो । आखिर म किन टाढिन पुगें । 
मलाई भविष्यको चिन्ता थिएन, बरु बर्तमानले सताइरहन्थ्यो । सुनेकी थिएँ, मानिस मरेपछि चरा बन्छ रे । मलाई अहिले नै चरा बनेर उड्दै उड्दै घर पुग्न मन थियो । फेरि चरा बनेर जाँदा आमाले चिन्नुभएन भने..? मेरो गाला सुम्सुम्याई माया गर्नु भएन भने..? मेरो छोरी मलाई भेट्न आइछ भनेर हर्षित हुनुभएन भने..? यो कुराले पिरोलिरहन्थ्यो । घरिघरि त सोच्थें, चरा बनेर उड्दै जाने योजनालाई रद्ध गरिदिउँ कि क्या हो ? 

घरबाट बजार उति नै टाढा, न चाहेको बेला जान मिल्थ्यो, न त भेट्न नै  । २–३ महिनामा आमा भेटन आउनुहुन्थ्यो । आमा आएको दिन मलाई सबथोक पाएजस्तो हुन्थ्यो । म खुशी हुने आधार दुनियाँमा अरु केहि नै छैन, आमाको उपस्थिति बाहेक । 

आमासंग रहन्जेल मन हल्का हुन्थ्यो । आमाले ल्याइदिएका खानेकुराहरु खुशी हुदै खान्थे । आमासंगै बजार जान्थें । महिनौंको गनथन आमालाई सुनाउँथें । आमाले पनि मेरा सबै कुरा सुनिदिनुहुन्थ्यो । यहि झमेटमा भनिदिन मन थियो, कि आमा मलाई तपाईसंगै लैजानुहोस् । मलाई तपाईं बिनाको शहरले कुनै खुशी दिएको छैन । आमाले मेरो मुखबाट त्यो शब्द सुन्नै चाहानुहुन्नथ्यो । न मैले खुलेर भन्न नै सक्थें । तर किनकिन आमा जाने बेला भएपछि आमाको चुम्बकले मलाई त्यतैत्यतै तान्थ्यो । आमालाई बस चढ्ने ठाउँसम्म बिदाइ गर्न पुग्दासम्म त मेरा आँखा रसाइसकेका हुन्थे । बिदाइका हात हल्लाउँदा त यस्तो लाग्थ्यो मेरो हातमा पाँच किलोको ढुङ्गाले थिचेको छ । आवाजै ननिस्किने गरि कसैले घाँटी दबाएको छ । आमाले मेरो हातमा केहि पैसा थमाइदिएर बस चढ्नुहुन्थ्यो । म त्यो पैसा बाटोमै फालेर घुँडा धसीधसी रोइकराइ गर्थें । मेरो पत्तो चल्दैनथ्यो । फालेको पैसा टिपेर मन भारी पार्दै त्यहि ठाउँमा फर्किन्थें, जहाँ म बस्नै चाहान्नथें । 

दशैं र तिहार एकैचोटी बिदा हुन्थ्यो । म आमाबुबासंग एक महिना संगै बस्न पाउँथें । वर्षभरिमा म यहि एक महिनाको बिदा सम्झिएर दिन बिताउँथें । औंला गन्थें, क्लेन्डर हेर्दै गोलो लगाउँथें । 

त्यतिबेला त बजारमा थिएँ । चाहेको बेला घर पुग्न सक्थें । अहिले त परदेशमा छु । न चाहेको बेला घर पुग्न सक्छु, न आमासंग भरपेट कुरा गरेर मनका सबै बह पोख्न नै । मन भारी हुन्छ, आमासंग दुख बिसाउँन मन लाग्छ । फेरि सोच्छु, कतै त्यो भार आमाले सहन नसक्ने त होइन ? आफ्नो बच्चा जति ठुलो भए पनि आमाको लागि त सानै हुन्छ । तर म आमाका लागि कति सानी छु होला ? आफैंले सोच्दा पनि अब त ठुलो भएँ कि जस्तो लाग्छ । पहिला जस्तै आमाको अघि रुँन लाज लाग्छ । सायद, रुन सकेको भए, आज यी भावहरु शब्द बनेर छचल्किने थिएनन् होला । आइ मिस यु आमा !