• शनिबार, २२ बैशाख, २०८१
  • ०९:३७:५०

तारिणीप्रसाद कोइरालाको उपन्यास सार्वजनिक

काठमाडौँ । साहित्यकार तथा संचारकर्मी  स्व.तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा”  सार्वजनिक गरिएको छ । कोइरालाले चार दशक अघि आफ्नो जेल जीवनमा लेख्नुभएका डायरीलाई  उहाँको परिवारले उक्त उपन्यास प्रकाशित गरेको हो ।

कोइरालाका सुपुत्र स्व.ज्योतिप्रसाद कोइरालाको निवास बौद्धमा उहाँकी श्रीमति तथा तारिणी प्रसाद कोइरालाकी बुहारी इन्दिरा कोइरालाको अग्रसरतामा बैशाख १० गते आयोजित कार्यक्रममा उक्त उपन्यास लोकार्पण गरिएको  हो । लोकार्पण कार्यक्रममा कोइराला परिवारका सदस्यहरु शशांक कोइराला, सुजाता कोइराला, लगायत उपस्थित हुनुहुन्थ्यो।  कार्यक्रममा स्व.ज्योति प्रसाद कोइरालाको “मैले देखे भोगेका कुरा” नामक आत्मकथा समेत लोकार्पण गरियो ।

कार्यक्रममा स्व.तारिणीप्रसाद कोइरालाकी बुहारी इन्दिरा कोइरालाले स्वर्गीय कोइरालाका अन्य अप्रकाशित कृतिहरू पनि रहेको जानकारी दिदै सबै अप्रकाशित  कृतिहरु विस्तारै प्रकाशित गर्दै जाने बताउनुभयो । 
रेडियो नेपालका संस्थापक समेत रहनुभएका स्व. तारिणीप्रसाद कोइरालाका रातो स्वेटर, सर्प दंश, फालिएको सामान, अग्निवाटिका, नैनी, तारिणीका कविता र तारिणीका कथा कृतिहरू यसअघि नै प्रकाशित छन् । उहाँले रेडियो नेपालको मुखपत्र झंकारको समेत प्रकाशन शुरु गर्नुभएको हो । तारिणी प्रखर लेखन क्षमता भएका व्यक्ति हुनुहुन्थ्यो । वि.स. २००७ सालको क्रान्तिमा वि पी कोइरालाका सारथिको रुपमा काम गर्नुभएका  कोइरालाले राणा  शासनको अन्त्य गरि  नेपालमा प्रजातन्त्र ल्याउँन रेडियो संचारबाट खेलेका भूमिका उल्लेखनिय मानिन्छ ।