• सोमबार, २९ बैशाख, २०८२
  • ०१:०१:३३

नेपालीलाई विदेशमा पैसा राख्न अनुमति दिने श्री ३ महाराज

काठमाडौँ। जङ्गबहादुर राणाका कान्छा भाइ धीरसमशेरका ल्याइते र ब्याइतेपट्टिका गरि १७ भाइ छोराहरु थिए । यीमध्ये ब्याइतेपट्टिका जेठा वीरसमशेर थिए। यिनको जन्म वि सं १९०९ मङ्सिर २६ (ई १८४२ डिसेम्बर १०) मा भएको थियो । धीरसमशेरले यिनलाई अध्ययनका लागि कलकत्तासम्म पठाएका थिए । उनमा परिस्थितिअनुसार यथास्थानमै निर्णय गरिहाल्न सक्ने खुबी थियो  । 

यिनले सुरेन्द्रकी भतिजी वा माहिला साहेब उपेन्द्रविक्रमकी छोरीसँग विवाह गरेका थिए । जङ्गबहादुरले वीरसमशेरलाई सानैदेखि आफ्नो घरमा राखेर पालेका थिए । यिनले वीरसमशेरलाई सानोमा माया गरेर 'कैले' भनि सम्बोधन गर्थे । जङ्गबहादुरको मृत्यु हुँदा २५ वर्षे वीरसमशेरले पिता धीरसमशेरको छत्रछायाँमा विभिन्न प्रशासनिक अनुभव हासिल गर्ने राम्रो अवसर प्राप्त गरेका थिए । उनलाई नेपालको प्रतिनिधिको रुपमा कलकत्ता पठाईएको थियो ।

यिनले आफ्ना पिताको सचिवको रुपमा समेत कार्य गरेको हुनाले प्रधानमन्त्रीको रूपमा काम गर्न कुनै गाह्रो भएन । आफु पनि षड्यन्त्रबाट सत्तामा आएको हुनाले सधैं सतर्क रहने यिनलाई सुरुका वर्षहरुमा अंग्रेजहरुको सम्बन्धमा निकै अफ्ठ्यारा परिस्थितिहरुको सामना गर्नुपर्यो ।

विशेषगरि यिनको प्रधानमन्त्रीको पदलाई मान्यता दिने कुरामा अंग्रेज रेजिडेन्ट र यिनको बिचमा ठुलो विवाद उत्पन्न भएको थियो । तर भारतीय अंग्रेज सरकारको तत्कालिन स्थितिलाई मनन गर्दै अंग्रेज कमाण्डर इन चिफ रोबर्ट्सले वीरसमशेरको प्रधानमन्त्रीत्वलाई मान्यता दिने वकालत गरे।

तत्काल भईरहेको तेस्रो अंग्रेज- बर्मा युद्ध (१८८५-८६ई ) का कारण अंग्रेज सरकारलाई गोर्खाली फौजको आवश्यकता थियो। यतापट्टि वीरसमशेरले पनि अंग्रेज सरकारलाई आफ्नो मित्रताप्रति विश्वस्त तुल्याए। यिनले नेपाली युवाहरुलाई अंग्रेज फौजमा भर्ती हुन पुरा छुट दिए। अंग्रेज सरकारले पनि नेपाली निर्वाधरुपममा बिनाभन्सार शुल्क हातहतियार आयात गर्ने अनुमति दियो । नेपाल र अंग्रेज सरकारबीच सुमधुर सम्बन्ध कायम भयो ।

वीरसमशेर राणा वि सं १९४२ मंसिरदेखि १९५७ साल फागुनसम्म नेपालको प्रधानमन्त्रीमा आसिन रहे। उनले प्रधानमन्त्री हुनासाथ पुरानो उत्तराधिकारीको स्थापना गरे । जसअनुसार खड्गसमशेर प्रधानसेनापति तथा रणसमशेर, देवसमशेर, चन्द्रसमशेर र भीमसमशेर र विभिन्न सेनाका कमान्डर जनरल घोषित गरिए ।  अन्य भाइहरुलाई पनि महत्वपूर्ण विभागहरुमा नियुक्त गरियो ।

वीरसमशेरले भारत सरकारतर्फबाट केसीएसआई र जीसीएसआईके उपाधि पनि प्राप्त गरेका थिए । यिनिविरुद्ध भारतमा निर्वासित जीवन बिताईरहेका जङ्गबहादुरका माहिला छोरा जितजङ्ग र देशभित्रै पनि सौतेनी भाइ खड्गसमशेरले विभिन्न षड्यन्त्र प्रारम्भ गरेका थिए ।

भक्तपुर र काठमाडौँ कल्धाराको निर्माण, भव्य नारायणहिटी राजदरबारको निर्माण, दरबार हाइस्कुलको स्थापना, वीर पुस्तकालयको स्थापना, वीर अस्पतालको निर्माण, कुलेखानीमा झोलुङ्गे पुल, घण्टाघरको निर्माण, फौजमा अंग्रेज ब्याण्ड, काठमाडौँमा आधुनिक शैलीको सडक तथा ढल निर्माण, इञ्जिनियरिङ तालिमका लागि नेपाली विद्यार्थीलाई जापान पठाउने आदि कार्यहरु वीरसमशेरको कार्यकालका केहि सुधारहरु हुन् । 

तर आफ्ना छोराछोरीहरुलाई बिर्ता दिने, ढुकुटीको रुपैंया बकस दिने जस्ता प्रथा चलाई यिनले नराम्रो सुरुवात गरे। त्यतिमात्रै होइन जङ्गबहादुरको पालामा विदेशी बैंकमा देशको आम्दानीको कुनै अंश पनि नराख्नु भनि बनेको कानुनलाई मिचेर यिनले विदेशी बैंकहरुमा पैसा राख्ने प्रथाको सुरुवात गरि चरम आर्थिक शोषणलाई बढावा दिए । विदेश नीतिमा पनि जंगबहादुरको जस्तो स्वतन्त्र अडान कायम गर्न नसक्नु यिनको अर्को महाकमजोरी थियो। यिनको निधन वि सं १९५७ फागुन २३ गते भयो । (यम चौलागाईंद्वारा लिखित नेपालका हालसम्मका प्रधानमन्त्रीहरुको जीवनी नामक पुस्तकमा आधारित)