• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:४९:४०

युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न राष्ट्र सङ्घकाे आह्वान

  • Netizen Nepal
  • शुक्रबार, १२ फाल्गुण, २०७९- १०:५१:००/ Friday 02-24-23

नेटिजन संवाददाता 
काठमाडौँ, १२ फागुन । संयुक्त राष्ट्र सङ्घको महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको छ । महासभाले रुसले युक्रेनमाथि गर्दै आएको आक्रमण तत्काल रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको हो । यो प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका छन् । ७ वटा देशले प्रस्तावको विपक्षमा मतदान गरे भने चीन, भारत, इरान, दक्षिण अफ्रिकालगायतका ३२ देश तटस्थ बसेका छन् ।

रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । महासभाले आफ्नो मागलाई पुनः दोहोर्‍याउँदै रुसले तत्काल पूर्ण र विना सर्त युक्रेनको क्षेत्रबाट आफ्ना सबै सैन्य बल फिर्ता गर्न आह्वान गरेको हो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको शुक्रवार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।