• शनिबार, २२ बैशाख, २०८१
  • ०५:३१:३२

८ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

काठमाडौं। राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा  हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । 

जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार ३ हजार ७ सय ९७ जना बालिका र ४ हजार ४ सय ८० जना बालक गरी ८ हजार २ सय ७७ जना विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेका हुन् । विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिनुभयो ।

तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो । सबैभन्दा कम पर्सा गाउँपालिकाका बालबालिका विद्यालय बाहिर छन् । बरहथवा नगरपालिकामा ५ देखि १२ वर्ष उमेर समूहका ३ सय ६९ जना बालिका र ४ सय ६३ जना बालक गरी ८ सय ३२ बालबालिका विद्यालय बाहिर छन् । 

यस्तै सबैभन्दा कम पर्सा गाउँपालिकामा १ सय १५ जना बालिका र १ सय २७ जना बालक गरी २ सय ४२ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका–१, स्थित प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताउनुभयो । यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना अभियान मार्फत विद्यालयमा ल्याइने शिक्षक रायले बताउनुभयो ।

अन्य पालिकामा पनि विद्यालय उमेरका बालबालिका अझै विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । विशेष गरेर गरिबी तथा चेतनास्तरको कमीका कारण बालबालिकालाई अभिभावकले विद्यालय नपठाउने गरेको पाइएको छ ।

धेरै अभिभावक इँटाभट्टालगायत स्थानमा मौसमी कामदारका रूपमा जाने गर्दा पनि बालबालिका विद्यालय बाहिर रहने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख राजवृक्ष महतोले बताउनुभयो । 

यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन जिल्लामा यतिबेला भर्ना अभियान चलिरहेको छ । विद्यालयका शिक्षक शिक्षिका व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थितिमा र्‍याली तथा घर दैलो कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । अधिकांश पालिकाले यस वर्ष विद्यालय उमेरका बालबालिकालाई शतप्रतिशत विद्यालय भर्ना गरिने बताएका छन् । रासस।