• शुक्रबार, १४ बैशाख, २०८१
  • ०६:२३:१९

चुनाव गराउन गएका कर्मचारी डोल्पामा अलपत्र, मौसम खुलेसँगै उद्धार कार्य सुरु

  • Netizen Nepal
  • शुक्रबार, ९ मङ्सिर, २०७९- १७:०४:००/ Friday 11-25-22

नेटिजन संवाददाता

काठमाडौँ, ९ मङ्सिर। निर्वाचन गराउन माथिल्लो डोल्पामा खटिएका कर्मचारीको उद्धार कार्य शुक्रवार बिहानबाट सुरु भएको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार आज बिहान ७ बजेबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् उनीहरूलाई डोल्पा सदरमुकाम ल्याउन थालिएको हो।

अहिलेसम्म ४३ जना कर्मचारीहरूको उद्धार भएको बताइएको छ। “अहिले १७ जनाको उद्धारका लागि हेलिकप्टर सालदाङ भन्ने ठाउँमा पुगेको छ। त्यसपछि थप ९० जना कर्मचारी बाँकी रहनुहुन्छ,“ उनले भने। कर्मचारीहरूलाई बिहीवार नै ल्याइने भनिए पनि डोल्पामा धेरै हावा चलेका कारण हेलिकोप्टर जान सम्भव भएको थिएन।

त्यहाँ खटिएका धेरै जसो कर्मचारीहरू चिसोका कारण बिरामी परेकाले उनीहरूले छिटो उद्धारको माग गर्दै आएका छन्। उनीहरूमा ज्वरो आउने र झाडापखाला लाग्ने, टाउको दुख्ने र खोकी लाग्ने जस्ता समस्या देखिएको सहायक मतदान अधिकृतका रूपमा खटिएका सन्तोष बोहराले बताए।

उनले भने,”हामीसँग रासनपानी सबै सकिएको छ। हामी यति बेला शे फोक्सुन्डो गाउँपालिकाको भिजेर भन्ने ठाउँमा १७ जनाको समूहमा छौँ।“

यस्तै शे फोक्सुन्डो गाउँपालिकाको सालदाङमा पनि ३६ जना उद्धारको पर्खाइमा रहेको अर्का कर्मचारी कमल बोहराले जानकारी दिए। उनका अनुसार १७ कर्मचारी, १३ जना म्यादी प्रहरी, ६ जना नेपाली सेना र २ जना नेपाल प्रहरी रहेका छन्।

“अधिकांश बिरामी परेकाले कसरी बाँच्ने भन्ने भएको छ,“ उनले भने। बिरामी परेका कर्मचारीहरूलाई सदरमुकाम दुनै ल्याई उपचार प्रक्रिया अघि बढाउने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले दिएको जानकारीअनुसार माथिल्लो डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाका वडा नं ४, ५ र ७, ६ र छार्काभोट भन्ने ठाउँमा कर्मचारीहरू रोकिएका छन्।