• बिहीबार, १३ बैशाख, २०८१
  • ०२:०१:३४

महादीपदान गरी बसेका भक्तजनले छरे शतबीज

  • Netizen Nepal
  • मंगलबार, ६ मङ्सिर, २०७९- ११:५२:००/ Tuesday 11-22-22

नेटिजन संवाददाता

काठमाडौँ, ६ मङ्सिर। मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरिन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । महादीपदान गर्न सोमबार बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सुरु भएको थियो ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति महादीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले चतुर्दशीका दिन बिहानैदेखि दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्न थालेका हुन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा छ ।

दिवङ्गत पितृका नाममा महादीपदान गरी शतबीज छर्न लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बत्ती बाली भक्तजन रातभर शिवालयमा जाग्राम बस्छन् । त्रयोदशीको रातभर दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको सोमबार पशुपतिमा भीड लागेको थियो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको  कोषले जनाएको छ । पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रलगायत राजधानीका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत सहर बजारका शिवालयमा पनि महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छर्न थालेका छन् । यसैगरी देशका अन्य स्थानमा रहेका शिवालयमा पनि महादीपदान गरी बसेका भक्तजनले बिहानैदेखि शतबीज छर्छन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए । 

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल,गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरु अन्न होइन भन्नुहुन्छ धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम । 

“भगवान् शिव मृगरुप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो । 

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ । रासस