• शुक्रबार, ७ बैशाख, २०८१
  • १०:१७:३७

अतिक्रमणको चपेटामा चाँगुनारायण

  • Netizen Nepal
  • सोमबार, १ फाल्गुण, २०७९- १४:३१:००/ Monday 02-13-23

रमेश गिरी
भक्तपुर, १ फागुन ।  लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा विश्वसम्पदा सूचीमा समावेश गरेको चाँगुनारायण मन्दिर वर्षामा जाने पहिरो र हिउँदमा बर्सेनि बालुवा उत्खनन र निकासीका कारण उच्च जोखिममा परेको छ .

लिच्छवी राजा मानदेवले ५२१ सालमा मन्दिर जीर्णोद्धार गरेसँगै मन्दिर अगाडि संस्कृत भाषामा लिच्छवी अक्षरले लेखिएको गरुडको प्रस्तर मूर्तिलगायत शिलापत्र राख्न लगाएको इतिहास रहेको छ । चाँगुनारायण मन्दिर ३२३ वर्षअघि राजा भूपालेन्द्र मल्लले जीर्णोद्वार गराउँदा मन्दिरको मुख्य ढोका अगाडि राखिएको रानी भुवनलक्ष्मी मल्लको ढलोटको मूर्ति अहिले पनि देख्न सकिन्छ ।
    
मन्दिरको पूर्व र पश्चिम दिशा वर्षौंदेखि गएको पहिरो नियन्त्रणमा आउन नसक्दा मन्दिर उच्च जोखिममा परेको हो । मन्दिरको पश्चिमपट्टि रहेको चाँगुनारायणको नौमध्ये महत्वपूर्ण चन्द्र सूर्यको मठसम्म पहिरो आइपुगेको मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुहुन्छ । अनिवार्य पूजा गर्नुपर्ने उक्त मठ नजिकै पहिरो आएको बताउँदै उहाँले मन्दिर उच्च जोखिममा पर्दा पनि यसलाई जोगाउन सम्बन्धित निकायले चासो नदिएको गुनासो गर्नुभयो । 
    
लामो समयदेखि मनोहरा खोलामा भइरहेको बालुवा चोरी निकासी रोक्न नसकिएको, मन्दिर रहेको ठूलो थुम्काको तल आडका रुपमा रहेका ससाना ढिस्का, पहाडलाई खोस्रेर बालुवा खानी सञ्चालन गर्ने र जग्गा चक्लाबन्दी गरेर बिक्री गर्ने क्रम बढेपछि मन्दिर थप जोखिममा परेको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा २० वर्षदेखि पहिरो जान थालेको बताउँदै स्थानीयवासीले पहिरो रोकथाम गर्न र जथाभावी बालुवा झिक्न रोक्न नसकिएका कारण मन्दिर थप जोखिममा परेको बताएका छन् । 
    
पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मी चाँगुनारायण मन्दिर अतिक्रमणमा परेको गुनासो गर्नुहुन्छ । उहाँ मनोहरा खोलामा हुने बालुवा उत्खनन तथा निकासी, आसपासका साना ढिस्का भत्काउनु र अहिले पनि मन्दिरलाई समेत दीर्घकालीनरुपमा क्षति हुने गरी आसपासका क्षेत्रमा डोजर लगाउनुले मन्दिर जोखिममा परेको बताउनुहुन्छ ।
    
मन्दिर क्षेत्र र आसपासका मन्दिरको सम्पत्ति अतिक्रमणको चपेटाका पर्दा यहाँको मौलिक धरोहर नै सङ्कटमा परेको उहाँको भनाइ छ । सार्वजनिक र मन्दिरको सम्पत्ति व्यक्तिका नाममा दर्ता हुने र अतिक्रमण गरेर व्यवसाय सञ्चालन गर्ने क्रम बढेकाले मन्दिरको अस्तित्व सङ्कटमा परेको उहाँको भनाइ छ ।

विसं २०७२ को महाभूकम्प र त्यसपछिको परकम्पले मन्दिरलाई क्षति पु¥याएपछि पुरातत्व विभागले मूल मन्दिरको जीर्णोद्धार सकाएर मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण गर्न सुरु गरेको छ ।  यसअघि पनि पहिरो नियन्त्रणका लागि काठ र बाँसका टेका दिएर जस्ताले बारिएको थियो तर मन्दिरको ठीक तल उत्तर पूर्वतर्फ मनोहरा खोला र आसपासका ढिस्को फोडेर बालुवा निकासी गर्ने क्रम नरोकिँदा मन्दिर थप जोखिममा परेको हो ।

