• शनिबार, ८ बैशाख, २०८१
  • ०७:४३:०७

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु

  • Netizen Nepal
  • मंगलबार, १० माघ, २०७९- १७:४०:००/ Tuesday 01-24-23

नेटिजन सम्बाददाता 
    काठमाडौँ, १० माघ। बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जनाको मृत्यु भएको छ । गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका– २ की जमुनामा रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार  बडिमालिका नगरपालिका वडा नं ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको  छ।  बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन ।

भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित विभिन्न सरकारी भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प  म्याग्निट्यूडमा ५.९ मापन गरिएको छ जुन  मध्यम श्रेणीको भूकम्प मानिन्छ। स्थानीय समयानुसार उक्त भूकम्प दिउँसो २:४३ बजे गएको केन्द्रले जनाएको छ। गत कात्तिकको ९ गते  डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निट्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पका कारण   छ जनाको मृत्यु भएको थियो।

पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरूको भनाइ छ।