• शनिबार, १२ श्रावण, २०८१
  • ०२:२३:००

स्वाट्टै घट्यो जापानको जन्मदर, प्रधानमन्त्री किशिदा चिन्तित 

  • Netizen Nepal
  • मंगलबार, १० माघ, २०७९- ०७:३७:००/ Tuesday 01-24-23

नेटिजन संवाददता 
काठमाडौँ, १० माघ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घट्दो जन्मदरका कारण देशले काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको बताउनुभएको छ ।

संसदमा आफ्नो नीतिगत मन्तव्य दिदै प्रधानमन्त्री किशिदाले जन्मदर घटिरहेको कारण देशले एउटा समाजको रूपमा काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै त्यसको सम्बोधन गर्नु आफ्नो मुख्य प्राथमिकता हुने बताउनुभएको बीबीसीले जनाएको छ ।

झण्डै १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा गएको वर्ष आठ लाखभन्दा कम बच्चा जन्मिएको तथ्याङ्क छ । सन् १९७० को दशकमा जापानमा बर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका थिए ।

जापानको औसत आयु भने बढिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्नु र उनीहरूलाई सहयोग गर्नेहरूको सङ्ख्या घट्नुले समस्या बढिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताउनुभयो । यसअघि पनि जापान सरकारले बच्चा जन्माउन लगाउन विभिन्न कार्यक्रम अघि सारे पनि प्रयासहरू सफल भएका छैनन् ।