उत्तरतर्फ गङ्गा महारानीको सत्तलको पछाडिको भाग पहिरो गएकाले चाँगु मन्दिर र सत्तलका साथै बस्तीमा पनि असर पु¥याउने खतरा बढ्दो छ । पश्चिमको १०८ सिंढी तलको शङ्ख, चक्र छेउको पहिरोले शङ्ख, चक्र जोखिममा परको छ । मन्दिर आसपासका क्षेत्रमा माटो, बालुवा उत्खनन गर्दा जमिन भासिने, धाँजा फाट्ने क्रम बढेको विभिन्न अध्ययनले देखाएको छ । मन्दिर क्षेत्र वरिपरि प्रत्येक वर्ष सानातिना पहिरो झर्ने क्रम जारी रहेको छ । 

मनोहरा खोलाको बालुवा निकाल्न र क्रिकेट मैदान निर्माणमा ठूला उपकरणबाट बालुवा उत्खनन गर्दा मन्दिरको जमिन भासिँदै गएको युनेस्कोको अध्ययनले देखाएको छ । इटालीका भूगर्भविद्ले २०७२ वैशाख १२ गतेको भूकम्पपछि चाँगुनारायण क्षेत्रको अध्ययन गरी पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका थिए । अध्ययनमा १६ ठाउँमा पहिरो गएको र यसले मन्दिरलाई अरु जोखिम बढाएको उल्लेख गरेको छ । अध्ययनले यहाँको कमजोर भू–सतहका कारण मन्दिर उच्च जोखिममा परेको देखाएको छ ।
    
अध्ययन प्रतिवेदनमा कमजोर, बलौटे र सजिलै बग्ने माटो भएको जनाएको छ । यस प्रतिवेदनले भिरालो संरचना भू–क्षय र पहिरोबाट जोगाउन तत्काल माटो, बालुवाजन्य वस्तु उत्खनन रोक्नुपर्ने, बायो–इञ्जिनियरिङ प्रविधि अपनाउनुपर्ने र ठाउँठाउँमा रिटेनिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने सुझावसमेत दिएको थियो । ती कुनै सुझाव कार्यान्वयनमा आएका छैनन् । भूकम्पपछि सरकारले पठाएको प्रतिवेदन र भूविज्ञहरूको सूचनाका आधारमा युनेस्कोको ‘वल्र्ड हेरिटेज सेक्सन’ले गरेको अनुगमनमा मन्दिरका संरचना भत्किएको र जमिन भासिएको उल्लेख गरेको छ । 
    
मन्दिरको उत्तर–पश्चिम क्षेत्रमा विगत १० वर्षयता लगातार पहिरो गइरहेको छ । यसअघि पनि पश्चिमपट्टि रहेको चाँगुनारायणको नौमध्ये महत्वपूर्ण चन्द्र सूर्यको मठसम्म पहिराले छोएको थियो । पुरातत्वले सत्तल पुनःनिर्माणका लागि पर्खाल लगाए पनि डाँडामुनिको निरन्तर बालुवा उत्खननका कारण जुनसुकै बेला पहिरो झर्ने पूर्ववडाध्यक्ष बुद्धिलाल श्रेष्ठका बताउनुहुन्छ । 
    
त्रदशकौँदेखि पहिरोको जोखिम मानिँदै आएको चाँगु क्षेत्रका सम्पदासमेत नासिँदै गएका छन् । यस क्षेत्रको मुख्य धरोहर मानिएको नौ दह लगभग करिब लोप हुने अवस्थामा पुगेका दरबार हेरचाह कार्यालयकी प्रमुख नकर्मी बताउनुहुन्छ । यहाँको शङ्ख दह, धनचा दह, सिन्हः पुखु, ग्वाल्दह, बाँदह, तेपोवुंग्वा दह, अजिमा दह, फादह, काली दहमध्ये अधिकांश अहिले अवशेषका रूपमा मात्र रहेका छन् । 
    
मुख्य मन्दिरसँग जोडिएर आउने शङ्ख दहमा गएको पहिरोसँगै भासिएको थियो । चाँगुनारायण नगरपालिकाले मन्दिर क्षेत्रको शङ्ख दह संरक्षणका लागि यसअघि बजेट विनियोजन गरेपनि दहले मौलिक स्वरूप नपाएर कृतिम अवस्थामा राख्नु परेको पूर्व वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । दुई वर्ष अगाडि नै पुनर्निर्माणका लागि शङ्ख दहमा खाल्डो खन्ने काम भए पनि अरु कार्य अगाडि बढेको छैन । यहाँका ऐतिहासिक दहका जमिन भासिने, धाँजा फाट्ने र सुक्दै जाने क्रम बढिरहेको छ । 
    
