गूगल म्याप्सका यी महत्वपुर्ण फिचरहरु
- नेटिजन संवाददाता
- मंगलबार, २३ पौष, २०८१- १४:४१:००/ Tuesday 01-07-25
काठमाडौं । घुम्न जानु अधिकांशका लागि तनावबाट मुक्त हुने र नयाँ ठाउँको अनुभव लिने अवसर हो। तर, यात्रामा निस्किनुअघि उपयुक्त योजना बनाउन आवश्यक पर्छ। यही क्रममा गुगल म्याप्सले तपाईँको यात्रा अझ सहज र रमाइलो बनाउन महत्वपूर्ण सहयोग गर्न सक्छ।
गुगल म्याप्सले तपाईंलाई ट्राफिक जानकारीदेखि अफलाइन नेभिगेसनसम्मका विभिन्न फिचर उपलब्ध गराउँछ। यहाँ ती फिचरबारे विस्तृत जानकारी दिइएको छ:
१. नेभिगेट गर्न सजिलो
ठूला मल, एयरपोर्ट, स्टेडियमजस्ता स्थानहरूमा पुग्दा दिशा खोज्न मुस्किल पर्न सक्छ। यस्ता ठाउँहरूमा गुगल म्याप्सको ‘डिरेक्टरी फिचर’ निकै उपयोगी हुन्छ। यस फिचरले तपाईंलाई कुनै ठाउँमा रहेका रेस्टुरेन्ट, पसल, पार्किङ स्थल, खुल्ने समय तथा स्थानको तलाबारे जानकारी दिन्छ।
२. ठाउँको भीडभाड थाहा पाउने
तपाईंले कुनै स्थान कहिले व्यस्त हुन्छ भन्ने कुरा पहिल्यै थाहा पाउन गुगल म्याप्स उपयोग गर्न सक्नुहुन्छ। ‘पपुलर टाइम्स’ नामक यो फिचरले दिन र समय अनुसारको भीडको अवस्था देखाउँछ। यसले यात्राको योजना बनाउन निकै सजिलो बनाउँछ।
३. रेस्टुरेन्ट बुकिङको सुविधा
यात्रामा कतै खानपिन गर्नका लागि रेस्टुरेन्ट खोज्नुपर्छ। गुगल म्याप्सको यो फिचरबाट तपाईं आफ्नो रुचिअनुसार रेस्टुरेन्ट खोजेर बुक गर्न सक्नुहुन्छ। म्याप्स खोल्दा ‘रेस्टुरेन्ट’ ट्याबमा गएर आफूलाई मनपर्ने रेस्टुरेन्ट बुक गर्न सजिलै मिल्छ।
४. अफलाइन म्याप्सको सुविधा
यदि तपाईं त्यस्तो ठाउँ जाँदै हुनुहुन्छ जहाँ इन्टरनेटको पहुँच छैन भने गुगलको अफलाइन म्याप्स फिचर निकै उपयोगी हुन्छ। यो फिचर प्रयोग गर्न तपाईंले जानुपर्ने स्थानको म्याप डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरिएको म्यापमा इन्टरनेटबिना पनि दिशा पत्ता लगाउन सकिन्छ।
५. ईभी चार्जिङ स्टेसनको जानकारी
नेपालमा पनि विद्युतीय गाडी (ईभी) प्रयोग गर्नेहरूको संख्या बढ्दो छ। गुगल म्याप्सले ईभी चार्जिङ स्टेसन खोज्ने सुविधा उपलब्ध गराउँछ। म्याप्सको ‘मोर’ सेसनमा गएर ‘चार्जिङ स्टेसन’ विकल्पमा क्लिक गर्दा नजिकका चार्जिङ स्टेसन देख्न सकिन्छ।
गुगल म्याप्सका यी फिचरहरू बुझेर प्रयोग गर्न सक्नुहुन्छ भने तपाईंको यात्रा सहज, सुरक्षित र रमाइलो बन्न सक्छ।