• शुक्रबार, १४ बैशाख, २०८१
  • ०३:३५:१२

भद्रगोल त्रिभुवन विश्वविद्यालयको लथालिङ्ग स्ववियु निर्वाचन

  • Netizen Nepal
  • आइतबार, २८ फाल्गुण, २०७९- १०:४७:००/ Sunday 03-12-23

नेटिजन संवाददाता

काठमाडौँ, २८ फागुन। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते गरेको निर्णय अनुसार आगामी चैत ५ गते हुँदैछ। यसका लागि तयारीको काम सकिएको र प्रक्रियागत कार्यहरु अघि बढेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

विद्यार्थीको हकहित र शैक्षिक सुधारका लागि काम गर्ने नेतृत्वको रुपमा लिइने स्ववियु निर्वाचन गर्दै गर्दा त्रिभुवन विश्वविद्यालयको दयनीय अवस्था छर्लंग बाहिर आएको छ । के अब चुनिएर आउने स्ववियु नेतृत्वको ध्यान यसको सुधार तर्फ जान्छ होला ? के स्ववियुका नेताको भोट माग्ने एजेण्डामा त्रिविको सुधार पर्छ होला ? 

उनिहरुको ध्यान जाला नजाला तर त्रिवि भने नराम्रोसँग थलिएको यसका तथ्यहरुले देखाउँछ । छ दशकको इतिहास बोकेको अग्रणी शैक्षिक संस्था त्रिविमा यहि चैत्र ५ गते स्ववियु निर्वाचन हुने तयारी गर्दै गर्दा उक्त निर्वाचन कतिवटा क्याम्पसमा हुँदै छ र कति विद्यार्थी मतदाता छन् भन्ने तथ्यांकसमेत त्रिविले अद्यावधिक गर्न सकेको छैन ।  देशभर फरक–फरक विषय र प्रकृतिका १ हजार १ सय ४० वटा क्याम्पसमा करिब ४ लाख विद्यार्थी अध्ययन गर्छन् । मनाङबाहेक ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस सञ्चालनमा छन् ।

जमिन, भौतिक तथा शैक्षिक संरचना, विद्यार्थी संख्या र शिक्षक तथा प्रशासनिक जनशक्तिको विशाल संरचना भएको यो संस्थाभित्र  मौलाएको विकृति, विसंगतिले विश्वविद्यालय नै  अविश्वासको  केन्द्र बनेको छ। 

कृषि तथा पशु विज्ञान, इन्जिनियरिङ, वन विज्ञान, चिकित्सा र विज्ञान तथा प्रविधि गरि पाँच अध्ययन संस्थान र  शिक्षा, मानविकी तथा सामाजिक विज्ञान, कानुन र व्यवस्थापन गरि चार वटा , संकाय  छन् । त्यसैगरि  चार अनुसन्धान केन्द्र, ४० केन्द्रीय विभाग, १२ वटा स्नातकोत्तर कार्यक्रम, ४ स्कुलसहितका क्याम्पसमा विद्यावारिधि  र पोस्टडक्टोरेट तहसम्मको अध्ययन र अनुसन्धान हुन्छ ।

१ लाख ३२ हजार विद्यार्थीले सामुदायिकमा पढ्दा १ लाख २३ हजार आंगिक र १ लाख मात्रै निजीमा भर्ना भएको पाइन्छ । उच्च शिक्षा अध्ययन गर्नेमध्ये ७६ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार प्रतिविद्यार्थी लागत करिब ७५ हजार छ । क्याम्पसको संख्याअनुसार प्रतिक्याम्पस ३ सय ११ जना विद्यार्थी पढ्छन् । राज्य, विद्यार्थी, अभिभावकको उच्च शिक्षामा ठूलो लगानी देखिन्छ तर त्रिविको स्नातक तहको समग्र विषयको उत्तीर्ण दर निकै न्यून छ । २९ प्रतिशत विद्यार्थीले मात्रै स्नातक तह पूरा गर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ७७ जिल्लाकै विद्यार्थी शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय बल्खु आउनुपर्छ । ‘सामान्य जन्ममिति, नामथर, सिम्बोल नम्बर सच्याउन पनि काठमाडौं जानुपर्ने भएकाले विद्यार्थीलाई निकै खर्चिलो पर्छ।  प्राध्यापकले परीक्षण उत्तरपुस्तिका लिन भने बल्खु नै आउनुपर्छ ।

३ हजार ४२ रोपनी जग्गाको कुनै लेखाजोखा त्रिविसँग छैन । केन्द्रीय कार्यालयकै जग्गा बसपार्क, प्रहरी कार्यालय, निजी स्कुल, खानेपानी संस्थान, धार्मिक संघसंस्थाले अतिक्रमण गरेका छन् ।देशभरका विश्वविद्यालयमा साढे १० हजार प्राध्यापक कार्यरत रहेकामा त्रिविमा मात्र साढे ७ हजार छन् । त्रिविका आंगिक क्याम्पसमा मात्रै ६ सय ८८ प्राध्यापक, २ हजार सहप्राध्यापक, ३८ सय उपप्राध्यापक, एक हजार सहायक प्राध्यापक छन् । यीबाहेक आंशिक र करारमा नियुक्त र सामुदायिक र निजी क्याम्पसमा संलग्न अध्यापकको विश्वविद्यालयसँगै कुनै विवरण छैन । ती अध्यापकको उपयोगितासमेत त्रिविले पुष्टि गर्न सकेको छैन । बरु पछिल्लो समय प्राध्यापकहरूलाई कार्यरत क्याम्पसमा उपस्थिति अनिवार्य गर्न बिहान र बेलुका विद्युतीय हाजिरी अनिवार्य गरिएको छ ।