• मंगलबार, ४ बैशाख, २०८१
  • १०:५४:५६

उत्कृष्ट १६ करदाता सम्मानित, यी हुन सबैभन्दा बढी करदाता    

स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ ।

  • Netizen Nepal
  • बुधबार, ७ मङ्सिर, २०७९- १९:२५:००/ Wednesday 11-23-22

  नेटिजन सम्बाददाता 
काठमाडौँ, ७ मङ्सिर।  आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ । साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उहाँहरूलाई सम्मानित गरेको हो ।   विभागका अनुसार गत वर्षको उत्कृष्ट करदाताका रूपमा व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित हुनुभएको छ । संस्थागततर्फ सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दाखिला गरेको विभागले जनाएको छ ।   

 त्यस्तै, निर्यात कारोबारबाट बढी आयकर तिर्नेमा श्री शिव शक्ति घ्यु उद्योग प्रालि, विशेष उद्योगतर्फ राजेश मेटल क्राफ्ट प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये ओसिबी फुड्स एण्ड फिड्स प्रालिलाई सम्मानित गरिएको छ ।  बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये नबिल बैंक लिमिटेड, बिमा व्यवसायमध्ये नेपाल पुनःबिमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि र पर्यटन व्यवसायमध्ये मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको विभागले जनाएको छ ।    

 त्यसैगरी वस्तु तथा व्यापारको कारोबारमध्ये हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेड, मध्यमस्तरीय करदातामध्ये नेपाल धितोपत्र विनिमय बजार लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, रेमिटेन्स तथा मनि ट्रान्सफरमध्ये आइएमई लिमिटेड र सबैभन्दा बढी कूल आन्तरिक राजस्व दाखिला गर्नेमा सूर्य नेपाल प्रालिलाई सम्मानित गरिएको हो ।    
    
 विसं २०६७ देखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गरेको कम्पनीका रूपमा गोर्खा ब्रुअरी प्रालिलाई सम्मानित गरिएको छ । 

 विभागले कर दिवसका अवसरमा १० जना कर्मचारीलाई पनि सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई पनि सम्मानित गर्दै आएको छ । यस वर्ष चुनाव आचारसंहिता लागू भएका कारण विभागले सम्मान वितरण कार्यक्रम आज राखेको हो ।        
 विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय रहेका छन् । यस वर्षको कर दिवसको नारा ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ रहेको छ ।    
    
स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४८ लाख नाघ्यो    
   विभागका अनुसार गत असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ । विसं २०७८ असार मसान्तसम्ममा यस्तो सङ्ख्या ४० लाख ४९ हजार एक सय नौ रहेको थियो । अर्थात् गत आर्थिक वर्ष २०७८÷७९ मा मात्रै सात लाख ६३ हजार छ सय आठ करदाता थपिएका छन् । अब व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता रहेका छन् ।   गत आर्थिक वर्षमा व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान) तर्फ दुई लाख ११ हजार आठ सय ६६ करदाता र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ पाँच लाख ९६ हजार तीन सय ७२ करदातालाई करको दायरामा ल्याइएको विभागले जनाएको छ ।    
    
 सरकारको गत आर्थिक वर्षमा कूल राजस्व सङ्कलन रु १० खर्ब ६७ अर्ब ९५ करोड रहेको थियो । जसमा आन्तरिक राजस्वको हिस्सा मात्रै ४४ प्रतिशत बराबर रहेको छ । आन्तरिकतर्फ रु पाँच खर्ब ३७ अर्ब ९४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारको रहेकामा रु चार खर्ब ८३ अर्ब ४८ करोड असुली भएको थियो । जुन वार्षिक लक्ष्यको ८९ दशमलव ८८ प्रतिशत बराबर हो । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व वृद्धिदर १२ दशमलव ५९ प्रतिशतले बढी हो ।    
    
 गत आर्थिक वर्षमा आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी आयकरको ४७ दशमलव ४२ प्रतिशत योगदान रहेको छ । त्यस्तै मूल्य अभिवृद्धि करको योगदान २३ दशमलव ९६ प्रतिशत र अन्तःशुल्कको योगदान २१ दशमलव ३० प्रतिशत रहेको छ । ब्याज करको योगदान पाँच दशमलव ११ प्रतिशत छ भने बहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा करको अंश एक दशमलव ३० प्रतिशत र शिक्षा शुल्क कर शून्य दशमलव २६ प्रतिशत रहेको छ ।    
    
 गत आर्थिक वर्षमा ठूला करदाता कार्यालयबाट ३८ प्रतिशत, मध्यमस्तरीय करदाता कार्यालयबाट छ प्रतिशत तथा आन्तरिक राजस्व कार्यालयबाट ५६ प्रतिशत आन्तरिक राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।     त्यसैगरी गत आर्थिक वर्षको अनुमानित राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (उत्पादन मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोडसँगको तुलनामा कर राजस्वको योगदान २० दशमलव २९ प्रतिशत रहेको छ । जसमा मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कको अनुपात क्रमशः छ दशमलव ४८ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत र तीन दशमलव ४४ प्रतिशत रहेको छ ।    रासस