'पढेकालाई क्यालकुलेटर थिच्नुपर्छ, हामीलाई यत्तिकै आउँछ'
- पार्वती अधिकारी
- शुक्रबार, १२ फाल्गुण, २०७९- १८:०२:००/ Friday 02-24-23
अर्थशास्त्र पढाउने सर बडो अजिवका थिए । उनि आएपछि कक्षामा 'पिन ड्रपवाला साइलेन्ट' हुने । उनको अनुहार नै हिटलरवाला । देख्यो कि तर्सिहाल्न मन लाग्ने । कक्षामा साथीसंग बोल्दा पिटाइ खाइन्थ्यो । सरले सोधेको कुरा भनेन भने पनि कुटाइ खाइन्थ्यो। बोल्नु कि नबोल्नु निकै नै दोधार । उनको अनुहार देखेपछि घाँटीनिर आइसकेको बोलि पनि फर्किएर पेटतिर जान्थ्यो । त्यहि कारण पनि पिटाइ खाइन्थ्यो । बेञ्चमेटसंग थोरै हाँसिमजाक गर्न नि नपाइने, लेख्दै गरेको चकले सिधा टाउकोमा लाग्ने गरि बजाइहाल्थे । कहिलेकाहीं हामीलाई घोक्न लगाएर आफुचाहिं कुर्सीमै भुसभुस निदाइसकेका पनि हुन्थे। मैले नदेख्या हो र ?
जे होस्, उनि वास्तवमा चाहिं निकै राम्रा मान्छे थिए । उबेला त्यस्तै थियो । विद्यार्थीलाई भक्कु कुटेपछि आफुलाई टेर्छन भन्ने । सरले हामीलाई कुट्न बनाएको जात्रो लौरो हामी गोरु, बाख्रा चराउन जाँदा पनि बोक्दैनथ्थ्यौं । एक दुई पटक मैले पनि भेटें । दुख्यो दुख्यो भन्न सकिएन । चुपचाप गएर बेञ्चमा बसियो । एकछिनपछि हातमा सुम्लो उठ्थ्यो । हामीले निकै सकससंग पढेका रहेछौं ।
शिक्षकहरुले जहिले पनि किताब पढाए । अक्षर घोकाए । घोक्न सक्नेले घोके, घोक्न नसक्नेलाई ठोके पनि । लाग्थ्यो किताबी अक्षरले मलाई जिन्दगी बुझाएन । सिधा सिधा वार कि पार गरेर भनेन । तर अहिले मलाई किताबले सिकाएका पाठहरु पनि उपयोगी थिए कि जस्तो लाग्छ । पहिला किताब बोक्दा ढाड दुख्थ्यो, लेख्दा हात दुख्थ्यो, घोक्दा घोक्दा दिमाग दुख्थ्यो । अर्थशास्त्र पढाउने सर देख्दा कन्सिरी पनि ताथ्यो । परिक्षा सकिएपछि पढेका सबै कुराहरुलाई डिलिट गरिन्थ्यो र दिमाग, ढाड, हात सबैलाई फ्रि बनाएर आकाशमा उडेको चरीजस्तै बनाइन्थ्यो । त्यो बेला सर्टिफिकेटमा अंक बढाउने बाहेक कुनै उद्धेश्य नै थिएन । घरमा पनि त्यहि अंक देखेपछि आँखा ठुलो, अनुहार चम्किलो र मुहार हँसिलो बनाइदिन्थे । त्यति भएपछि के चाहियो र ?
त्यो बेला वास्तै भएन । किताबले अप्रत्यक्ष रुपमा भविष्य पढाउँछ । त्यसपछि बाँच्दै जाँदा केहि न केहि कुरो फ्याटफ्याट पर्सबाट पैसा निकाले जसरी निकाल्दै उपयोग गर्दै गर्न मिल्छ । अहिले मलाई बाले घरायसी खर्चपर्चको हिसाब किताब गर्न लगाए भने फ्याट उत्तर दिन आइहाल्दैन । क्यालकुलेटर थिच्नुपर्छ । मैले क्यालकुलेटर खोज्नुभन्दा अघि नै बाले हिसाबकिताब मिलाइसक्छन । अनि मलाई खिस्स हाँस्दै व्यंग्य गर्छन्, 'पढेको मान्छेलाई क्यालकुलेटर थिच्नुपर्छ, हामीलाई यत्तिकै आउँछ ।' मेरो बौद्धिकता हिस्स पर्छ । झोलाको सर्टिफिकेटलाई पनि थक्कथक्क लाग्दो हो ।
हुन त हिसाब किताबले मलाई कहिल्यै पत्याएन । उसलाई म मन नपर्ने, मलाई उ । हामी एक अर्कालाई कहिल्यै रुचाउँदैनथ्यौं । त्यतिबेला पास मात्र भएर टर्यो । अहिले जिन्दगीको गणितले पनि अप्ठ्यारो पारिरहन्छ । एकातिर मिलायो अर्कोतिर गडबड, अर्कोतिर मिलायो, अर्कोतिर गडबड ।
कहिलेकाहीं त किताबको हिसाब मिलाउनेहरुले पनि जिन्दगीको अन्दाज लगाउन सकिरहेका हुँदैनन् । उनीहरुलाई अर्थशास्त्रको सिमान्त उपयोगिता ह्रास नियम '( law of diminishing utility ) मा झैं 'अन्य कुरा यथावत रहेमा आफुसंग भएको बस्तुको उपभोगको मात्रा वृद्धि गर्दै लैजाँदा वृद्धिको मात्रासंगै प्राप्त हुने अतिरिक्त लाभ ह्रास हुँदै गएर पो त्यस्तो भएको हो की ! उनीहरुले पढे मात्र, अन्य कुरा यथावत रह्यो । जिन्दगी पढ्न खोज्दा सिमान्त उपयोगिता ह्रास नियम लागु भयो ।
अहिले किताब र जिन्दगी दुवै चिजलाई बराबर स्थान दिएर पढ्नु र बुझ्नुपर्ने रहेछ भन्ने लाग्छ । किताब पनि आधा बुझियो, जिन्दगी त्यो भन्दा पनि आधा बुझियो । मैले कति बुझें त्यो फरक कुरा हो, दुनियाँले मैले भन्दा धेरै पढेका छन्, धेरै बुझेका छन् । तर मानिसले जति पढे पनि घोडाको नालको औंठी बेच्ने काकाहरु बग्रेल्ती बाटोभरि भेटिन्छन् । फुकेको भरमा मृगौलामा गढेर बसेको पथ्थरी स्वात्टै झारिदिने व्यक्तिहरुको 'बिजनेस' पनि फस्टाएकै छ । काला बाबा, सेता बाबा, अघोरी बाबालगायतका रङरङका बाबाहरुका पछाडी दुनियाँ लागेकै छ ।