यस मन्दिरमा पर्वअनुसार चल्ने नाच, भजन, जात्रा, बाजा समेत लोपोन्मुख अवस्थामा पुगेको चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द रोजोपाध्यायको भनाइ छ । विगतमा नगरपालिकाले यही मन्दिर देखाएर पर्यटन शुल्क असुले पनि सम्पदा संरक्षणमा चासो नदिएको उहाँको गुनासो छ । यहाँका ढिस्कोहरु भत्काएर जग्गा सम्याउने नाममा दैनिक डोजर लाग्दा र ढिस्को सम्याउँदा मन्दिर थप जोखिममा परेको उहाँ बताउनुहुन्छ । 
    
सम्पदास्थललाई नै क्षति पुग्ने गरी कुनै अध्ययन अनुसन्धान नगरी डोजर लगाउँदा थप भू–क्षय हुने र यसको प्रतक्ष्य असर मन्दिरलाई पर्ने भन्दै उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । सम्बन्धित निकायमा यसबारेमा जानकारी गराए पनि नरोकिएको र नगरपालिकाले पनि यसतर्फ कुनै चासो नदिएको उहाँको भनाइ छ । 

उहाँले यस्तो प्रसिद्ध मन्दिरसमेत अतिक्रमण र व्यक्तिको नाममा दर्ता गर्ने क्रम बढेको बताउनुभयो । मूल पुजारी राजोपाध्यायले भन्नुभयो, “एकातिर मन्दिर नै सङ्कटमा परेको छ । अर्कोतर्फ मन्दिरको सम्पदास्थलनै व्यक्तिको नाममा दर्ता भएका छन् । मन्दिरको पूर्वतर्फको मल्लकालीन मूर्ति भएको जमिन व्यक्तिले आफ्नो नाममा दर्ता भएर आएको छ । मन्दिरको पूर्व खानेपानी ट्याङ्की मल्लकालीन दरबार, मूर्तिहरु भएको र चाँगुनारायण कूलदेवताको घर समेत व्यक्तिको नाममा दर्ता भएर आएको छ । मन्दिरको जग्गामा घर र होटलहरु बनेका छन्, अतिक्रमणको निकै चपेटामा परेको छ ।”
    
यसबारेमा पुरातत्व विभागदेखि गुठी संस्था कार्यालयसम्म स्थानीयले हस्ताक्षरित पत्र बुझाइसकेका छन् । चाँगुनारायणको कूलदेवताको घर र त्यहाँका मन्दिरका लागि गुठी संस्थानले पूजा चलाउने हरेक वर्ष पूजा खर्च र बाली दिंदै आएको गुठी संस्थानले व्यक्तिको नाममा दर्ता भएको उक्त जमिन चाँगुनायण मन्दिरको हो भनेर प्रमाण नभएको जवाफ दिएको गुनासो उहाँको छ । मन्दिर क्षेत्रभित्रै वर्षौैंदेखि सञ्चालन गरिंदै आएको किराना पसल पनि खाली गराउन सकेको छैन । 
    
नगरपालिकाका प्रमुख जीवन खत्री भने आउँदो आर्थिक वर्षमा चाँगुनारायण मन्दिर र त्यससँग जोडिएको ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि गुरुयोजना बनाएर संरक्षणमा लाग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नगरपालिकासँग थोरै बजेट हुन्छ, त्यसबाट यति ठूलो सम्पदाको संरक्षण सम्भव छैन, त्यसका लागि नगरपालिकासँगै प्रदेश र केन्द्रीय सरकारबाट बजेट व्यवस्थापनका लागि पहल गरिएको छ ।”
    
मनोहरा खोलाको बालुवा उत्खनन रोक्नेतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । भक्तपुर र काठमाडौँको सिमाना रहेको यस खोलामा वर्षौंदेखिको बालुवा उत्खनन, चोरी पैठारीलाई रोक्नु आवश्यक रहेको उहाँको भनाइ छ । वर्षांैदेखि बालुवा दोहन, मन्दिरको आडका रुपमा रहेको यहाँका ससाना ढिस्का सबै मासेर सम्याएर जग्गा चक्लाबन्दी गर्दै यहाँ घर ठडिएकाले पनि मन्दिर जोखिममा परेको छ ।
    
मन्दिरको संरक्षणसँगै यस क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक केन्द्रका रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि सारेको उहाँको भनाइ छ । विश्वसम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिर, त्यहाँको मानव बस्ती र खानेपानीको मुहान जोखिममा परेको पूर्वसांसद प्रेम सुवाल बताउनुहुन्छ । स्थानीयवासीले २०७७ माघ १९ गते चाँगुनारायण मन्दिर रहेको सिङ्गो डाँडोलाई संरक्षण गर्न वरिपरि माटो र बालुवा उत्खनन कार्य बन्द गराउन जिल्ला प्रशासन कार्यालयमा भक्तपुरमा निवेदन दिएका थिए । तर पनि माटो बालुवा उत्खनन नरोकिएको उहाँको भनाइ छ ।